भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नवलपुर (सर्लाही), श्रावण १७ - चरम अपराधबाट
सत्मार्गमा पुगेको समाज हेर्न चाहनुहुन्छ भने
सर्लाहीको नवलपुर आउनुहोस् । यो पेसेवर
डाँकाहरूलाई पुनर्वास गरिएको ठाउँ हो । पुरानो
पेसा चटक्कै छाडेर उनीहरू प्रतिष्ठित काममा
लागिसकेका छन् ।
धनुषाको झिँझा भनेपछि अहिले पनि ‘डाँकाहरूको
गाउँ’ का नामले चिनिन्छ । त्यो गाउँ सिंगै
उल्ट्याएर २०३५ सालमा नवलपुर ल्याइएको थियो ।
त्यसयता यस इलाकाको नामै पुनर्वास भएको छ ।
त्यति बेला ल्याइएका २ सय ८ परिवार बढेर हाल ४
सय ८ पुगिसकेका छन् । फराकिलो सडक, प्रशस्त खुला
ठाउँ, विद्यालय, हरेक परिवारलाई दुई बिघा (२६
रोपनी) जग्गासहित साना–साना घर दिइएको यो
ठाउँ सम्भवत: देशकै व्यवस्थित आवास हो । गत साता
मध्याह्न हामी पुग्दा गाउँलेहरू चौतारीमा शीतल
तापिरहेका थिए । तिनीहरूका माझमा
झिँझाकालीन डाँकाका एक मात्र जीवित सरदार
८२ वर्षीय सिग्लास पासवान पनि थिए । उनले
पुराना क्षण यसरी सुनाए–
...
२०१७ सालमा महेन्द्र राजाले पञ्चायत ल्याए ।
कांग्रेसका मान्छेहरू भूमिगत भई भारततिर बस्न थाले ।
उनीहरू कहिलेकाहीँ रातिराति वारि आएर
नेपालका चौकी लुट्थे । त्यो क्रम बढ्दै गयो ।
हामी भारतका गाउँतिर गएर लुट्थ्यौं । एक–दुई गर्दै
गाउँका सबैजसोको पेसै लुट्ने थियो । केही वर्षपछि
जब जनकपुर अञ्चलका एसपी बनेर मानबहादुर राई आए,
हामीलाई झिकाए । उनले कांग्रेस नेताहरू बसे ठाउँमा
गएर लुट्न अह्राए । हामीले त्यो काम पनि गर्यौं ।
सरकारलाई सघाएपछि नेपालभित्र हामीलाई कसैले
छुन नसक्ने भयो । अझ प्रहरीले नै हामीलाई हतियार
चलाउने तालिम दियो । कतिपय अवस्थामा
हतियारै पनि दियो ।
२०२९ सालको कुरा हो । महिनाथपुर सीमामा
भारतीय चौकीदार एकजना पासवान नै थियो ।
हामी पनि पासवान । त्यसैले ऊसँग राम्रै दोस्ती
भएको थियो । एक दिन उसले मलाई भन्यो, ‘नेताजी,
हाम्रा एसपी साबले बोलाउनुभएको छ । तपाईंका
गाउँका सबै नेताहरू भेट्न जानू रे ।’ उताका एसपी
श्रीवास्तव थिए । उनी अलि खतरै छन् भन्ने सुनेका
थियौं ।
झिँझामा म, सोतीलाल, अयोधी, मुसे, सोगारत र
उजागर नेता थियौं । गाउँ हाम्रै नियन्त्रणमा
जत्तिकै थियो । डकैती वा लुटपाटमा जाँदा कुनै
नेताले नेतृत्व गरेर टोली अघि बढ्थ्यो । जे काम गर्न
पनि हाम्रो आदेश चाहिन्थ्यो । भारतका एसपीको
कुराले डर लाग्यो । सबैलाई थुनिदिने भयो भन्ने
ठान्यौं । जान सहमत भएनौं । ‘तपाईंहरूलाई केही हुँदैन,’
चौकीदारले विश्वास दिलायो, ‘म जिम्मा लिन्छु
।’
जे पर्ला भनेर हामी गयौं । एसपीले प्रस्ताव राखे,
‘तपाईंहरू आत्मसमर्पण गर्नुहोस्, डकैती पेसा
त्याग्नुहोस्, हामी उमेर पुगेका सबैलाई पुलिसमा
नोकरी दिन्छौं ।’ तीन दिनको म्याद दिए र सोचेर
आउन भने ।
हामीलाई कतै यो षड्यन्त्र त होइन जस्तो लाग्यो ।
तैपनि प्रस्ताव आकर्षक थियो । तेस्रो दिन पूरै गाउँ
हूल बनेर गयौं । साथमा भएका हतियार लग्यौं ।
बिहारका मुख्यमन्त्री केदारनाथ पाण्डेसमेत आएका
रहेछन् । मुख्यमन्त्री र एसपी सीमामै आए । उनीहरूले
नोकरी पक्का गरे । हामीले करिब ५० वटा बन्दुक र ७
वटा पेस्तोल बुझायौं । झिँझाका २ सय जनाले
भारतीय प्रहरीमा जागिर पाए । जयनगरदेखि
दरभंगासम्म झिँझालीलाई रेलमा पैसा नलाग्ने भयो ।
यता नेपालका राजालाई चिन्ता थपियो । आफ्ना
देशका नागरिकलाई भारतले आत्मसमर्पण गराएकामा
चोट पर्यो । केहीपछि एसपी मानबहादुर सुटुक्क उता
गए । उनले फकाउँदै भने, ‘तिमीहरू देशभक्त हौ । फर्क ।
हामी बस्ने राम्रो व्यवस्था मिलाउँछौं ।’
त्यतिन्जेल धेरै जना पुलिसबाट भागिसकेका थिए ।
डकैती गरेर मोजमस्तीले खाने ज्यान पुलिसको कडा
तालिममा टिक्न सकेनन् । घर फोर्ने र मीठो खाने
लतले फेरि तान्यो । नगएका हामी गाउँमै थियौं ।
डकैती पेसालाई छाड्न सकेकै थिएनौं ।
हाम्रो समुदायबाट पढेका एक मात्र शिक्षक
हुनुहुन्थ्यो दयाराम दास । उहाँले सिंगै गाउँलाई
डकैती पेसाबाट छुटाउन धेरै पहल गर्नुभयो । उहाँ र
हामीलाई सरकारका मान्छेले बाँके, बर्दियातिर
जग्गा देखाउन लगे । हामीले ‘टाढा भयो’ भन्यौं । जब
सर्लाहीको नवलपुरमा ल्याए, मन परायौं । त्यहीं
पुनर्वास गर्ने टुंगो लाग्यो । वन फाँडेर, सडक छुट्याएर,
घर बनाएर सरकारले देखाउन लग्यो । भएका हतियार
सुम्पिएर हामी यता आयौं ।
...
त्यसअघि डकैती कति गरियो, गनेर साध्य छैन ।
नेपालमा चाहिँ कमै गरियो । भारतमा हामीले
सुराकी राखेका थियौं । तिनीहरूले धनदौलत भएका
घरको सारा विवरण दिन्थे । त्यस आधारमा हामी
पूरा तयारी गरेर पुग्थ्यौं । चोर्न चार–पाँचजना
जान्थ्यौं, डकैती गर्न १५–२० जना । एकपटक भारत
सीतामढी जिल्लाका एकजना छोटेराजाको घर
लुट्नु थियो ।
मध्य राति पछाडिबाट छिर्यौं । बाहिर चारैतर्फ
हाम्रा गार्डले पहरा दिए । गेटमा बसेका राजाका
गार्डले थाहै पाएनन् । हामी बाँस लाएर छतमा चढ्यौं
। अनि, धोती झुन्डयाएर तल्लो तल्लामा झरी
खजाना भए ठाउँ पुग्यौं । त्यसमा ३ वटा ताला रहेछन्
। फुटायौं । त्यहाँबाट करिब ७५ तोला सुन, केही
हीरा, चाँदीको सुँगा लग्यौं । सुँगाका दुवै आँखा
हीराका रहेछन् ।
भारतको बर्गिनियामा लुट्न जाँदा साथीहरूले
दिउँसै टन्न दारु खाए । मातेको अवस्थामा आँपको
गाछीमुनि सुतिरहेका थियौं । प्रहरीले समातेर
ठानामा लग्यो । छामछुम गर्दा मेरो ढाडमा
दिवाल काट्ने हतियार (सिनकट्टा) भेटायो । यी त
डाँका रहेछन् भनेर थुन्यो । हामीले दरबानलाई ६ सय
भारु दियौं, केही दिनमै छाडिदियो ।
...
जसले गल्ती स्वीकारेर सत्मार्गमा लाग्छ त्यो महान्
हो । सर्लाही नवलपुरको भन्नेबित्तिकै अझै धेरै मान्छे
झस्किन्छन् । अझ पुनर्वासकै भन्यो भने भाग्न खोज्छन् ।
‘तर, अब डराउनुपर्दैन । नभएका होइनन्, एक–दुई प्रतिशत
फटाहा होलान्,’ पुनर्वासकै बालबालिकाका
लागि सरकारले खोलिदिएको पञ्चकुमार प्राविका
प्रधानाध्यापक दानालाल पासवान भन्छन्, ‘प्राय:
आ–आफ्ना इलममा लागिसकेका छन् । पुरानो
पेसाप्रति सबैलाई घृणा छ । कोही आपराधिक
काममा लागेको थाहा पाए समाजले सजाय गर्छ ।’
पुनर्वासको नयाँ पुस्ताले राम्रो प्रगति गरेको छ ।
व्यापार, राजनीति, शिक्षा, सुरक्षा निकाय,
सरकारी सेवा अब कता पुगेका छैनन् र यहाँका युवा ?
तर पनि उनीहरू सधैं पोल्ने एउटै कुरा छ– कसैले प्याच्च
‘डाँकाका सन्तान’ पो भन्ने हो कि ?
पुनर्वासमै आएर पनि कतिपयले पुरानो लत छाडेका
थिएनन् । ‘२०४७/०४८ सम्म मेरो बुबा डकैतीमै हुनुहुन्थ्यो ।
म ९ कक्षामा पढ्थें । साथीहरूले जिस्क्याउँथे, मनमा
चस्स घोच्थ्यो,’ राजनीतिमा लागेका राधेश्याम
पासवानले भने, ‘एक दिन बुबालाई कि तपाईं यो पेसा
छोड्नुहोस्, कि म पढाइ छाडेर तपाईंको पछि लाग्छु
भनें । त्यस दिनदेखि बुबाले लुट्ने काम चटक्कै छोड्नुभयो
।’ त्यसबाट उनैले एउटा निचोड निकाले, ‘डाँकालाई
पनि आफ्ना सन्तान डाँकै बनोस् भन्ने हुँदो रहेनछ ।’
पुनर्वासबाटै नेत्रगन्ज गाविसका कार्यवाहक अध्यक्ष
भइसकेका देवानन्द पासवान पनि आफ्नो गाउँका
प्रतिष्ठा बढाउन लागिपरेको बताउँछन् । ‘यो
गाउँको नाम सुन्दै मान्छे तर्सिन्छन्,’ उनले भने, ‘त्यो
बदनामी हटाउन हामी लागेको लाग्यै छौं ।
यो अवस्थामा आइपुग्ने मुख्य अस्त्र शिक्षा नै रहेछ ।’
उनका बुबा अयोधी डाँकाका एक नेता थिए । उनी
जलेश्वर जेल तोडेर भागेका थिए । ‘बुबाका कारण मैले
पढ्न पाइनँ,’ उनले भने, ‘पछिल्लो समय बुबालाई पनि
त्यही कुराको पछुतो भइरहन्थ्यो ।’
सिग्लासलाई त झन् ती दिनका अपराधले अहिले
भतभती पोल्छ । ‘हामीले धेरै लुट्यौं, थाक्यौं, केही
पाएनौं,’ उनले भने, ‘यस्तो काममा कसैले हात नहालोस्
। लुटेर खानुभन्दा गरेर खानुको इज्जत धेरै माथि हुँदो
रहेछ ।’ देशमा नयाँ संविधान बन्दै छ । त्यसबारे
सोध्दा उनले भने, ‘संविधान गरिब र दलितको पक्षमा
बनोस् । संघीयता भए पनि मधेस, पहाड र हिमाल
जोडिऊन् । नेताहरू झैंझगडामा नअल्झिइरहून् । सबैभन्दा
ठूलो कुरा त चोर्ने, लुट्ने र अन्य अपराध गर्नेलाई कडा
सजायको व्यवस्था होस् । हामीले भूलवश समाएको
बाटोमा कसैले लाग्नै नपाओस् ।’
0 comments:
Post a Comment