भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, ८ कात्तिक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफ्नो नाम जोडिएर केही अनलाइनहरुमा आएका समाचारले आफू स्तब्ध बनेको बताउनुभएको छ ।
आफूले राज्यलक्ष्मी गोल्छाबाट १० लाख रुपैयाँ लिएको भन्ने आरोप निराधार भएको भन्दै एमाले सचिव विष्टले गलत आरोपको पछि नलाग्न सबै कार्यकर्ता एवं शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित भएपछि नेकपा एमालेले समानुपातिक सभासद् गोल्छालाई पदबाट राजीनामा दिन भनेको थियो । त्यसको आक्रोशका रुपमा गोल्छाले विष्ट लगायत नेकपा एमालेका उच्च नेताहरुलाई आर्थिक सहयोग गरेको आरोप लगाउनुभएको थियो ।
‘मैले जीवनभर दुःख गरेर बनाएको छवि धुमिल्याउने प्रयास भयो ।’ एमाले सचिव विष्टले आइतबार साँझ दैनिक नेपालसँग भन्नुभयो, ‘यो सरासर झुट्टा हो, यस्ता अनावश्यक आरोप र हल्लाको पछि नलाग्न म सिंगो पार्टी पंक्ति, कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गर्दछु ।’
आफ्नो नाममा कसैले चन्दा उठाएको हो कि भनेर कार्यकर्ता र सहयोगीहरुलाई फोन गरेर बुझ्दा पनि कसैले पैसा लिएको छैन भन्ने जवाफ पाएको विष्टले बताउनुभयो ।
कान्तिपुर दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा समाचार छापिए लगत्तै शनिबार साँझै विष्टले गोल्छालाई फोन गरी आरोप प्रमाणित गर्न चुनौती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीको स्थायी कमिटी बैठकबाटै विष्टले गोल्छालाई फोन गर्नुभएको थियो। तर, जबाफमा गोल्छाले आफूले त्यसो भन्दै नभएको भन्दै फोन राख्नुभएको थियो । विष्टले फोन गर्दा अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेताहरु बैठक कक्षमै थिए । आफ्नो बारेमा लागेको आरोपका बारेमा तत्कालै इकान्तिपुरमार्फत पनि खण्डन गरेको उहाँले बताउनुभयो ।
चर्चित उर्जामन्त्रीको रुपमा छवि कमाएका विष्ट गुल्मी क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् समेत हुनुहुन्छ ।
0 comments:
Post a Comment