Home » , » बालबालिकामा रक्तक्यान्सर

बालबालिकामा रक्तक्यान्सर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं–कान्ति बाल अस्पताल। बेड नम्बर ४४२।
आठ वर्षीय रमित थापामगर निस्तेज पल्टिएका छन्। उनको अनुहारमा बालसुलभ चञ्चलता छैन। आक्कलझुक्कल मात्र आफ्नो बेडबाट ओर्लन्छन्। यसो वरपर हिँड्छन्। चारैतिरका बेडमा आँखा चिम्म गरेर निस्लोट लडिरहेका आफूजस्तै साना बिरामीहरूमा आँखा डुलाउँछन्। फेरि आफ्नै बेडमा फर्कन्छन्। अनि कम्बलले ज्यान पूरै छोपेर निदाएझैं गर्छन्।
उमेरले सानै भए पनि जिन्दगीको सत्यसँग परिचित भइसकेका छन् उनी। यो संसारमा सुख मात्र होइन, दुःख पनि छ भन्ने सत्य। मान्छे जन्मेपछि एक न एक दिन मर्नैपर्छ भन्ने सत्य। अनि जतिसुकै गोडा बजारे पनि अवश्यम्भावी मृत्युलाई कसैगरी टार्न सकिँदैन भन्ने सत्य।
आठ वर्षकै उमेरमा जिन्दगीको गुह्य यथार्थ बुझिसकेका रामेछाप, देवीपोखरी–४, राम्चेका रमितलाई सायद त्यही भएर राम्ररी निन्द्रा पर्दैन। यसो आँखा झप्काउनासाथ सपनामा पनि के के व्यथा बिथोल्न आउँछन् कुन्नि, मध्यरात असिनपसिन हुँदै ब्युँझन्छन्। आँखा नखुले पनि हात यताउति चलाउँछन्, सहाराको खोजीमा।
सँगै सहारा दिन रातभरि जागै रहने आमा शान्ति थापामगर छिन्, जो हरदम भगवानसँग प्रार्थना गरिरहन्छिन्, ताकि उसले कोरिदिएको सत्य कसैगरी फेरियोस्!
उसले लेखिदिएको लेखा कसैगरी बदलिए त हुन्थ्यो!
त्यो सम्भव छ, तर त्यसलाई साकार पार्ने ल्याकत शान्तिसँग छैन।
यही पिरलोले हुनसक्छ, आमा पनि हिजोआज निदाउन सकिरहेकी छैनन्। उनी आफ्नै अगाडि आफ्नो मुटुको टुक्रा चुँडिँदै गएको देखिरहेकी छन्। उनी त्यसलाई जोड्न चाहन्छिन् तर जोड्नलाई जति खर्च लाग्छ, त्यो जुटाउने हैसियत राख्दिनन्।
रमितलाई जे रोग लागेको छ, त्यसबाट बचाउन अस्पताल, औषधि र डाक्टर मात्र भएर पुग्दैन, प्रशस्त पैसा पनि चाहिन्छ, जुन शान्तिसँग छैन।
रमितलाई क्यान्सर भएको छ।
ब्लड क्यान्सर।
...
चार वर्ष भयो उनको रगतमा क्यान्सर देखिएको।
सुरुमा सामान्य रुघाखोकी लागेको थियो। जँचाउँदा डाक्टरले ‘फियो सुन्निएको छ' भने। अस्पतालमै राखेर उपचार गर्न लगाए। शान्तिले भने रुघाखोकी लाग्दा पनि के अस्पताल भर्ना गरूँ भन्ठानिन्। छोरालाई घरै लगिन्।
केही दिनमै रुघाखोकी झन्झन् बल्भि्कयो। रमितको शरीरमा निला दाग देखिन थाले। काठमाडौंको वनस्थलीमा डेरा बस्ने उनलाई घरबेटीले अल्का अस्पताल गएर जँचाउन सल्लाह दिए।
रमितको रगत परीक्षण भयो अल्कामा।
रक्तरोग विशेषज्ञ डा. विशेष पौड्यालले त्यसबेला चार वर्षीय रमितको रिपोर्ट हेर्दै भने, ‘अलि ठूलै रोग लागेको रहेछ।'
शान्तिले कस्तो रोग भनेर सोध्न सकिनन्।
डा. पौड्यालले नै खसखस मेटिदिए, ‘ब्लड क्यान्सर।'
अनि भने, ‘राम्ररी उपचार नपाए ज्यानै जान सक्छ।'
उनलाई ठ्याक्कै मिति याद छैन। २०६७ भदौ महिना हो भन्ने मात्र थाहा छ। त्यही क्षण हो शान्तिलाई लागेको, उनको मुटुको टुक्रा चुँडिन थालेको छ।
गहभरि आँसु छचल्कियो।
डा. पौड्यालले ब्लड क्यान्सरको रिपोर्टसहित रमितलाई फेरि कान्ति बाल अस्पतालै रेफर गरिदिए।
त्यसयता उनी निरन्तर आफ्नो एकमात्र छोरासँग जीवन र मृत्युको संघर्षमा छन्।
हाम्रो ज्यानलाई रगत नभई हुँदैन, रमितको ज्यान भने त्यही रगतले खाँदैछ।
...

रमितका बाबु गगन थापामगर घर बनाउने ठेक्का लिन्छन्। कमाइ ‘ठिकै' हुन्छ। तर, यत्ति पनि ठिकै होइन कि ब्लड क्यान्सरको उपचार निर्धक्क गराउन सकून्।
कान्ति अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहसँग बुझ्दा उनले थाहा पाए, क्यान्सर निदानका निम्ति किमोथेरापी गर्न कम्तीमा १० लाख रुपैयाँ लाग्छ।
रकम सुन्दै उनले हरेस खाइसकेका थिए। तर, हिम्मत हारेनन्।
पहिलेभन्दा दोब्बर काम गरे। जेनतेन १० लाख जुटाए। चार वर्ष लगातार उपचार गराए। डाक्टरले भनेका बेला किमोथेरापी पनि गराए। रोग निको हुँदै गएको थियो। तर, ६ महिनाको औषधि बाँकी हुँदा अचानक रोग फर्कियो।
‘डाक्टरले तीन वर्षको किमोथेरापीपछि निको हुन्छ भन्नुभएको थियो। निको भइरहेको पनि थियो,' रगतको कमीले पहेंलिएका छोराको हात बेस्कन अँठ्याउँदै शान्तिले भनिन्।
यति भनेपछि उनको स्वर घाँटीमै अड्कियो। बक फुटेन। बिरामी छोरालाई टोलाएर हेरिरहिन्। झिमझिम गर्दै आँखा नचाइरहेका रमितसँग फ्याट्ट आँखा जुध्यो। आफूलाई आमाले हेरिरहेको देखेर रमित मुसुक्क हाँसे। शान्ति त्यहाँ अडिनै सकिनन्।
बेडछेउ टुसुक्क बसेकी उनी जुरुक्क उठेर सरासर ढोकासम्म पुगिन्।
पछ्यौराले आँसु पुछिन्।
चौकोसमा अडेस लाउँदै भनिन्, ‘घरमै बसेर दुई वर्ष अर्को औषधि खाएपछि पूरै निको हुन्छ भन्ने विश्वास थियो। ६ महिनाको औषधि बाँकी हुँदा रोग त झन् फर्कियो। नाकबाट रगत बगेको बग्यै हुन्छ। डाक्टरहरूले अब बोनम्यारो प्रत्यारोपण नगरी हुन्न भन्नुभ'को छ। कम्तीमा ३२ लाख रुपैयाँ लाग्छ रे! हामीले कहाँबाट त्यत्रो पैसा जुटाउनू। जिन्दगीभर कमारो बसे पनि कमाउन सक्दैनौं।'
छोराको चिन्ताले आमाको अनुहार कालो घना बादलले आकाश ढाकेझैं अँध्यारो भएर आयो। आँखाका डिलडिल आँसु टिलपिलायो। एकछिन त्यहीँ टिल्पिलाइरह्यो।
अनि बह्यो।
‘छोराको ज्यान बचाउने पैसा छैन, हामी चाहेर पनि केही गर्न सक्दैनौं। हे भगवान्, कि आमै नबनाऊ, बनाए पनि मेरोजस्तो अवस्थामा ल्याइनपुर्यायऊ!'
...

सिभिल अस्पताल, मीनभवनको हेमेटोलोजी वार्ड। बेड नम्बर ८३।
संखुवासभा घर भएका १७ वर्षीय मुकेश याक्खा सिकिस्त लडेका छन्। न स्पष्ट बोल्न सक्छन्, न सिधा बस्न।
उनका दुवै हातका नाडी एकै मुट्ठीमा अटाउँछ।
बिहीबार दिउँसो अस्पतालको चिसो वार्डभित्र छिरेको पारिलो घाममा बेडमै सुतीसुती बदाम खाँदै थिए उनी। उनलाई अचेल यो घाम निकै प्यारो लाग्छ। जाडो बढेकाले मात्र होइन। यो घाम अब धेरै दिन ताप्न पाइने हो कि होइन, जिन्दगीको यो अन्योल उनले भित्रभित्रै स्विकारिसकेका छन्।
मुकेशलाई १५ वर्ष उमेरमा माइलोड डिस्प्लास्टिक सिन्ड्रोम (एमडिएस) भएको थियो। यो रगतको क्यान्सर भइनसकेको, तर हुनसक्ने अवस्था हो।
यसको सुरुआत उही सामान्य रुघाखोकीबाटै भएको थियो। बिस्तारै रगत घटेर ज्यान पहेंलिन थाल्यो। रगत दिए निको भएजस्तो हुने, केही दिनपछि जस्ताको त्यस्तै।
परिवारले जँचाउन काठमाडौं ल्याए। डाक्टरले रगतमा खराबी छ भने। उपचार सुरु भयो। मुकेशका मामा उदयकुमार लिम्बूका अनुसार उनका बुबा राजकुमार साउदीमा मजदुरी गर्छन्। उनले उतै यो खबर पाए। राम्ररी उपचार गर्न प्रशस्त पैसा लाग्ने पनि जानकारी भयो। कमाएजति सबै छोराकै उपचारनिम्ति पठाउन थाले। यता ऋणधन पनि गरियो।
मुकेश भने झन्झन् थला पर्दै गए।
उपचारमा संलग्न रक्तरोग विशेषज्ञ डा. पौड्यालका अनुसार अहिले उनको एमडिएस बल्भि्कएर एक्युट माइलोड ल्युकिमिया (एएमएल) भइसकेको छ। यो बच्चाहरूलाई हुने दुर्लभ किसिमको रक्तक्यान्सर हो।
‘हामीले सुरुमै बोनम्यारो प्रत्यारोपण गर्न सकेको भए ऊ पूरै निको हुने सम्भावना ८० प्रतिशत थियो,’ डा. पौड्यालले भने, ‘अब उसको एलोजेनिक बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ, जुन हामीलाई अनुमति छैन।’
अरू स्वस्थ व्यक्ति खोजेर उसको बोनम्यारो बिरामीलाई दिनु ‘एलोजेनिक प्रत्यारोपण' हो। अर्को किसिमको प्रत्यारोपण पनि छ, जसमा बिरामीबाटै स्वस्थ बोनम्यारो झिकेर उसैलाई दिइन्छ। यसलाई ‘अटोलोगस प्रत्यारोपण' भनिन्छ। नेपालमा पछिल्लोलाई मात्र सरकारले अनुमति दिएको छ। पाँचवटा सफल प्रत्यारोपण पनि भइसके। अघिल्लो (एलोजेनिक) लाई भने मानवअंग प्रत्यारोपण ऐनले रोक लगाएको डा. पौड्यालले बताए। अहिलेसम्मको स्थितिमा यस्तो प्रत्यारोपण गर्न कम्तीमा भारत लग्नुपर्छ। खर्च लाग्छ, लगभग ३२ लाख।
‘एलोजेनिक गर्न भारतमा लगभग २० लाख भारू पर्छ,' डा. पौड्यालले भने, ‘धेरै खर्च बिरामीको अवस्थाले पनि निर्क्योल गर्छ।’
मुकेशको मावली बाजे केशरकुमार लिम्बूका अनुसार उनको घरको आर्थिक अवस्था कमजोर छ। बोनम्यारो प्रत्यारोपण त टाढाको कुरा, नियमित औषधि र रगत किन्ने पैसाधरि छैन। बाबुको अरबको कमाइ र आफन्तसँग ऋण गरेर जेनतेन उपचार भइरहेको छ।
‘अब त यति पनि गर्न नसक्ने भइसके, भारतमा साईबाबाकहाँ हो कि कता हो, फ्रीमा हुन्छ रे भन्ने सुनेका छौं,’ उनले भने, ‘त्यतातिर बुझ्दै छौं, साँच्चै हो भने लाने कोसिस गर्छौं।’
उनले यसो भन्दा निस्तेज लडेका मुकेशछेउ बसिरहेकी आमा गंगाको चाउरी परेको गाला र गढेका आँखैले धेरै व्यथा बोलिरहेको थियो। छोराको अवस्था सोध्दा उनले भनिन्, ‘मलाई त के थाहा, रगत बन्दैन यसको शरीरमा भन्छन्। उपचार गर्न धेरै पैसा लाग्छ रे, हामीसँग छैन। के गर्नू!’
आमाको मन पलपल छिन्दै गएका छोराको ज्यान देखेर जति दुख्छ, त्योभन्दा बढ्ता पीडा त्यतिबेला हुन्छ, जब मुकेश भन्छन्, ‘तिमीहरूले मलाई उपचारै नगराई मार्न लाग्यौ!'
‘एउटै छोरो, के म उसको यो अवस्था देखेर खुसी छु होला! तैपनि ऊ ‘मलाई तिमीहरूले उपचारै नगरी मार्न लायौ' भनेर बारम्बार किन भन्छ!' दुःखको भारी बिसाउँदा आमाका आँखाबाट थाहै नपाई ‘गंगा' बगिरहेकी थिइन्।
‘म के जवाफ दिऊँ। हुनेलाई सबैले हेर्दा रैछन्। नहुनेका त दैव पनि वैरी।’
गंगाले हुनेखाने मन्त्री–प्रधानमन्त्रीको उपचार सरकारी खर्चमा विदेशका ठूल्ठुला अस्पतालमा भएको सुनेकी छन्। यस्तो खबरले उनको मुटु निमोठिएर आउँछ।
‘ठूलाबडाको उपचार गर्न सरकारसँग पैसा हुँदोरहेछ। सरकार भनेको त गरिब–दुःखीलाई हेर्ने होइन र! आफैंलाई मात्र हेर्दो रैछ, हामीलाई किन हेर्दैन!'
केही दिनअघि डा. विशेष वार्डभित्र आएका थिए। सधैं आउँछन्। तर, त्यसदिन उनले जे भने, त्यसले गंगालाई अझै पोलिरहेको छ।
डा. विशेषले भनेका थिए, ‘अब घर लगे हुन्छ।'
सुनेरै मुकेशको आँत काम्यो।
गंगा त झन् काम्न पनि सकिनन्। उनको मुटु नै बरफ बन्यो।
...
‘मर्डर कि बाध्यता?'

चिकित्सा विज्ञानले रगतको क्यान्सर हुन्छ भन्ने पत्ता लगाएको छ, तर किन हुन्छ भन्ने तथ्य खुलाउन सकेको छैन।
‘शरीरको कोषिकाभित्रको कुन ‘क्रोमोजोम' वा ‘डिएनए' मा कस्तो परिवर्तन आएपछि रगतको क्यान्सर हुन्छ भन्नेसम्म चिकित्सा विज्ञानलाई थाहा छ,' डा. विशेष पौड्यालले भने, ‘त्यो परिवर्तन के कारणले हुन्छ भन्नेचाहिँ अहिलेसम्म पत्ता लागेको छैन। त्यो पत्ता लगाउनु चिकित्सा विज्ञानका निम्ति पछिल्लो समयको सबभन्दा ठूलो उपलब्धि हुनेछ।'
रोग लाग्नलाई कारण चाहिँदैन, वातावरण भइदिए पुग्छ।
नेपालमा रगतको क्यान्सर भएर उपचार गर्न अस्पताल आउनेको संख्या बर्सेनि बढ्दै गएको डाक्टरहरू बताउँछन्।
सिभिल अस्पतालमा गत वर्ष रक्तरोगको उपचार गराउन पुगेका बालबालिकामध्ये ३६ प्रतिशतमा क्यान्सर फेला पर्योा। त्यस्तै ५५ प्रतिशतमा ‘एप्लास्टिक एनिमिया' देखिएको थियो भने बाँकी ६ प्रतिशतमा अन्य विभिन्न प्रकारका रक्तरोग।
‘जर्नल अफ नेपाल पेडियाटि्रक सोसाइटी' मा प्रकाशित बाल क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको अध्ययन प्रतिवेदनअनुसार सन् १९९८ देखि २०१२ मार्चसम्म कान्ति अस्पतालमा ७ सय ५५ जना क्यान्सर लागेका बालबालिका उपचार गर्न पुगेका थिए। यसमध्ये आधा रगतकै क्यान्सरका बिरामी रहेको उनको प्रतिवेदनमा छ।
डा. साहको प्रतिवेदनअनुसार क्यान्सर लागेका बालबालिका उपचारपछि पाँच वर्ष वा बढी बाँच्नेको संख्या २८.३ प्रतिशत छ। १७.७ प्रतिशतले उपचार गराइरहेका छन् भने २३.७ प्रतिशतको मृत्यु भएको पाइएको छ।
यसमा सबभन्दा डरलाग्दो तथ्यांक ३०.३ प्रतिशत बालबालिकाको छ, जसको उपचार विभिन्न कारणले बीचैमा रोकिन्छ।
बेलायतबाट बालक्यान्सरमा विशेषज्ञता हासिल गरेर आएका डा. साहले १४ वर्ष निरन्तर यही रोग उपचारमा काम गर्दा थाहा पाएको डरलाग्दो तथ्य नै यही हो। धेरै आमाबाबुले ठूलो धनराशि खर्च गरेर उपचार गर्ने जोखिम मोल्नुभन्दा बच्चा गुमाउनुलाई नै सहज मानिदिने गरेको अनुभव उनले सँगालेका छन्।
‘मेरो आमालाई क्यान्सर भयो भने हामी चार दाजुभाइ छौं। सबैले भन्छौं, ५०–५० हजार रुपैयाँ दिऊँ न! त्यसले केही हदसम्म उपचार पनि हुन्छ। राम्रो हुँदै गए पूरै उपचार पनि गर्छन्,’ उनले आफ्नै उदाहरण दिँदै भने, ‘बच्चाको केसमा सधैं यस्तो नहुने रहेछ।'
‘बच्चा विचराले आफैं केही गर्न सक्दैन, अभिभावककै मुख ताक्नुपर्छ। कतिपय अभिभावक भने धेरै खर्च गरेर उपचार गर्नुभन्दा अर्को बच्चा जन्माउनु सजिलो ठान्छन्। अनि उपचारै नगराई मृत्यु कुरेर बस्छन्।'
नुवाकोटबाट रेफर भएर आएको एउटा केस उनले सम्भि्कए।
डा. साहले ती बच्चालाई रगतको क्यान्सर भएको पत्ता लगाएका थिए। उपचारनिम्ति ‘ब्रिफ' गरिरहँदा उनका बाबुले सोधे, ‘के कारणले यस्तो भयो?’
‘यो किन हुन्छ भन्ने पत्ता लागेको छैन,’ डा. साहले भने।
उनी केही नबोली फर्के।
अर्को दिन आएर उनले भने, ‘रोग के कारणले लागेको हो, मैले पत्ता लगाइसकेँ।’
त्यसपछि उनले जे भने, त्यो सुनेरै डा. साह अवाक भए।
‘उसले भन्यो– मेरी श्रीमतीको दूधमै खराबी छ डाक्टरसाप, म यसलाई छोडिदिन्छु। सात दिनपछि ऊ अर्को बिहे गरेर आयो। र, बच्चा लिएर गयो।'
निरन्तर लामो समय औषधि सेवन गरिरहनुपर्ने, औषधिको उपलब्धता र त्यसको शुल्कले पनि धेरै अभिभावक उपचारसाटो आफ्नो बच्चाका लागि मृत्यु रोज्ने गरेको उनी बताउँछन्। ‘यसो गर्नेमा कमजोर आर्थिक अवस्थाका अभिभावक बढी छन्,' उनले भने, ‘उपचार गर्ने हैसियत नभएपछि मृत्यु स्विकार्नुको विकल्प पनि हुँदैन सायद उनीहरूसँग।'
मोरङबाट आएको अर्को केस सम्झन्छन् डा. साह।
२०५५–५६ सालतिर तीन वर्षीय बच्चालाई लिएर एक दम्पती आएको थियो। बच्चालाई ‘एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया' (एएलएल) भएको रहेछ। आमाबाबु दुवै शिक्षक थिए। रोग पत्ता नलागेसम्म केही भनेनन्। पत्ता लागेपछि बाबुले भने, ‘म उपचार गराउन सक्दिनँ। आई ह्याभ टु स्याक्रिफाइस हिम।’
डा. साहले सोधे, ‘किन?’
उनले भने, ‘मैले धेरै वर्षपछि नोकरी पाएको हुँ। नोकरी परीक्षणकालमै छ। मैले नोकरी गुमाएँ भने म खान सक्दिनँ, बरु बच्चा नै स्याक्रिफाइस गर्छु।’
‘यति भनेर उसले बच्चा लिएर गयो,' डा. साहले भने, ‘यसलाई मर्डर भन्ने कि बाध्यता?'
‘मर्डर' भनेर उनले दुईतिर संकेत गरेका छन्– अभिभावक र सरकार। एकातिर जन्माएपछि रोग लाग्नासाथ बोझ ठान्ने अभिभावक, अर्कातिर आर्थिक हैसियत कमजोर भएकाहरूका लागि सर्वसुलभ रूपमा क्यान्सर उपचारको व्यवस्था गर्न नसक्ने सरकार।
सरकारले विपन्न क्यान्सरपीडितलाई राहतस्वरुप एक लाख रुपैयाँ दिने गरेको छ। क्यान्सर उपचारमा हुने खर्चको तुलनामा यो पैसा कम मात्र होइन, अतिकम भएको डाक्टरहरू बताउँछन्।
र, विधिले गरेको सबभन्दा ठूलो उपहास त के भने सरकारले सर्वसुलभ उपचार सुविधा दिन नसक्ने, उपचार खर्च महँगो पर्ने यो रोग आर्थिक हैसियत कमजोर भएकाहरूमै बढी पाइएको छ। यससम्बन्धी कुनै वैज्ञानिक अध्ययन नभए पनि डा. विशेषले हालसम्म गरेको उपचारको अनुभवमा अतिनिम्न र निम्नमध्यम वर्गमै रगतको क्यान्सर बढी देखिएको छ।
‘नेपालको निम्ति यो एउटा छुट्टै अध्ययनको विषय हो,' उनले भने।
यति हुँदाहुँदै पनि अभिभावकमा बढ्दो सचेतता, यातायात सुविधा र रोग खुट्याउने प्रविधि विकासले उपचार गराउन आउनेको संख्या भने बढेको छ। बिरामी संख्यामा वृद्धि देखिनुको कारण यही हो। पाँच–छ वर्षअघिसम्म पनि रगतको क्यान्सरका बालबालिका फाट्टफुट्ट मात्र भेटिने गरेको डा. साह बताउँछन्।
‘सुरुआती पाँच/छ वर्ष त मैले बिरामी नै पाइनँ। म पहिलो बाल क्यान्सररोग विशेषज्ञ भए पनि क्यान्सर लागेका बालबालिका मकहाँ आइपुग्दैनथे। ती दिनमा आफूले के पढेर आएछुजस्तो लाग्थ्यो,' उनले भने, ‘केही वर्षयता धेरै बालबालिका उपचार गराउन अस्पताल आइरहेका छन्।'
अस्पतालसम्म आइनपुगेका वा रोगै नखुट्टिएका क्यान्सरपीडित बालबालिकाको संख्या अझ धेरै हुनसक्ने उनले बताए। अन्य क्यान्सर रोग छिट्टै पत्ता लागे पनि रगतको क्यान्सर पत्ता लगाउन कठिन हुने उनको भनाइ छ।
‘यस्ता बालबालिका गाउँगाउँमा होलान्। उनीहरूलाई अस्पतालसम्म कसले ल्याउने?’ उनले भने, ‘धेरै त रगत कम भयो भनेर स्वास्थ्य चौकीमा रगत चढाउँदा–चढाउँदै मर्छन्।’
सिभिल अस्पतालका डा. पौड्याल पनि नेपालमा रक्तरोगको संख्या बढेसँगै क्यान्सरका बिरामी धेरै भेटिन थालेको बताउँछन्। ‘बालबालिकामा रगतको क्यान्सर निकै बढेको देखिएको छ,' उनले भने।
देशका मुख्य पाँच अस्पतालमा उपचार गराएका क्यान्सरका बिरामीको तथ्यांक राख्ने भरतपुर क्यान्सर अस्पतालले दिएको जानकारीअनुसार सन् २००३ देखि २०१२ सम्मको १० वर्ष अवधिमा क्यान्सर पत्ता लागेका पुरुष बिरामीमध्ये चारदेखि १४ वर्षसम्मका बालक पाँच प्रतिशत छन्। त्यही अवधिमा क्यान्सर भएका कुल महिलामध्ये चारदेखि १४ वर्षसम्मका बालिकाको संख्या तीन प्रतिशत छ।
अस्पतालका विभागीय प्रमुख किशोरकुमार प्रधानाङ्गका अनुसार यो १० वर्ष अवधिमा चार वर्षसम्मका ४ सय २०, पाँचदेखि नौ वर्षसम्मका ५ सय २० र १० देखि १४ वर्षसम्मका ५ सय ७७ गरी कुल १ हजार ५ सय ७७ बालकलाई क्यान्सर भएको छ।
...
‘गरिबलाई क्यान्सर नदेऊ भगवान'

‘हे भगवान कि गरिब नबनाऊ, बनाए पनि क्यान्सर रोग नदेऊ,' सुर्खेत, मैन्तडा–९ का रामबहादुर विष्टले भने।
क्यान्सरले दिने पीडाका भुक्तभोगी हुन् नेपाली सेनाका हवल्दार विष्ट।
उनका १४ वर्षीय छोरा घनश्यामलाई क्यान्सर छ। सुरुआती अवस्थामा।
एकदिन खोलामा नुहाउन गएका छोरा घरै फर्कन नसक्ने गरी ढलेपछि उनले सुर्खेतकै जिल्ला अस्पताल लगे। त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज हुँदै काठमाडौंको छाउनी अस्पताल र त्यहाँबाट सिभिल अस्पताल ल्याइपुर्याषए। त्यसपछि बल्ल थाहा भयो, उनको छोरालाई रगतको गम्भीर रोग माइलोड डिस्प्लास्टिक सिन्ड्रोम (एमडिएस) भएको रहेछ। डाक्टरी भाषामा ‘एमडिएस' भनिने यो रोग रगतको क्यान्सर हुनुभन्दा एक चरणअघिको अवस्था हो।
यो अवस्थाका बिरामीलाई यथोचित उपचार गरे पूर्ण रूपमा निको गर्न सकिन्छ। बल्भि्कँदै गए मुकेश याक्खाकै स्थितिमा पुग्न धेरै समय लाग्दैन।
सैनिक अस्पतालमा उपचार सम्भव नभएपछि विष्टले सिभिल अस्पतालमा आफ्ना छोराको उपचार सुरु गराए। सेनाको नियमअनुसार सैनिक अस्पतालभन्दा बाहिर उपचार गराउन एक लाख रुपैयाँ दिने गरिन्छ। सिभिलमा लामो बसाइ र महँगो औषधिका कारण उनलाई त्यो एक लाख रुपैयाँ बालुवामा पानी हालेबराबर भइसकेको छ।
आफ्नो सञ्चित रकम, सञ्चयकोष, लगानीकोष सबैको पैसा खर्चे पनि छोराको उपचार असम्भव भएपछि उनले सेनासँग सहयोगको याचना गरेका छन्।
घनश्यामको उपचारमा संलग्न डा. पौड्यालका अनुसार उनलाई एलोजेनिक बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ, जुन नेपालमा अनुमति नै छैन। भारतमा गर्दा लगभग ३२ लाख रुपैयाँ लाग्छ।
‘नेपालमै एलोजेनिक बोनम्यारो प्रत्यारोपण गर्नुपर्योु भनेर रामबहादुरजी आफैं मन्त्रालय–मन्त्रालय धाइरहनुभएको छ,' डा. पौड्यालले भने, ‘हामी त लागिरहेकै छौं।'
रामबहादुरको गुनासो सरकारसँग छ। ‘जसले जति सहयोग गरे पनि राज्यले नै वास्ता नगरेपछि कसैको केही लाग्दैन,' उनले भने, ‘सैनिक अस्पताल, मेरा हाकिमहरू र साथीहरूले सक्दो सहयोग गरेका छन्। सरकारले प्रत्यारोपणको अनुमति दिए मेरो छोराको ज्यान जोगिन्छ। नत्र भारत लगेर उपचार गराउन सक्ने अवस्था मेरो छैन।'
‘गरिबलाई क्यान्सर भइदिए उपचारै नगराई ज्यान गुमाउनुको विकल्प रहेनछ।'
रगतको बिरामीलाई अर्को ठूलो समस्या रगत अभाव पनि हो। यसका ठूला भुक्तभोगी रामबहादुर नै हुन्।
‘एकपटक छोराको मुटुमा समस्या देखियो, डा. भगवान कोइरालाले इमर्जेन्सीमा अप्रेसन गर्नुपर्छ भन्नुभयो,' उनले कहालीलाग्दो क्षण सम्भि्कए, ‘त्यसै त रगत दिइरहनुपर्छ, त्यसमाथि मुटुको अप्रेसन, धेरै नै रगत चाहिने भयो। काठमाडौंको ब्लड बैंकमा रगत छैन। भैरवनाथ गणका साथीलाई भनेर केही जोहो गरेँ। अरू दुई पोका रगत लिन मध्यरातमा साइकल चढेर भक्तपुरको ब्लड बैंक पुगेँ।'
यो रामबहादुरको मात्र होइन, आम रगतरोगीको साझा समस्या हो।
सरकारले क्यान्सर रोगको उपचारमा दिने सहुलियत बढाउने र स्वदेशमै एलोजेनिक बोनम्यारो प्रत्यारोपणको सुविधा खुला गर्ने हो भने धेरै क्यान्सर बिरामीलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन्। पछिल्लो समय क्यान्सरका बिरामी संख्या बढ्दै जानु र खासगरी बालबालिकामा यो रोग डरलाग्दो ढंगमा देखिनुले सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने डा. पौड्यालले बताए।
डा. साहका अनुसार सानै उमेरमा हुने रगतको क्यान्सरको सही उपचार भए ८० प्रतिशतसम्म पूर्ण रूपमा निको पार्न सकिन्छ। नेपालमा भने महँगो खर्चकै कारण यो दर ३० देखि ४० प्रतिशत मात्र रहेको उनको भनाइ छ। यसमा उपचार सुरु भएपछिको हेरचाह राम्रो नहुनु अर्को मुख्य कारण हो। 
‘बिरामीले पोसिलो आहार पाउँदैन। त्यसले उसमा रोगसँग लड्ने क्षमता विकास हुँदैन,' डा. साहले भने, ‘हाइडोज किमो लिइरहेका बिरामी पनि आलु–चना र मुराई खाइरहेका हुन्छन्। राम्रो खुराक नदिएसम्म कसरी बिरामी निको हुन्छ?'
‘जो बिरामीलाई उपचार खर्च जुटाउनै धौधौ छ, उनीहरूले कहाँ पाएर खुराक किन्नु!,' डा. साहले भने।
अस्पतालजन्य संक्रमणका कारण पनि धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपरेको चिकित्सकहरू बताउँछन्। ‘बालबालिकामा सामान्य अवस्थामै पनि संक्रमणको खतरा रहन्छ। किमो लिइरहेका बेला त्यो सम्भावना शतप्रतिशत बढोत्तरी हुन्छ,' डा. पौड्यालले भने, ‘हामीकहाँ अस्पतालभित्र सरसफाइको निकै कमी छ।'
डा. साहले कान्ति अस्पतालको वार्डमा त बाहिर लगाएर हिँड्ने जुत्ता छिराउनै रोक लगाइदिएका छन्।
‘यसले केही हदसम्म राम्रै गरेको छ,' उनले भने।
...
बच्चामा ‘एएलएल' धेरै

‘जर्नल अफ नेपाल पेडियाटि्रक सोसाइटी' को प्रतिवेदनअनुसार रगतका क्यान्सर भएका बालबालिका अधिकांशमा ‘एक्युट लिम्फोटब्लास्टिक ल्युकिमिया' (एएलएल) देखिन्छ। कुल ३ सय ७५ जना रगतको क्यान्सर भएकामध्ये ३ सय जनामा एएलएल नै देखिएको प्रतिवेदनमा छ। यस्तो क्यान्सर लागेका बिरामीको शरीरमा काम नलाग्ने सेतो रक्तकोषिका (ह्वाइट ब्लडसेल) धेरै उत्पादन हुन्छ र तुरुन्त मरिहाल्छ। यसले सामान्य अवस्थाका अन्य रक्तकोषिकालाई पनि हानि पुर्यानउँछ।
‘बच्चाहरूमा सबभन्दा बढी देखिने रगतको क्यान्सर यही हो। एक्युट माइलोड ल्युकिमिया (एएमएल) पनि हुन्छ तर निकै कम मात्र देखिन्छ,' डा. पौड्यालले भने।
एएमएलमा भने कुनै पनि रक्तकोषिका कम वा बढी उत्पादन हुनसक्छ। दुवैको उपचार सम्भव भए पनि बच्चामा एएमएलभन्दा एएलएलको उपचार गर्न सजिलो हुने उनले बताए।
‘मैले अहिलेसम्म सय जनाजति एएमएल भएका बच्चाको उपचार गरेकोमा दुई जना मात्र जीवित होलान्,' डा. साहले भने, ‘यसको उपचार भनको बोनम्यारो प्रत्यारोपण मात्र हो, जुन हामीकहाँ सुरुआती चरणमै छ।'
डा. साहका अनुसार धेरै पैसा लाग्ने भएकाले उनी आफैं पनि धेरैलाई बोनम्यारो प्रत्यारोपण गर्न सुझाउँदैनन्। ‘भएका सबै सिरिखुरी बेचेर वा धितो राखेर उपचार गर भन्नु मलाई व्यक्तिगत रूपमा ठिक लाग्दैन,' उनले भने, ‘सरकारले नै केही बन्दोबस्त गर्नुपर्योा भन्ने मेरो राय हो।'
...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved