भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, वैशाख ३१ - अमेरिकी डलरको मूल्यले
बुधबार करिब १ सय ३ रुपैयाँ छोएको छ । भारतीय
रुपैयाँलाई परेको असरले नेपालीमा पनि छोएको
हो । बुधबार भारतमा डलरको मूल्य भारु ६४ रुपैयाँ
१५ पैसासम्म पुगेको छ । यसले नेपाली बजारमा पनि
डलरको मूल्य १ सय ३ को हाराहारीमा पुगेको हो
।
पछिल्लो २३ दिनदेखि बैंकले डलरको खरिद दर १ सय
रुपैयाँभन्दा माथि तोकेका छन् । बैंकको बिक्री
दरले प्रतिडलर १ सय रुपैयाँ नाघेको डेढ महिनाभन्दा
बढी भएको छ ।
बुधबारका लागि राष्ट्र बैंकले डलरको खरिददर १
सय १ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ५८
पैसा तोकेको थियो । तर भारतीय बजारमा
डलरको मूल्य थप माथि गएको छ । भारु र नेरुबीच
स्थिर विनिमयदर छ । यसले भारतीय बजारमा
देखिएको असर नेपालसम्म आइपुग्छ ।
डलरको मूल्य आकासिन थालेपछि विदेशबाट खरिद
गरेर ल्याइने राहत सामग्री महँगो पर्ने देखिएको छ
। टेन्टदेखि भूकम्पपीडितलाई आवश्यक अन्य वस्तु
विदेशबाट आयात भइरहेको छ । यसका साथै तेस्रो
मुलुक र डलर तिरेर भारतबाट ल्याइने उत्पादनको
मूल्य पनि डलरसँगै बढ्छ ।
सबै प्रक्रिया र बैंकबाट प्रतीतपत्र खोलेर आयात
गरिने वस्तुमा भने डलर महँगीको असर तुरुन्तै देखिंदैन ।
‘नि:शुल्क आउने राहत सामानमा डलरको कुनै असर
पर्दैन,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने,
‘खरिद गरेर ल्याउनेमा असर पर्ने हो ।’ सामान्य
अवस्थामा जस्तो आयातमा चाप नपरेको उनले
बताए ।
तर बढेको डलरकै मूल्यका कारण विदेशबाट घर
रेमिटेन्स पठाउनेलाई भने थप राहत मिलेको छ । डलर
महँगो हुँदा मुलुक भित्रिने रेमिटेन्स बढ्ने गर्छ । राष्ट्र
बैंकले पनि रेमिटेन्स भित्राउन सजिलो बनाउँदै ३
लाख रुपैयाँसम्म बैंक वित्तीय संस्थाले
उपभोक्तालाई खाता नहुँदा समेत भुक्तानी दिन
मिल्ने व्यवस्था गरेको छ । यो सुविधा आउन
अगावैबाट रेमिटेन्स भित्रिने क्रममा केही सुधार
देखिएको राष्ट्र बैंकले बताएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको
रेमिटेन्ससँगै विभिन्न मुुलुक र दातृ निकायले उपलब्ध
गराइरहेको आर्थिक सहयोगले विदेशी मुद्रा
भित्रिने क्रम बढेको छ ।
सामान्य अवस्थामा पनि विदेशमा रहेकाले
डलरको मूल्य बढेको समयमा बढी रेमिटेन्स पठाउने
गर्छन् । डलर बढ्दा निर्यातजन्य उद्योगलाई पनि
फाइदा पुग्छ । तर भूकम्पले क्षति नपुर्याए पनि
उत्पादनमूलक उद्योगबाट निर्यात बढ्ने सम्भावना
छैन । पछिल्लो समय लगातार भारतीय मुद्रा
डलरको तुलनामा कमजोर हुँदै गएपछि भारतीय
रिजर्व बैंकले बजारमा हस्तक्षेप पनि गर्न थालेको छ
। एक सातामा रिजर्व बैंकले २ देखि ३ अर्ब डलर
बिक्री गरेको अनुमान गरिएको छ । खुला बजार
विनिमय दरमा सिधै हस्तक्षेप गर्न नमिल्ने भएकाले
यस्ता जानकारी सार्वजनिक गरिंदैनन् ।
केन्द्रीय बैंकले आफूसँग रहेको मौज्दात डलर बजार
पठाएर माग घटाउने प्रयास गर्छ । ‘सेप्टेम्बर २०१३
पछिकै न्यून स्थानमा आएकाले रिजर्व बैंकले बजार
हस्तक्षेप गरेको अनुमान गरिन्छ,’ भारतीय पत्रिका
फाइनान्सियल एक्सप्रेसले समाचारमा उल्लेख गरेको
छ ।
विश्लेषकका अनुसार भारतीय रिजर्व बैंकले
अमेरिकी डलरलाई तोकेकै स्थानमा राख्ने गरी कुनै
सीमा निर्धारण गरेको छैन । तर बजारमा डलरको
अभाव वा अत्यधिक उपलब्धता नहोस् भन्ने चाहना
छ । केही समयअघि भारतीय गभर्नर रघुराम राजनले
‘अत्यधिक बलियो भारतीय रुपैयाँ’ को
आवश्यकता नरहेको बताएका थिए । एक दिनअघि
न्युयोर्कमा अमेरिकी डलर आफ्ना प्रमुख
प्रतिस्पर्धी मुद्राभन्दा कमजोर देखिएको थियो
। तर उदाउँदा एसियाली अर्थतन्त्रमा डलरको मूल्य
बढ्ने क्रममै छ ।

0 comments:
Post a Comment