भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहनु भएकी संयुक्त राज्य अमेरिकाकी दक्षिण तथा मध्य एशियाली मामिला व्यूरो हेर्ने राज्यमन्त्री(एसिस्टेण्ट सेक्रेटरी) निशा देसाई विश्वासले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ ।
भेट नेपालमा हालै आएको भूकम्प,खोजी,उद्धार, राहत,पुनस्थापना र पुनर्निर्माण सहित नेपाल अमेरिका सम्बन्ध र सहयोगमा केन्द्रित भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले व्यहोर्नु परेको आकस्मिक, भयङ्कर ठूलो विपद्मा अमेरिकी राष्ट्रपतिले टेलिफोन मार्फत दिनुभएको सहानुभूति र समवेदना सहित सहयोगको बचनले आफूलाई ठूलो भरोसा मिलेको बताउनु भएको थियो ।
भेटमा प्रधानमन्त्री कोइरालाले दुःखको बेलामा अमेरिकाले दिएको भौतिक र आर्थिक सहयोगको प्रशंसा गर्दै नेपालमा उद्धार र राहत कार्यमा सहयोग पुर्याउने आएको अमेरिकी हेलिकोप्टर हराएकोमा चासो व्यक्त गर्नुभएको थियो ।
भेटमा अमेरिकी राज्यमन्त्री विश्वासले नेपालमा हालै आएको भूकम्पबाट पीडितहरुलाई संयुक्त राज्य अमेरिकाले थप सहयोग दिने बचन दिनु भएको छ । सो सहयोग रकम आजै घोषणा हुनेछ ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा मनसुन आरम्भ हुन केही हप्ता मात्र बाँकी भएकोले तीन हप्ता भित्र भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बास बनाएर जनजीवन सामान्य बनाउने कार्य निकै चुनौतिपूर्ण रहेको बताउनु भएको थियो ।
उहाँले नेपालमा लोकतन्त्रको स्वभाविक विकासलाई लामो समयसम्म अबरुद्ध पारिएकोले व्यवसायिक संस्थाहरु विकसित हुन नपाएको प्रसंग उठाउदै ठूलो विपदाको सामना गर्ने संस्थागत संरचना नै हालसम्म स्थापना हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“ विपत्तिको समयमा न त संस्था थियो,न सर सामान नै ।” प्रधानमन्त्री कोइरालाले सबैदलहरु एकजुट भएर विपत्तिको सामना गर्न सजिलो हुने देखेर सबै दलहरुलाई साथमा लिएको पनि बताउनु भयो ।
भेटमा अमेरिकी राज्य मन्त्री विश्वासले भूकम्पले पुर्याएको क्षतिको वास्तविक आँकडा प्राप्त भएर पुनर्निर्माणको योजना तर्जुमा भएपछि दाताहरुले गर्नुपर्ने योगदानको बारेमा निर्णय लिन सजिलो हुने बताउनुभयो । उहाँले भूकम्प प्रतिरोधक भवन निर्माणमा अमेरिकी सहयोग नियोगले भूकम्प प्रविधि राष्ट्रिय समाजसंग लामो समयदेखि काम गरेकोले पुनर्निर्माणमा भूकम्प प्रतिरोधी प्रविधि अपनाउन उपयुक्त हुने कुरा राख्नुभएको थियो । उहाँले प्राकृतिक विपत्तिमा क्षेत्रीय सहयोग पनि लाभकारी र उपयोगी हुने बताउनु भएको थियो ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई र अमेरिकी राजदूत पिटर बोड्डी पनि उपस्थित हुनुहुन्थ्यो ।
0 comments:
Post a Comment