भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
‘शरदचन्द्र शाहले एमाले र कांग्रेस, रमेशनाथ पाण्डेले
अन्तर्राष्ट्रिय समुदाय र पशुपतिभक्त महर्जनले समग्र
राजनीति र प्रशासन सम्हाल्ने जिम्मा लिएर माघ
१९ को डिजाइन गरेका थिए’ तत्कालीन
राजा ज्ञानेन्द्रले माघ १९ को कदम
चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र
थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह
दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे
र पशुपतिभक्त महर्जन ।
तर, स्रोतका अनुसार अहिले यी तीनैजनासँग
पूर्वराजाको सम्बन्ध बिग्रिएको छ ।
रिसाएका पूर्वराजालाई मनाउन
उनका पूर्वसल्लाहकारले पटक-पटक प्रयत्न गरे
पनि असफल भएका छन् । शाह, पाण्डे र महर्जनले
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति ‘अनुकूल’
भएको भन्दै राजालाई सत्ता हत्याउन ‘उक्साएका’
थिए, तर परिस्थिति सम्हाल्न उचित सल्लाह दिन
नसकेको भन्दै ज्ञानेन्द्र रिसाएका हुन् ।
पञ्चायतकालमा सूर्यबहादुर थापाबाटै ‘भूमिगत
गिरोह’को उपाधि पाएका शरदचन्द्र शाहले समेत
अहिले ज्ञानेन्द्रलाई भेट्न पाएका छैनन् ।
उनी बहुदलको १५ वर्षपछि ०६१ मा ज्ञानेन्द्रले
सत्ता हातमा लिँदा पनि राजाका सक्रिय
सल्लाहकार थिए ।
राजाको प्रत्यक्ष शासनकालमा सबैभन्दा निकट
रहेका शरदचन्द्र शाहले पूर्वराजालाई चार
महिनादेखि भेट्न खोजेका छन्, तर सकेका छैनन् ।
स्रोतका अनुसार शाहले पूर्वराजालाई भेट्न
दरबारका पूर्वसचिवहरू सागर तिमिल्सिना,
फणि पाठक र मधु तिमिल्सिनामार्फत पटक-पटक
‘बिन्ती जाहेर’ गरेका छन् । तर, समय पाउन
सकेका छैनन् । स्रोतका अनुसार राजाले
सत्ता हातमा लिएका वेला परराष्ट्रमन्त्रीको
जिम्मेवारी पाएका डा. रमेशनाथ पाण्डे र
पशुपतिभक्त महर्जनलाई पनि पूर्वराजाले भेट
दिएका छैनन् । उनीहरूले गलत सल्लाह दिएकाले आफू
फसेको भन्दै ज्ञानेन्द्र रिसाएका छन् ।
मुख्यतः तीन सल्लाहकारको विश्वासमा परेर आफूले
माघ १९ को कदम चाले
पनि अप्ठ्यारो परेपछि सल्लाहाकारहरूले केही गर्न
नसकेको र राजसंस्थासमेत विघटन भएको भन्दै ज्ञानेन्द्र
रिसाएका हुन् । ‘त्यसैले उनी माघ १९
को कदममा प्रत्यक्ष या परोक्ष रूपमा सघाउने
सल्लाहकारहरूसँग टाढै बस्न चाहन्छन्,’
स्रोतको दाबी छ । त्यति मात्र होइन,
राजाको प्रत्यक्ष शासनकालका दुईजना उपाध्यक्ष
तुलसी गिरी र कीर्तिनिधि विष्टलाई
पनि पूर्वराजाले भेट्ने समय दिएका छैनन् ।
राजाको प्रत्यक्ष
शासनकालमा परराष्ट्रमन्त्री भएका रमेशनाथ
पाण्डेसँग पनि पूर्वराजाको भेटघाट भएको छैन । बरु
सत्ता हातमा लिनु हुदैन भनेर सल्लाह दिने
प्रभाकरशमशेर राणासँग भने पूर्वराजाको सम्बन्ध
अहिले बढेको छ । राजाको प्रत्यक्ष शासनमा भने
प्रभाकरका कुरा पूर्वराजाले सुन्दैनथे । अझ
प्रभाकारका छोरा सिद्धार्थ राणा र पारसबीच
झगडा भएपछि सम्बन्ध अझै चिसिएको थियो ।
स्रोतका अनुसार माघ १९
को कदमको विषयमा राजा ज्ञानेन्द्रबाहेक शाह,
पाण्डे र महर्जनबीच मात्र छलफल भएको थियो ।
त्यतिखेर पाण्डेले अन्तर्राष्ट्रिय समर्थन मिलाउने
जिम्मा लिएका थिए ।
राजाका दोस्रो सल्लाहकार शरदचन्द्र शाहले
राजाले सत्ता हातमा लिएपछि आन्तरिक
राजनीति मिलाउने जिम्मा लिएका थिए ।
स्रोतका अनुसार शाहले एमाले नेता वामदेव गौतम र
केपी ओलीलाई मात्र होइन,
सुजाता कोइरालामार्फत गिरिजाप्रसाद
कोइरालासँग सम्पर्क गरिसकेको दाबी गर्दै
राजालाई अघि बढ्न सुझाब दिएका थिए ।
अर्का सल्लाहकार पशुपतिभक्त महर्जन
पूर्वराजाका मुख्यसचिव पनि थिए । उनले
पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
परिस्थिति राजाको पक्षमा भएको भन्दै
शक्ति हत्याउन सुझाब दिएको स्रोतको दाबी छ ।
ज्ञानेन्द्रले
शक्ति हातमा लिँदा नेपालमा अमेरिकी राजदूत
थिए- जेम्स एफ मोरियार्टी । महर्जनले
मोरियार्टीसँग समेत कुरा मिलाउनेमा तत्कालीन
राजालाई विश्वस्त बनाएका थिए ।
मोरियार्टीले त्यतिवेला भाषणमा भनेका थिए, ‘घर
जलिरहेको छ तर पार्टीहरू मास्टरबेडमा को बस्ने भन्ने
होडबाजी गरिरहेका छन् ।’
मोरियार्टी र
उनको अमेरिका नेपालका राजनीतिक दलसँग दिक्क
भइसके, यही वेला हो ठोक्ने भन्दै सल्लाहकारले
ज्ञानेन्द्रलाई शक्ति हत्याउन सुझाब दिएका थिए ।
हुन पनि राजाले माघ १९ को कदम चालेकै दिन
दिउँसो १२ बजे केही विदेशी राजदूतहरू
बेलायती राजदूतको निवासमा बैठक बसे, तर उनीहरूले
माघ १९ को कदमलाई न समर्थन गरे न खुलेर विरोध नै ।
तत्कालीन राजाले कदम चालेपछि शरदचन्द्र शाह
‘लाइन मिलाउन’ भारत गएका थिए ।
स्रोतका अनुसार उनले भाजपा नेता लालकृष्ण
आडवाणीसँग पनि भेट गरे । ‘तर, शाह आफैंले
रक्सी खाएर आडवाणीसँग भेट गरेकाले
राजाको कदमबारे राम्ररी डिल गर्न
नसकेको रिपोर्ट तत्कालै राजासँग आयो । तर,
त्यो पूर्वराजाले शाहलाई माफ गरे,’ स्रोतले
भन्यो । तर, त्यही दिनदेखि ज्ञानेन्द्र र
भारतको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । त्यसो त
शरदचन्द्र शाहकै सिफारिसमा बेंग्लोरबाट डा.
तुलसी गिरीलाई झिकाएर उपाध्यक्ष
बनाइएको हो । माघ १९ को कदम
चाल्नुभन्दा केही महिनाअघि गिरीलाई सुटुक्क
बोलाई राजासँग भेट गराइएको थियो,
भेटको कार्यक्रम पनि शाहले नै मिलाएका थिए ।
तुलसी गिरीलाई उपाध्यक्ष बनाएपछि म आफैं बद्नाम
भएँ, स्रोतका अनुसार ज्ञानेन्द्र अहिले भन्दै छन् ।
राजाका मन्त्रीहरूमा टंक ढकाल, भरतबहादुर
जिसीलगायतका आधाभन्दा बढी मन्त्रीहरू शाहकै
सिफारिसमा नियुक्त भएका थिए । तर,
ती नियुक्तहरू राजासंस्था जोगाउने र राजालाई
लोकप्रिय बनाउनेभन्दा पनि आफ्नै स्वार्थमा केन्द्रित
भएको विश्लेषण ज्ञानेन्द्रले गरेको स्रोतको दाबी छ
। तर, शाह र पाण्डे दुवै आफू राजाको सल्लाहकार
नभएको दाबी गर्छन् । ‘म राजाको सल्लाहकार
कहिल्यै भइनँ । लोकेन्द्रबहादुर चन्द
प्रधानमन्त्री भएको वेला प्रधानमन्त्रीको सल्लाहकार
थिएँ । माघ १९ पछि सूचना आयोगको अध्यक्ष मात्र
थिएँ । राजासँग अहिले तपाईंको भेटघाट हुन्छ
कि हुँदैन भन्ने जिज्ञासामा शाहले भने,
‘राजासँगको मेरो सम्बन्धबारे म मिडियासँग
बोल्दिनँ ।’
तर, रमेशनाथ पाण्डेले भने अचेल पूर्वराजासँग आफ्नो भेट
नभएको स्विकारे । ‘-पूर्वराजासँग) आजभोलि भेट
हुँदैन,’ उनले दाबी गरे, ‘तर त्यो कदम -माघ १९ को) बारे
पनि मलाई थाहा थिएन ।’ तत्कालीन
राजाको कदम किन असफल भयो भन्ने
प्रश्नमा उनको जवाफ थियो,
‘यसको जिम्मा इतिहासलाई छोडौँ ।
राजाको शासनकालका मुख्य हर्ताकर्ता पशुपतिभक्त
महर्जन भने कहिलेकाहीँ नागार्जुन र निर्मलनिवास
जान्छन् । तर, उनी आफैंले पनि समय पाउन
पूर्वराजाका पूर्वसचिव सागर तिमिल्सिना, मधु
तिमिल्सिना र फणि पाठकलाई फोन गर्नुपर्छ ।
उनीहरूले समय मिलाइदिए मात्र महर्जनले
ज्ञानेन्द्रको ‘दर्शनभेट’ पाउँछन् ।
तर, पाठक र तिमिल्सिना बन्धुसँग भने
पूर्वराजाको अहिले पनि राम्रै सम्बन्ध छ । सागर
तिमिल्सिना त पूर्वराजा भारत जाँदा सँगै थिए ।
यसैगरी पूर्वसैनिकसचिव शान्तकुमार मल्ल, मानार्थ
एडिसी भरतकेशर सिंह तथा पूर्वरानी कोमलका दाजु
सुरजशमशेर राणा र डिबी राणासँग अहिले
पनि पूर्वराजाको नियमित भेटघाट हुने
गरेको स्रोतको दाबी छ । भरतकेशर सिंह त
पूर्वराजासँग भेटघाट भइरहेको बताउँछन् । ‘म
सल्लाहकार त होइन, तर नियमित भेटघाट हुन्छ,’ उनले
भने । यसैगरी राजाको पालामा केशरजंग
रायमाझी पनि निकट मानिन्थे । उनको निधन
भइसकेको छ ।
0 comments:
Post a Comment