भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोलखा/काठमाडौं, वैशाख ३१ - महाभूकम्पको १८
औं दिन सदरमुकाम चरिकोटबाट उत्तर तामाकोसी
किनारका सबै बस्ती र बजारमा पहिरो खसेपछि
स्थानीयको बिचल्ली भएको छ । बीचमा खोला
र दायाँबायाँ भीरको चेपमा परी सयौं
सर्वसाधारण यता न उता भएका छन् । उनीहरूले
अविलम्ब उद्धारका निम्ति सरकारसँग आग्रह गरेका
छन् ।
सिंगटी बजारका विनोद तामाङले मंगलबारको
शक्तिशाली भूकम्पबाट तीन घरबाहेक सबै
भत्किएको बताए । लादुक र लामिछाडा बजार
क्षेत्रमा माथिबाट ठूल्ठूला ढुंगासहित पहिरो
खस्ने क्रम जारी छ । बिगुबाट आएको ठाडो
खोला र तामाकोसी थुनिन सक्ने खतरा छ ।
‘पहिरो खसिरहेको छ । भाग्ने ठाउँ छैन । हामी
उद्धारको प्रतीक्षामा छौं,’ उनले भने । त्यस क्षेत्र
घुमेर फर्किएका बलराम श्रेष्ठले स्थानीयवासी
उद्धारको आसमा बसिरहेको बताए । ‘मानिसहरू
त्यहाँ अलपत्र छन्,’ उनले भने, ‘त्यहाँ पाल, खाद्यान्न
र उपचार टोली पुग्नुपर्ने देखें ।’ सभासद पार्वत गुरुङले
उत्तरी दोलखाका बस्तीहरू सिंगटी, भोर्ले,
गुरुम्फी, सुरिदोभान, मन्थली, जगत,
गोंगरलगायतमा भूकम्पले ठूलो क्षति पुर्याएको
बताए ।
चिलंखाका स्थानीय सुन्दर लामिछानेले
सिंगटी–साङबा सडकका दर्जनभन्दा बढी ठाउँमा
पहिरो गएर ५० जनाभन्दा बढी बेपत्ता भएको
बताए । बेपत्ता व्यक्तिको खोजीमा ढिलाइ
भएको भन्दै स्थानीयहरू आक्रोशित छन् । ‘पुरिएका
व्यक्तिको खोजी हुनै सकेको छैन,’ सिंगटीका
स्थानीय व्यापरी सुब्बा श्रेष्ठले भने, ‘उद्धारमा
ढिलाइ हँुदा जीवितै रहने सम्भावना न्यून हुँदै गएको
छ ।’ मंगलबारको भूकम्पले दोलखामा मृत्यु हुनेको
संख्या बुधबारसम्म ६१ पुगेको छ । त्यसमा चिलंखा,
बाबरे, सुस्पा, लापिलाङ, सुनखानी, चंखु र
भ्याकुका स्थानीय बढी छन् ।
चरिकोटमा एक भवन भत्किएर पुरिएका अरनिको
डेभलपमेन्ट बैंकका म्यानेजर भक्तपुर निवासी उमेश
अधिकारी बुधबार मृत फेला परे । नेपाली सेनाको
नम्बर १ विपत व्यवस्थापन उद्धार टोलीले उनको शव
निकालेको हो । त्यस्तै चरिकोटस्थित होटल
प्याराडाइज भत्कँदा पुरिएकाको खोजी जारी
रहेको सेनाका क्याप्टेन खड्गसिंङ साउतले बताए ।
भूकम्पले पहिरो गएर अवरुद्ध अरनिको राजमार्ग र
पुष्पलाल मार्ग बुधबार खुलेको छ ।
वैशाख १२ को भूकम्पलगत्तै उद्धारमा खटिएका
सेना गाउँ गाउँमा रहेकाले मंगलबारको भूकम्पमा
परेर घाइते हुनेको तत्काल उद्धार भएको छ । मंगलबार
र बुधबार गरी २ सय १० जनाको उद्धार गरी
उपचारार्थ सदरमुकाम र काठमाडौं पठाइएको छ ।
अहिले सेनाका टोली हरेक गाविसमा खोजी/
उद्धार उपकरणसहित परिचालित छन् ।
चरिकोटस्थित बद्र्धबहादुर गणका गणपति
विश्वास विक्रम शाहका अनुसार सबै गाविसमा
गरी १ हजार २० जना सेना परिचालित छन् ।
‘उपकरण सहितको टोली गाउँ गाउँमै भएकाले
पछिल्लो ठूलो भूकम्पमा परेर घाइते भएकाको
तत्काल उद्धार गर्न सहज भयो,’ उनले भने । भूकम्प
गएपछि पुरिएका व्यक्तिको खोजी गर्न
स्थानीयले सेना गुहारेका थिए । जुगु–२ मा
बमबहादुर नेपालीको परिवार एउटै घरमा
पुरिएकामा सेनालाई जानकारी गराएपछि
तत्काल उद्धार गरिएको थियो । बमबहादुर, उनकी
श्रीमती सरिता र चार वर्षीय छोरा मनीष
पुरिएको दुई घण्टापछि सेनाको उद्धार टोलीले
जीवितै निकालेको थियो ।
भतिजले मनीषलाई चर्केको घरभित्र लगेर सुताएको
केही छिनमै भूकम्प आएपछि निकाल्न जाँदा आफूहरू
पनि पुरिएको बमबहादुरले बताए । ‘घरभित्र
छिर्नेबित्तिकै भूकम्प जाँदा दुईतल्ले घर भत्किएर
च्यापियौं । हल्का टाँड परेको ठाउँ भएकाले
कराउने साहस आयो,’ उनले भने, ‘सास फेर्न गाह्रो
भयो । कराउँदाकराउँदै आफन्तले सेनालाई खबर
गरेपछि हामीलाई उद्धार गरेर बचाइयो ।’
‘घाइतेको उद्धार तत्काल भयो,’ सिंगटीका सुब्बा
श्रेष्ठले भने, ‘पुरिएका व्यक्तिको खोजीचाहिँ
ढिलो भइरहेको छ ।’
सुरक्षा अधिकारीहरू मंगलबार दिनभर खोज र
उद्धारमा ब्यस्त थिए । दिनभरिमा ४९ उडान गरेर
घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला
अधिकारी प्रेमलाल लामिछानेले बताए ।
घाइतेलाई नेपाली सेना, श्री एयरलाइन्स, फिस्टेल,
भारतीय वायु सेवा र मनाङ एयरको हेलिकप्टरबाट
ओसारिएको थियो । जिल्लाका विभिन्न
स्थानबाट घाइतेको उद्धार गरी सदरमुकाम
चरिकोट ल्याइएको थियो । १ सय ३० जनाभन्दा
बढीलाई थप उपचारका लागि काठमाडौं
लगिएको छ ।

0 comments:
Post a Comment