भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ६ कात्तिक । नेपालको संविधान २०७२ अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन प्रक्रिया भोलि शनिबारबाट सुरु हुने भएको छ ।
शनिबार दिउँसो तीन बजे बस्ने संसद बैठकमा राष्ट्रपति निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशित हुनेछ ।
संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न समय दिइने स्रोतको भनाइ छ ।
तोकिएको समयमा राष्ट्रपतिको साझा उम्मेदवार दिन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ ।
सांसदहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने भएकाले उम्मेदवारलाई छोटो समय भए पनि प्रचारप्रसारका लागि उपलब्ध गराइनेछ ।
राष्ट्रपति निर्वाचनको अन्तिम समय आए पनि हालका राष्ट्रपतिले कहिले राजीनामा दिने भन्ने अन्यौल छ ।
डा.यादवले निर्वाचन कार्यक्रम सुरु हुनु अगावै राजीनामा दिनुपर्ने कानुनका जानकारहरूको भनाइ छ । यद्यपि, डा.यादवले उम्मेदवारी दर्ता गर्नुभन्दा केही समय अगाडि राजीनामा दिनु हुने हो की भनेर अड्कलबाजी हुन थालेको छ ।
यसैबीच, राष्ट्रपतिका लागि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाबी गरेको छ । कांग्रेसले आफूले उम्मेदवारी दिने निर्णय यसअघि गरिसकेको छ ।
उसले आफ्ना नेता केबी गुरुङ, मानबहादुर विश्वकर्मा, रामनारायण चौधरी तथा हालका राष्ट्रपति डा.रामवरण यादवमध्येबाट एकलाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतको भनाइ छ ।
उता, प्रमुख सत्तारुढ दल एमालेमा पूर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङमध्येबाट उम्मेदवारी पर्ने स्रोतको भनाइ छ ।
यद्यपि, एमालेमा सरकारलाई सहज रुपमा अगाडि बढाउनका लागि कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने धारणा बलियो बनेर गएको जनाइएको छ ।
यसैबीच, राष्ट्रपतिको उम्मेदवारका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा छ । तर ठाकुरलाई सहयोग गर्नेमा सत्तारुढ दलहरू सकारात्मक छैनन् । ठाकुरलाई कांग्रेसले समर्थन दिन सक्नेछ ।
उपराष्ट्रपति एमाओवादीले दाबी गरेको छ । स्रोतका अनुसार आफूले उपराष्ट्रपति पाएमा एमाओवादीले अमिक शेरचन वा नन्दकिशोर पुनमध्येबाट एक जनालाई अगाडि बढाउनेछ ।
संसदको अन्तरिम कार्यविधिको दफा २९ मा संविधानको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने व्यवस्था छ ।
सहमति हुन नसके धारा २९७ को उपधारा ३ बमोजिम बहुमतका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि दफा ३० बमोजिम निर्वाचन समितिले मनोनयन दर्ता प्रक्रिया सुरु गर्नेछ ।
दफा ३० अनुसार मनोनयन दर्ता भएपछि निर्वाचन समितिले दफा ३१ बमोजिम उम्मेदवारको जाँच तथा नामावली प्रकाशन गरी दफा ३२ बमोजिम दावी विरोधको व्यवस्था गरेको छ ।
दफा ३३ अनुसार कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दुई वा दुईभन्दा बढी उम्मेदवारी परेर पनि एक जनाबाहेक बाँकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए निर्वाचन समितिले उक्त एक जनाको नाम सभामुखलाई पेस गर्ने र सभामुखले उक्त व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा सदनसमक्ष गर्नुपर्ने छ ।
दुई वा दुई भन्दा बढीको उम्मेदवारी रहे कार्यविधिको दफा ३४ अनुसार वर्णानुक्रमअनुसार मतपत्र तयार पारी मतदान प्रक्रियाद्वारा परिणाम निकाल्नुपर्ने छ ।
दफा ३७ को उपधारा ४ बमोजिम कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसके उपदफा ५ बमोजिम सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान प्रक्रियाद्वारा टुंगो लगाउनुपर्ने छ ।
0 comments:
Post a Comment