भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं– चीनले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिएको छ। नेपाल भ्रमण रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार कोइरालालाई भेटी भ्रमणको निम्तो दिएका हुन्।
'उहाँले प्रधानमन्त्रीज्युलाई चीन भ्रमणको निम्तो दिनुभयो। प्रधानमन्त्रीज्यूले पनि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो,' प्रधानमन्त्री कोइराला र विदेशमन्त्री यी बीचको भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने।
भेटमा विदेशमन्त्री यीले नेपालमा शान्ति, स्थिरता र एकता कायम रहोस् भनी कामना गरेका थिए। उनले नेपाल अब विकासमा अग्रसर हुनुपर्ने पनि बताएका थिए। नेपालको विकासको लागि चीन जस्तोसुकै सहयोग गर्न पनि तम्तयार रहेको उल्लेख गर्दै उनले नेपालको विकासका लागि ९ वटा क्षेत्र निर्धारण गरेकोसमेत जनाएका थिए।
भेटमा विदेशमन्त्री यीले स्वर्गीय विपी कोइरालाको पनि स्मरण गरेका थिए। विपीलेसंयुक्त राष्ट्रसंघको १५औं महासभामा चीनलाई राष्ट्रसंघमा संलग्न नगरे राष्ट्रसंघले पूर्णता नपाउने धारणा राखेका थिए। त्यसपछि चीनलाई पुनः राष्ट्रसंघको सदस्यता दिइएको थियो। उनले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको बताएका थिए। जवाफमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा चीनले पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिएका थिए।
प्रधानमन्त्रीलाई भेटेपछि विदेशमन्त्री यी राष्ट्रपति रामवरण यादवलाई भेट्न शितल निवास पुगेका थिए। बिहीबार काठमाडौं आएलगत्तै उनी नगरकोट पुगेका थिए। शुक्रबार नगरकोटबाट उनी काठमाडौ आई निजामती अस्पताललाई उपकरण हस्तान्तरण गरेका थिए। उनी शनिबार बंगलादेश प्रस्थान गर्नेछन्।

0 comments:
Post a Comment