भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चौतारा, वैशाख ३१ - तातोपानी क्षेत्रका
विभिन्न गाउँमा पाँच सय बढी सर्वसाधारण
पहिराको जोखिमा परेका छन् । स्थानीय
मानसरोवर बोर्डिङ स्कुल, गुदुनागडी र
कोदारीमा बसिरहेका सर्वसाधारणले बुधबार
दिनभर आफूहरूलाई बचाइदिन हारगुहार गरिरहेका
थिए । उनीहरूले आफूहरूलाई बचाउन
पटक–पटक आग्रह गरे पनि सबैको उद्धार हुन सकेन ।
साँघुरो ठाउँको पहरामुनि छौं, कामी शेर्पाले भने,
ढुंगा खसिरहेका छन् । जीवन रक्षाको माग गर्दा
समयमै सुनुवाइ नभएको उनले गुनासो गरे । उनका
अनुसार तातोपानी बजारका महिला तथा
केटाकेटी रुवाबासी गरिरहेका छन् ।
अरनिको राजमार्ग खुलेपछि उनीहरू आआफ्नो घर
गएका थिए । मध्याह्न घरको अवस्था हेर्न गएका
बेला भूकम्प आएपछि उनीहरू खतरामा परेका हुन् ।
मानसरोवर बोर्डिङ स्कुल, कोदारी तथा
दुगुनामा तीन सय बढी अलपत्र परेको स्थानीयको
भनाइ छ । दुगुनागडीको वारिपारिबाट पहिरो
चलेको छ । स्थानीय अर्जुन पौडेललाई उद्धृत गर्दै
नेपाल हिमालय सीमापार वाणिज्य संघका
अध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार उनीहरू निकै
आत्तिइरहेका छन् । सबैतिरबाट पहिरो झरेकाले
सानो ठाउँमा बसिरहेको उनीहरूले जानकारी
दिए ।
मंगलबारको भूकम्पले थप पहिरो चलेपछि
तातोपानीवासी त्रसित बनेका छन् । स्थानीय
कुमार श्रेष्ठका अनुुसार खाली र पहिरो नचल्ने
ठाउँ छैन । भन्छन्, सबैतिर पहाड फुटेको छ, पानी
पर्नासाथ सबै बग्ने अवस्था छ । राजमार्गको नयॉ
पुलदेखि लिपिङ बजारसम्मको अवस्था उस्तै छ,
अध्यक्ष खत्रीले भने, ठूलो भीडले बचाउ—बचाउ भन्दै
हारगुहार गरिरहेका छन् । पहिरोले बाह्रबिसे
तातोपानी खण्ड सडक अवरुद्ध छ । लिस्ती, गुन्सा,
भोताङ, बरुवा, फुलपिङकट्टी, गाती, धुस्कुन,
कर्थली, हेलम्बुलगायत हिमाली गाउँमा थप
पहिरो चलेकाले स्थानीय त्रसित छन् । विभिन्न
गाउँमा राहत वितरण गर्न गएका टोली समेत
अलपत्र परेका छन् । नेपाली सेनाको चौतारा
कमान्डले बुधबार तातोपानी दुगुनागडीका
सर्वसाधारणको उद्धार गरिने जानकारी दिएको
छ ।
२२ प्रहरीको उद्धार हुन सकेन
पहिरोको खतारामा परेका सीमा प्रहरी
चौकीका २२ जना प्रहरी पहिरोको चपेटामा
परेका छन् । स्थानीय लार्चा स्थित सुख्खा
बन्दरगाहमा बसिरहेको प्रहरी टोलीलाई बुधबार
दिनभर उद्धारको प्रयास गरे पनि हेलिकप्टरको
अभावमा सम्भव नभएको जानकारी प्रमुख जिल्ला
अधिकारी कृष्णप्रसाद ज्ञवालीले दिए । उनीहरू
बसेको स्थानको माथिल्लो भागबाट लगातार
पहिरो चलिरहेको छ । पहाड चिराचिरा परेकाले
जुनसुकै बेला अझ ठूलो पहिरो चल्न सक्ने
स्थानीयको भनाइ छ । पहिलो दिनको भूकम्पले
सीमा चौकी भत्किएपछि उनीहरू त्यहाँ बस्दै
आएका छन् । साँझसम्म सञ्चार सम्पर्क भइरहेको छ,
प्रहरी नायब उपरीक्षक दीपक खरेलले भने । पहिलो
भूकम्पपछि त्रासमा बसिरहेको उक्त प्रहरी टोली
थप संकटमा परेको छ । जिल्लाको प्रहरी कमान्ड
सम्हल्दै आएका वरिष्ठ उपरीक्षक सुदीपराज
आचार्यका अनुसार बिहीबार पहिलो चरणमै
उनीहरूलाई सुरक्षित स्थानमा लैजान हेलिकप्टर
पठाइनेछ । सम्पर्क भइरहेको छ, आचार्यले भने,
उनीहरूको अवस्था ठीक छ । पहिलो भूकम्पबाट
गएको पहिरोमा परेर एक जना हवल्दारको मृत्यु
भएको थियो । प्रहरी निरीक्षक घाइते भएका
थिए । तल्लोभागबाट भोटेकोसी बगिरहेको र
माथिल्लो भागमा ठूला पहाड भएकाले उनीहरू
निकै जोखिममा परेका छन् ।
तातोपानीका ३२ को उद्धार
नेपाली सेनाले दिएको जानकारीअनुसार
तातोपानीका विभिन्न स्थानबाट बुधबार ३२
जनालाई हेलिकप्टरबाट सुरक्षित स्थानमा
लगिएको छ । सेनाले जनाएअनुसार कोदारीबाट
आठ, तातोपानीबाट १८ र चौकी डाँडाबाट नौ
जनालाई हेलिकप्टरबाट बाह्रबिसे लगिएको छ ।
यसैगरी जिल्लाको मध्य तथा पूर्वी क्षेत्रका १३
जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको
छ । दुई दिनमा ४० भन्दा बढीको हेलिकप्टरबाट
उद्धार गरिएको जानकारी जिल्ला उद्धार
समितिले दिएको छ ।
पश्चिमी भेगको बिरुवाको लार्के, रिपार
लगायतका गाउँमा अलपत्र परेका १२ जनाको
बुधबार उद्धार गरिएको जानकारी मेलम्चीस्थित
भीमकाली गणले जानकारी दिएको छ । गणका
अनुसार चार पश्चिमी भेगका चार जना घाइतेको
उद्धार गरिएको छ । बिरुवाका गाउ‘ँमा पहिरो
चलिरहेकाले स्थानीय त्रासमा बाँचिरहेका छन् ।
उनीहरू सबै सुरक्षित स्थानमा जान चाहन्छन्,
प्रहरीले भन्यो ।
पछिल्लो भूकम्पबाट सिन्धुपाल्चोकमा १६ जनाको
मृत्यु भएको छ । सवा सयभन्दा बढी घाइते भएको
अनुमान प्रहरीको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध
तथा बालबालिका छन् । प्रहरीका अनुसार
भागदौड र घरमा पुरिएर चौतारा
नगरपालिकाका चार जान र माङ्खामा तीन
जनाको मृत्यु भएको छ । बाह्रबिसे, थुम्पाखर,
बाह्रबिसे, पिस्कर, ठूलोधादिङ, हगाम, जेठल तथा
टेकानपुरमा नौ जनाको मृत्यु भएको छ । यसैबीच
पहिलो दिनको भूकम्पबाट घर भत्केर पुरिएका
चितवनका एक बालकको शव बुधबार निकालिएको
छ ।
बाँडेगाउँ—१ सल्ले टोलका सबै ४७ घर ध्वस्त हुँदा
उनको मृत्यु भएको हो । मामाघर आएका छ वर्षीय
बालकको शव १९ दिनपछि निकालिएको हो ।
उक्त टोलका ११ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, थाङपालधामको भिरमा अड्किएको एक
शवलाई झिकेर प्रहरीले आफन्तलाई बुझाएको छ ।
जिल्लामा भूकम्पबाट मृतकको संख्या हालसम्म
तीन हजार दुई सय ३० जना पुगेको छ । ०६८ को
जनगणना अनुसार ६६ हजार परिवार रहेको
जिल्लाका प्राय: सबै घर ध्वस्त भएका छन् ।
पछिल्लो भूकम्पले सदरमुकाम चौतारा, बाह्रबिसे,
खाडिचौर, मेलम्चीलगायत अरनिको राजमार्ग
क्षेत्रका बजारहरू बढी क्षति भएका छन् ।

0 comments:
Post a Comment