Home » » विदेसिने क्रम र रेमिट्यान्स बढ्ने.....

विदेसिने क्रम र रेमिट्यान्स बढ्ने.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : भूकम्पले वैदेशिक रोजगारी र यसबाट मुलुक
भित्रिने रेमिट्यान्समा अल्पकालका लागि
नकारात्मक असर पुगेपनि दीर्घकालमा भने बढ्ने
देखिएको छ।
विनाशकारी भूकम्प गएको वैशाख १२ देखि जेठ २
सम्ममा कामको खोजीमा विदेसिने कामदारको
संख्या ह्वात्तै घटेको छ। तर, यो क्रम एकदुई महिनासम्म
मात्र रहने म्यानपावर व्यवसायी र अर्थविद्ले
बताएका छन्।
भूकम्पले बेस्सरी प्रभावित जिल्लाबाट विदेसिएका
कामदारले आफ्नो घरमा विगतमा भन्दा बढी रकम
पठाउनुपर्ने दबाब पर्नेछ भने आन्तरिक बजारमा
रोजगारीका पर्याप्त अवसर नभएकाले घरबारविहीन
भएकालाई कमाइ गर्न विदेश जानुपर्ने बाध्यतासमेत
पर्ने हुन्छ। यी कारणले आगामी वर्ष मुलुक भित्रिने
रेमिट्यान्स र विदेश जाने कामदार दुवैको संख्यामा
वृद्धि हुने अवस्था आउँनेछ।
अर्थविद् केशब आचार्य भूकम्पले प्रभावित भएका
जिल्लाका युवालाई वैदेशिक रोजगारमा जान र
गइसकेकालाई विगतमा भन्दा अझ बढी रकम घर
पठाउनुपर्ने बाध्यता हुने बताउँछन्। 'तत्काल कामदार
जानेक्रम कम भएकाले रेमिट्यान्स भित्रिनेक्रममा कमी
आए पनि दीर्घकालमा बढ्छ,' उनले भने। अमेरिकी
डलरको भाउ बढ्दोक्रममा रहेकाले पनि रेमिट्यान्स
कमाई थप बढ्ने उनको ठम्याईं छ।
आन्तरिक उत्पादन वृद्धि हुन नसकेको अवस्थामा
वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको
रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान बनाउँदै
आएको छ। कुल ग्राहस्थ्य उत्पादनमा रेमिट्यान्सको
योगदान २२ देखि २५ प्रतिशतका बीचमा रहेको छ।
यसको योगदान घटेमा अर्थव्यवस्थामै असर पर्ने गर्छ।
दीर्घकालका लागि वैदेशिक रोजगारीमा युवा
पठाउनु उपयुक्त नभए पनि सरकारले रोजगारी दिन
नसक्दासम्म अर्को विक ल्प पनि छैन।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ
महिनामा कुल तीन खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स
भित्रिएको छ। भित्रिने कुल रेमिट्यान्स बढे पनि
वृद्धिदर भने भूकम्पअघि नै घट्दोक्रममा रहेको छ।
गत आर्थिक वर्ष ३४.१ प्रतिशतले रेमिट्यान्स बढेको
थियो भने यस आवको आठ महिनामा यो वृद्धिदर
जम्मा चार प्रतिशतमात्र छ। भूकम्पको प्रभावले
विदेशमा रहेकालाई आगामी वर्ष धेरै रकम पठाउनुपर्ने
भएकाले वृद्धिदर आगामी वर्ष बढ्ने अनुमान छ।
रेमिट कम्पनीहरूका अनुसार भूकम्पपछि रेमिट्यान्स
भित्रिनेक्रम बढेको छ। तत्काल घरमा आवश्यक रकमको
जोहो गर्नका लागि उनीहरूले सापटी गरेर भए पनि
धेरै रेमिट्यान्स पठाएका म्यान व्यवसायी बताउँछन्।
कामदारको घरमा जनधनको क्षति भएकाले उनीहरूले
यो बेला बढी रेमिट्यान्स पठाएका रेमिट
कम्पनीहरूको बुझाइ छ।
सरकारले पुननिर्माणका काम अघि बढाइ अधिक
युवालाई आन्तरिक बजारमा रोजगारी दिन
विदेसिनेक्रम कमी हुनसक्ने भए पनि सरकारको
अहिलेको तयारी हेर्दा सरकारले धेरै युवालाई
रोजगारी दिन्छ भनेर विश्वास गरिहाल्ने अवस्था
नरहेको अर्थविद् आचार्यले बताए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका
पूर्वउपाध्यक्ष टंकबहादुर राउत भूकम्पका कारण वैदेशिक
रोजगारीमा जाने कामदारको संख्या आगामी
दसैंसम्ममात्रै घट्ने बताउँछन्। 'भूकम्पले ग्रामीण क्षेत्रमा
ठूलो धनजनको क्षति पु:याएकाले दीर्घकालमा भने
वैदेशिक रोजगारीमा जानेक्रम थप बढ्ने देखिन्छ,' उनले
भने।
सामान्य अवस्थामा दैनिक औसतमा १५ सयदेखि १६
सय जना कामको खोजीमा विदेसिने गर्छन्। वैशाख
१२ यता यो दर औसतमा पाँच सय भन्दा कम छ। हाल
सरकारी अनुमति लिएर विदेसिनेको संख्या ३५ लाख
नाघिसकेको छ।
भूकम्पका कारण तत्काल भने विदेसिनेक्रम निकै घटेको
छ। गत वर्ष वैशाख १२ देखि जेठ २ को तुलनामा यस
वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने
नेपाली कामदारको संख्या १९ हजार तीन सय ५४
जनाले घटेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष यस
अवधिमा कुल ३४ हजार सात सय ९६ जना कामको
खोजीमा विदेसिएकामा यो वर्ष सोही अवधिमा
जम्मा १५ हजार चार सय ४२ जनामात्र गएका छन्।
भूकम्पले बढी प्रभावित भएका जिल्लाबाट यतिबेला
श्रम स्वीकृति लिनेक्रम अझ अत्यन्त न्यून देखिएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved