Home » » मृत्यु रोज्दा पनि उनीहरू छुट्टिएनन.....

मृत्यु रोज्दा पनि उनीहरू छुट्टिएनन.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धनगढी : दार्चुलाको दत्तु गाविसमा वार्षिक
परीक्षामा फेल भएपछि महाकालीमा हाम फाल्ने
पाँच बालिका एकदमै मिल्ने थिए। काम गर्दा होस्
वा स्कूल पढ्दा, जतिबेला पनि उनीहरु सँगै हुन्थे। फेल
भएको आवेगमा जीवन त्याग्ने निर्णय गर्दा पनि
उनीहरू छुटिएनन्।
कक्षा ६ र ७ मा पढ्ने पाँच बालिकाले सामूहिक
रूपमा महाकाली नदीमा हामफालेर आत्महत्या
प्रयास गर्दा चारजनाको ज्यान गयो भने एकजना
नदीकिनारको ढुंगामा ठोक्किएर बाँच्न सफल भएकी
छिन्।
दार्चुला सदरमुकाम खलंगाबाट झन्डै १५ किलोमिटर
दूरीमा रहेको दत्तु गाविस २ का कक्षा ७ मा पढ्ने १५
वर्षीया ममता चुनारा, कक्षा ७ मै पढ्ने १५ वर्षकी
पूजा कोली, कक्षा ६ मा पढ्ने १४ वर्षकी अर्की
ममता चुनारा, ६ कक्षामै पढ्ने १२ वर्षकी नितु लोहार
र कक्षा ७ मा पढ्ने कमला डाँगा सामूहिक रूपमा सलले
हात बाँधेर महाकालीमा हामफालेका थिए। नदीमा
ठोक्किएर बाँचेकी कमलाले गाउँमा आएर चारजना
महाकालीमा हामफालेको खबर गरेपछि गाउँले र
प्रहरी खोजीमा लागेका थिए।
ज्यान गुमाएकामध्ये कक्षा ६ मा पढ्ने ममता चुनाराले
भने परीक्षामा पास भए पनि मिल्ने साथीहरूको
लहैलहैमा आत्महत्या गरेको परिवारजनले बताए।
विद्यालयनजिकै रहेको बैतडी-दार्चुला मकाकाली
राजमार्गको मुन्तिर रहेको महाकालीमा उनीहरूले
हामफालेका हुन्। 'म फेल भएँ भने घर आउँदैन भन्थिन्,
सरकारी स्कुलमा राम्रो पढाइ हुँदैन, ठूला स्कुलमा
पढ्न आर्थिक अवस्थाले धान्दैन', कक्षा ७ मा फेल
भएकी पूजाका दाइ पुष्कर कोलीले भने।
पुष्कर पनि सोही विद्यालयमा कक्षा ११ मा पढ्छन्।
'सरकारी विद्यालय कहिले शिक्षक नआउने त, कहिले
बन्द छ भन्ने, कसरी विद्यार्थी पास हुन्छन्?' उनले भने,
'विद्यालयमा राम्रो पढाइ नहुने भएकाले चारजनाले
ज्यान गुमाए।'
पुष्कर र पूजापछि परिवारमा एक भाइ र एक बहिनी
छन्। 'पूजा, दुवै ममता र नितु मिल्ने साथी हुन्। जाँ गए
नि सँगै जाने', पुष्करले भने, 'त्यसैले मर्न पनि सबै तयार
भएका होलान्।' पाँचैजना एकदमै मिल्ने साथी हुन्,
उसले लहैलहैमा लागेर हामफालिछ', ममताका दाजु
पंकजले भने।
पास भएकी बहिनीले महाकालीमा हामफालेपछि
आमा बेहोस भइरहेको पंकजले बताए। उनीहरूका बुबा
कामका लागि भारतमा छन्। पंकज पनि सोही
विद्यालयमा कक्षा ८ मा पढ्छन्। सोमबार उनको
पनि रिजल्ट थियो। 'मलाई पनि तीन विषय
लागेको छ, बहिनीको रिजल्ट के भयो भनेर खोज्दा त
भेटिनँ, अनि घर जानेबित्तिकै नदीमा हामफालेको
खबर पाएँ', पंकजले भने। उनले ममताले ५० प्रतिशतभन्दा
बढी अंक ल्याएको जानकारी दिए। विद्यालयका
प्रधानाध्यापक राजेन्द्रसिंह सामन्तले घटनालगत्तै
टेलिफोन स्विच अफ गरेका छन्।
नदीमा हामफालेका चारैजनाको शव भारतीय
सीमामा फेला परेको प्रहरी चौकी दत्तुले जनाएको
छ। दत्तु गाउँमा यो घटनाले रुवाबासी चलेको छ।
गाउँका कमाउने पुरुष भारत गएका छन् भने
बालबालिका र केटाकेटीमात्रै गाउँमा भएकाले
उनीहरूलाई ढाडस दिनेहरूको पनि कमी भएको
गाउँमा पुगेका प्रहरी सहायक निरीक्षक प्रेमसिंह
भाटले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved