Home » » माघ ८ मा संविधान नबने प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने-झलनाथ खनाल

माघ ८ मा संविधान नबने प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने-झलनाथ खनाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं- एमाले बरिष्ठ नेता झलनाथ खनालले माघ ८ मा संविधान नबने प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार राजधानीमा गरेको अन्तर्क्रियापछि सञ्चारकर्मीसित खनालले त्यस्तो संकेत गरेका हुन् । 'माघ ८ मा संविधान जारी भए पनि नभए पनि सरकार त बदलिन्छ,' उनले भने ।

माघ ८ पछिको सत्तासमिकरणबारे पनि खनाल खुल्न चाहेनन् । खनालले कांग्रेसका केही नेताहरु एमालेलाई सत्ता बाहिर राख्ने भूमिका खेलिरहेकोबारे प्रतिक्रिया दिन रुचाएनन् । 'त्यसो भए एमालेलाई फाइदै हुन्छ,' उनको भनाइ थियो, 'हामी आफ्नो (पार्टी) काम गर्न पाउँछौं ।' सँगै रहेका एमाले सचिव योगेश भट्टराईले पनि एमालेको स्वास्थ्यको लागि पनि सत्ता आवश्यक नभएको बताए ।

आफूलाई भारतीय संस्थापनको नजिक ठान्ने कांग्रेस नेता अमरेशकुमार सिंहले कोइरालाले सरकार छाडे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री कुनै हालतमा बन्न नदिने दाबी गरेका थिए ।

त्यसअघि भएको अन्तर्क्रियामा खनालले दलहरुबीच भएका छलफलमा संविधान निर्माणपछिको  सत्ता साझेदारीमा खुलेर कुरा नभएको जानकारी दिएका थिए । 'मनभित्र छ भने कसले देख्ने कुरा भएन, एउटा कुरा खुलस्त के छ भने कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो, त्यसमा ८ माघभित्र संविधान दिने, त्यसपछि सरकार, सभामुख, राष्ट्रपतिको निर्वाचन गर्ने भन्ने थियो,' खनालले भने, 'त्योभन्दा बाहिर पत्रकार सम्मेलन गरेर भन्न सकिन्न भने कानमा भन्न सकिन्छ, टेलिफोनमा भन्न सकिन्छ, द्विपक्षीय भेटघाट गरेर भन्न सकिन्छ । त्यस्तो कसैलाई लाग्छ भने छलफल गर्न सकिन्छ ।'

खनालले संवाद समितिको प्रतिवेदन पुनः संविधानसभाबाट नफर्कने दाबी गरे । 'जन्मेको बच्चा फर्कन्छ ?,' उनको सटिक उत्तर थियो, 'संवाद समितिको प्रतिवेदन फेरि संवाद समितिमा फर्कंदैन ।'

खनालले सहमतिमा संविधान निर्माण नभए प्रक्रियामा जाने चेतावनी दिंदै कसैले त्यसमा धम्की दिए पनि नडराउने बताए । 'यहाँ संघीयता नमान्ने, धर्मनिरपेक्षता नमान्ने, संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने पनि छन्, सबैसँग सर्वसहमति गर्न सकिन्छ ?,' उनको भनाइ थियो, 'सर्वसहमति खोज्नु भनेको संविधान बन्न नदिनु हो, मुलुकलाई संविधानविहीन राख्ने षड्यन्त्र हो ।'

यद्यपी खनालले अलग धारणा राख्ने जनमोर्चा नेपाल, राप्रपा नेपाललगायतका दलले पनि प्रक्रियामा सहभागी हुन पाउनुपर्ने धारणा राखे ।

संविधानका चारवटै विवादित विषय मिल्न नसक्ने विषय नभएको खनालको भनाइ थियो । 'तीनवटै (कांग्रेस, एमाले र एमाओवादी)का विचार प्रजातान्त्रिक छन्,' उनले भने, 'मिल्न नसक्ने विषय नै छैनन् ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved