भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं-मंगलबारको शक्तिशाली भूकम्पमा परी
घाइतेको उद्धार गर्न अपराह्न दोलखा पुगेको
अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता छ ।
हेलिकप्टरबारे सरकारी निकायबाटै फरकफरक
जानकारी प्रवाह भएपछि यो घटना झन् रहस्यमय
बनेको छ । हेलिकप्टर हराएको वा कतै ल्यान्ड गरेर
बसेको भन्ने अझै खुल्न सकेको छैन।
मंगलबार दिउँसो १:५० मा त्रिभुवन विमानस्थलबाट
उडेको उक्त हेलिकप्टर दोलखा, सुनखानी पुगेपछि
सम्पर्कविहीन भएको थियो । हराइरहेको हेलिकप्टर
नेपाल विद्युत प्राधिकरणको दोलखास्थित
निर्माणाधीन सिँगटी सबस्टेसनमा ल्यान्ड गरेको र
त्यसमा सवार सबै ८ जना सकुशल रहेको बुधबार साँझ
विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक
शेरसिंह भाटले विभागीय मन्त्रीलाई औपचारिक
जानकारी गराएका थिए ।
भाटले नागरिकसँग कुरा गर्दै एउटा हेलिकप्टर सिँगटी
सबस्टेसनको निर्माणाधीन स्थानमा रहेको र
त्यसमा रहेका सबै सकुशल रहेको जानकारी दिएका
थिए । भाटले त्यहाँ कार्यरत कर्मचारीलाई उद्धृत गर्दै
दिएको सूचनालाई नेपाली सेनाले तुरुन्तै
विज्ञप्तिमार्फत खण्डन गरेको थियो ।
सेनाले बेपत्ता हेलिकप्टर नभेटिएको र खोजी कार्य
जारी रहेको बताउँदै विज्ञप्ति निकालेपछि घटनाले
नयाँ मोड लियो । सेनाद्वारा बुधबार बेलुका
जारी विज्ञप्तिमा दोलखाको सुनखानीनजिक
अमेरिकी मरिन हेलिकोप्टर युएच वान वाई हराएको
र खोजीका लागि सेनाले लिपिलाङ,
लामिडाँडा, सुनखानी र जुभुबाट पैदलै खोजी गर्दा
बुधबार बेलुकासम्म अवस्था अज्ञात रहेको उल्लेख छ ।
हराइरहेको हेलिकप्टर खोज्न सेनाले आफ्नो जनशक्ति
परिचालन गरे पनि उक्त क्षेत्रमा रहेका अन्य सुरक्षा
निकायलाई कुनै जानकारी दिएको छैन । उसले
हेलिकप्टर र त्यसमा सवार २ नेपाली सेना तथा ६
अमेरिकी सेनाको अवस्थासमेत अज्ञात रहेको
विज्ञप्तिमार्फत दाबी गर्यो ।
सेनाले हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको
दाबी गरे पनि अर्थमन्त्री रामशरण महतले ट्विट गर्दै
हेलिकप्टर फेला परेको सूचना प्रवाह गरेका थिए ।
दुई थरी सूचनाबारे सम्बन्धित प्राविधिकसँग
नागरिकले सम्पर्क गर्दा पनि विरोधाभाषपूर्ण तथ्य
आए । उड्डयन प्राधिकरणका एक प्राविधिकले
हेलिकप्टर र त्यसमा सवार सबै जना सकुशल रहेको
जानकारी दिए । ती प्राविधिकले हेलिकप्टर रहेको
स्थानबारे भने जानकारी लिन नसकिएको बताए ।
दोलखा क्षेत्र नम्बर २ का सभासद आनन्दप्रसाद
पोखरेलले बुधबार अपराह्न ४ बजे हेलिकप्टरबारे
जानकारी आएको बताउँदै त्यसमा सवार सबै सकुशल
रहेको नागरिकलाई बताए । ऊर्जामन्त्री राधा
ज्ञवालीले पनि आफ्ना स्वकीय सचिव राजेन्द्र
ढकालमार्फत हेलिकप्टर र त्यसमा रहेकाहरु सकुशल
रहेको थाहा पाएको बताइन् ।
‘स्वकीय सचिवमार्फत जानकारी आएको हो,’ उनले
नागरिकसँग भनिन्, ‘आधिकारिक जानकारी छैन ।’
स्वकीय सचिव ढकालसँग सम्पर्क गर्दा उनले
प्राधिकरणका कर्मचारीमार्फत आफूलाई
हेलिकप्टरबारे जानकारी आएको बताए ।
ढकालका अनुसार सबस्टेसनमा हेलिकप्टर बसेपछि
त्यहाँका एक कर्मचारी हिँडेरै बुधबार लामोसाँघु
आएर सुनकोसी जलविद्युत आयोजनाको कार्यालय
आएर जानकारी दिएका थिए । ती कर्मचारीले
त्यहाँका प्रमुख सुरज दाहाललाई भेटेर हेलिकप्टरबारे
जानकारी गराएका थिए ।
ती कर्मचारीले एउटा हेलिकप्टर मंगलबार बेलुकादेखि
सबस्टेसनमा बसेको र आफू बिहान ५ बजे हिँड्दा पनि
त्यहीँ रहेको बताएका थिए । ती कर्मचारीको
जानकारीका आधारमा दाहालले यस्तो
जानकारी भाटलाई दिएका थिए ।
भाटले निर्माणाधीन संरचनामा हेलिकप्टर बसेको
जानकारी दिन ऊर्जामन्त्री ज्ञवालीका स्वकीय
सचिव ढकाललाई फोन गरेका थिए । ढकालले सोही
जानकारी मन्त्रीलाई दिएपछि हेलिकप्टर फेला
परेको सूचना सार्वजनिक भएको थियो । स्रोतका
अनुसार ऊर्जा मन्त्रालयले त्यसको जानकारी
तत्काल गृहलाई समेत गराएका थिए ।
सेनाले भने हेलिकप्टर फेला परेको स्विकारेको छैन ।
सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले दोलखामा
हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको बताए ।
‘मंगलबार हवाई खोजी गर्यौं, बुधबार हवाई र पैदल दुवै
किसिमले खोजी गर्यौं,’ पोखरेलले नागरिकसँग भने,
‘भेटिएको छैन, खोजी जारी छ ।’

0 comments:
Post a Comment