भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोलखा(सिंगटी)।
दोलखाको उत्तरी २२ गाविसको केन्द्र रहेको यो
सिंगटी वजार अहिले भग्नावशेषमा जीवन र मृत्युको
खोजी गरिरहेको छ। बाँचेकाहरु कतिखेर यहाँबाट
वाहिर जान पाए हुन्थ्यो भनिरहेका छन्। त्यहि बस्न
वाध्यहरु कसरी जीवन सहज वनाउने उपाय खोज्दै छन्।
आफन्त हराएकाहरु भग्नावशेषमा सास रहुन्जेल आस
भनेझै आफन्तहरुको खोजीमा दिनरात एक वनाएर
भौतारिरहेका छन्।
सिंगटीबाट उत्तर विगुसम्म पुग्ने सिंगटी सोरुङ सडक
र उत्तरपूर्वको लामावगरसम्म पुग्ने सिगटी लामावगर
सडकले जोड्ने समग्र उत्तरपूर्वी भेगका २२ गाविसको
केन्द्र यतिखेर मसानघाट भएको छ। दोस्रोपटक
वैशाख २९ गते आएको ठूलो पराकम्पपछि पहिलोपटक
स्थलमार्गहुँदै पुगेको पत्रकारहरुसँग कुरा गर्दै स्थानिय
राधिका खड्काले भनिन् ‘हिजोको अब सिंगटी
रहेन अब।’ बुधवार राती सिंगटीको स्थानियहरुसँग
सामुहिक खाना खाँदै गरेका वेला उद्धार हुन
नसकेको शव खोतलेर खुटा बोकेर कुकुर बस्तीमा
आएको सुनाउँदै उनले भनिन ‘बजारका करिव २ सय
भन्दा बढी घर सबै भत्किएका छन्। भग्नावशेषमा जाने
आँट कसैको छैन। मरेका व्यक्तिको शब गन्हाउन
थालेपछि कुकुरले खोजेर लासको मासु खान थालेछ।
बुधवार त हामीले खाना खान लागेको बेलामा
कुकुरले मान्छेको खुट्टा नै बोकेर पो आयो।’
मंगलवारको भुइँचालोले सिंगटीमा ठूलो मानविय
तथा भौतिक क्षती भएको छ। बजार पुरै खण्डहरमा
खण्डहरुमा परिणत हुँदा त्यहाँको रौनक हराएको छ।
मान्छेका अनुहारहरु मलिन देखिएका छन्। अनुहारमा
निराशा छ। खानेपानीको लाइन विच्छेद भएको
छ। एकातिर बजारमा ल्याइएको पानीको
मुहानमा समस्या देखियो भने अर्कातिर मुहानबाट
ल्याइएको पानी जम्मा गर्ने पानी ट्याङकी
फुटेको छ। स्थानिय दिलकृष्ण मल्लले हाम्राकुरा
डटकमसँग भने ‘ पहिरोले पानीको मुल सुक्यो।
पानीको पाइप टुट्यो। पानी ट्याङकी फुट्यो।
खानेपानीको स्रोतनै खतम भएपछि
तामाकोशीको पानी खान स्थानिय वाध्य छन।
‘ मल्लले हामीसँग कुरा गर्दैगर्दा राधिकाले थपिन
‘खानेपानीको स्रोत नै नरहेपछि नजिकैको शव बग्दै
गरेका भोटेकोशी र तामाकोशीको हिलो पानी
पिउन वाध्य भइएको छ।’
‘मंगलवार दिउँसो भुकम्पमा परेका मानिसको शब
वग्दै आएको देखिएको तामाकोशीकै हिलो पानी
अहिले सिंगटीका बासिन्दा पिउन वाध्य छन्।’
खड्काले भनिन,’ सिंगटीमा रहेकाहरुले पानीलाई
शुद्ध पारेर पिउन पिउस समेत पाएका छैनन। उद्धार हुन
नसक्दा महामारीको चिन्ता छ।’
दुइतिर नदीको बीचमा रहेको सिंगटी बजारको
दायाँबायाँ अजंगका पहाड छन्। मंगलवार दिउँसो
आएको भुकम्पक पछि पहाडहरुमा सुख्खा पहिरव
गएको गएकै छ। बिहिवार मध्यान्ह सिंगटी पुग्दा
पहाडहरुबाट सुख्खा पहिरो झरेकै देखिन्थ्यो। हामी
आत्तिएर भाग्न खोज्दा स्थानिहरु त्यसलाई
वास्ता नगरिरहेको देखिन्थ्यो। झ्याँकु
झाग्रालीका स्थानीय भएपनि भुकम्पपछि
सिंगटीमा बस्दै आएका राजु कुमार तामाङ भन्दै
थिए ‘ गाउँ नै धुलाम्य हुनेगरि सुख्खा पहिरो झर्छ।
यो त सामान्य हो।’
स्थानियहरु आफ्ना कुरा सुनाइरहँदा
स्थानियस्तरमा खटिएको नेपाली सेना
भग्नावशेषहरुमा उद्धारका लागि खटिरहेको
थियो। एक दुई किशोर बाहेक कोहि पनि
उद्धारको काममा खटिएका थिएनन। ५ गाविसको
उद्धार तथा राहत कार्यलाई हेर्दै आएको नेपाली
सेनाको सिंगटी सुरक्षा बेसका मेजर भिष्म रावलले
भौगोलिक प्रतिकुलताको बीचमा उद्धार
कार्यमा कठिनाइ आएको बताए। उनले थपे ‘ सडक
सञ्जाल खुलाउन सकेमात्र पनि राहत र उद्धारका
लागि सहयोगी हुन्थ्यो।’
मेजर रावलको भनाइ तत्काल पुरा हुने छाँट देखिदैन।
त्यस क्षेत्रमा उद्धारमा खटिएका सेना प्रहरी स्वयं
उद्धारमा जान नसक्ने भएपछि कसरी बाटो चाहि
खुल्ला स्थानिय नवराज खत्रीले प्रश्न गरे। उनले नै थपे
‘भिरबाट झरेको ढुङगाले सेना प्रहरीलाई चाहि
नलागन् भएत गर्थे होलान। तर के गरुन उनीहरुको पनि
ज्यान बचे त उद्धारमा लाग्न सक्ने त हुननी। ‘
सिंगटी प्रहरी चौकीका तर्फबाट भोर्लेको
भिरमा पहिरोमा परेको जीपमा रहेका मानिसको
उद्धारमा गएको टोली रित्तै फर्कियो। प्रहरी
निरिक्षक जीवन तामाङले हामीलाई सुनाए
‘भीरमा पहिरोले चेपिएर मरेका तीनजनाको शव
समेत लगातारको पहिरो गएका कारण निकाल्न
जान सकिएन। कसरी उद्धारमा खटिनु?’ सो
भिरमा भिम बहादुर तामाङ लक्ष्मी तामाङ र
उनीहरुका दुई बर्षिय छोरी सपना तामाङ जीपमा
पहिरोले पुरिएर मृत अवस्थामा रहेका छन्।
एकातिर सेना र प्रहरी भौगोलिक प्रतिकुलताका
कारण उद्धारमा पूर्ण रुपमा खटिन सकेको छैन।
अर्कातिर आफन्तहरु गुमाएको पीडा पिडितहरुसँग छ।
सिंगटी बजारमा पुरिएको घरबाट ओराङ ३ का
आफ्ना बाबु मान बहादुर तामाङको शब खोज्न
प्रहरी र सेनाकोमा धाइरहेका हरि तामाङले
स्थानिय प्रहरीबाट निराश जवाफ पाए।
पिताजीको सास वा लास लिएर जान
साथीहरुसँगै सिंगटी बजार चहार्दा चहार्दा दिक्क
भएका हरिलाई प्रहरीले शब निकालेपछि खबर गर्ने र
अहिले भने किरियाकर्म गर्न भन्दै पठाइदिए।
सिंगटीको पुलमा बाबु पुरिएको घरतर्फ हेर्दै
हाम्राकुरासँग भने ‘बाबुको लास समेत नभेटाइ कसरी
किरिया गर्नु?’
पहिले टिकट काउण्टर भएको पुरिएको सो घरमा
अहिलेपनि २० जना जति पुरिएको आशंका गरिएको
छ। सेना र प्रहरीको स्थानिय टोलीलाई थप मद्धत
पुर्याउन अहिले जनकपुरबाट गएको सेनाको टोली
त्यहाँ पुर्याइएको चरिकोट वर्द बहादुर गणका मेजर
राजन दाहालले जानकारी दिए। नेपाल प्रहरीले
पनि भत्किएका भग्नावशेष हटाउने सामान र जेनेरेटर
सहित एक टोली पठाएको छ।
दुई सय भन्दा वढी घर रहेको सिंगटी वजार
मसानघाट जस्तो बन्दा त्यसको प्रत्यक्ष प्रभाव
आसपासका गाउँहरुमा पनि परेको छ। घरको
भग्नावशेषबाट कामलाग्ने सामान निकाल्दै गरेका
सिंगटीका स्थानिय केदार शिवाकोटीले भने
‘बुधवार झोरुङतर्फ गएको बसमा किचिएका
मानिसमध्ये १० वटाको कार्तिकेमा प्रहरीको
उपस्थितिमा सामुहिक दाहसंस्कार गरियो।
तामाकोशीमै बुधवार ५ वटाको शब जलाइयो।
बिहिवार ३ वटा शब जलाइयो। एकातिर
भग्नावशेषको धुलो अर्कातिर शब जलाइएको धुवाँले
वातावरण नै मसानघाट जस्तो बनाइदिएको छ।’
हामी सिंगटी पुग्दा बाटोमा पोको पारेर
राखिएको लास पहिचान हुन सकेको थिएन।
हराएकाहरुको आफन्तहरु शब हेर्दै आफ्ना आफन्तको
होकी हैन खुट्ट्याउँदै थिए। एकछिनपछि लादुकबाट
आएका एक हुल मानिसले ति युवतीको शब आफ्नो
आफन्त भएको पहिचान गरेपछि प्रहरीले उनीहरुलाई
शब जलाउन अनुमति दियो। लादुक १ की धनसरी
तामाङलाई जलाउन सिंगटी बजारकै भग्नावशेषबाट
काठका टुक्राहरु लिएर दाजुभाउजु र केहि
स्थानियहरु तामाकोशी तर्फ गइरहेका थिए।
आमासँग किनमेलका लागि सिंगटी आएकी धनसरा
आमासँगै भुकम्पमा परिन। आमा गम्भिर घाइते
अवस्थामा उद्धारपछि थप उपचारका लागि
काठमाडौं पुगिन छोरी धनसरा तीनदिनपछि
पहिचान भएर तामाकोशीमा खरानी भएर मिसिन
पुगिन। उनकी दई दाजु र भाउजु शब जलाउन
तामाकोशीमा पुगिरहँदा काठमाडौंमा उपचारमा
रहेकी आमाको के अवस्था भयो भनेर चिन्तित थिए।
फोन सम्पर्क हुन नसक्दा उनीहरु थप तनावमा थिए।
तनाव चिलंखाका स्थानियहरुले अझ धेरै भोगेका छन्।
आफ्ना नाममा आएको राहत लिएर घर जान लाग्दा
अचानक भुइचालो गएपछि बाटो देखि सवारी
साधनसमेतमा उनीहरुले ज्यान गुमाए। अब उनीहरुको
जीवित नै उद्धार हुने सम्भावना नरहेपछि मृत शरीर
पाउने सम्भावना पनि उनीहरुका आफन्तहरुले नपाउने
भएका छन। निरन्तरको पहिरोका कारण
सिंगटीबाट लामावगर र झोरुङतर्फ जाने बाटोमा
पुरिएका आशंका गरिएका दुई सय भन्दा वढीको
स्थिति अझै कतिसम्म अज्ञात हुने हो अन्यौल रहेको
छ।
यहि अवस्थामा कतिपय स्थानियहरु भन्न थालेका
छन सरकारले हामीलाई अब सुरक्षित ठाउँमा
पूनर्वास गराओस। अब यहि बसेर हामी मर्नलाई कुर्न
सक्दैनौ।
0 comments:
Post a Comment