भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बार्सिलोना । देश छोडेर प्रवास आएका हामी
नेपालीहरु बर्षमा एकपटक नेपाल फर्कँदा धेरै ठूलो गर्व
गर्छौं । कतिपय २ बर्षमा एकपटक, कति त पाँच वा दश
बर्षसम्म पनि घर फर्किँदैनन् । कारण फरक फरक छन्, धेरै
जसो नेपालीहरु अमेरिका, युरोप वा अन्य यस्तै
मुलुकहरुमा बैधानिक रुपमा रहन पाउने आधार नभएसम्म,
लामो समय घर फर्केका हुँदैनन् ।
कतिपय घर परिवारको साथमा नै बिदेशमा रहेकाले
वा व्यापार ब्यवसाय, कामको मायाले पनि
मातृभूमिलाई चटक्कै बिर्सेकाहरु पनि प्रशस्तै भेटिन्छन्
। बर्ष भरी करिब १ महिना कामबाट मिल्ने छुट्टि,
नेपाल पुग्दा, टिकट पनि खर्च, किनमेल गर्न झन्झट भन्दै
युरोप टुर गर्ने युरोपका नेपालीहरुको जमात पनि यहाँ
बाक्लै भेटिन्छ ।
नेपालीहरु विदेश आएपछि बिदेशी बन्न खोजे पनि
स्पेनका एक नागरिक लुईस बेल्बिस भने नेपालीहरुलाई
मात्र हैन संसारलाई नै चकित पार्दै १ सय १६ पटकसम्म
नेपालको भ्रमण गरेका छन् । ३७ बर्षको अवधिमा यति
धेरैपटक नेपाल भ्रमण गरेका र नेपालीलाई सहयोग
गरेका उनले जीवनको उत्तरार्ध नेपालमै बिताउने इच्छा
व्यक्त गरेका छन् ।
नेपाललाई दोस्रो घर मान्ने बेल्बिस बर्षको ३ पटक
भन्दा बढी नेपाल भ्रमण गरेको आँकडा छ । बेल्बिसले
नेपाल र नेपालीहरु प्रति कति माया र स्नेह कति धेरै
गर्छन् भन्ने जवाफ उनको १ सय १६ औं पटकको यात्राले
गतिलोसँग दिएको छ ।
बेल्बिसको पहिलो नेपाल भ्रमण
६२ बर्ष उमेरका स्पेनिस कातालान नागरिक बेल्बिसले
सन् १९७८ मा पहिलोपटक नेपाल भ्रमण गरेका थिए ।
एकपटक नेपाल पुग्ने बित्तिकै उनले नेपालको प्राकृतिक
वातावरणले आफूलाई मोहित पारेको बताउँछन् । यस्तै
सन् १९८२, १९८८ र १९९३ मा बेल्बिस आफू मात्र हैन स्पेन,
न्युजिल्याण्ड, क्यानाडा र अष्ट्रियाका पर्यटकहरुसँग
नेपाल घुमे ।
टोली नेता बन्दै बिश्वको सर्बोच्च शिखर
सगरमाथामा पनि पर्यटकहरु लिएर गए उनी । बेल्बिस
आफू भने ७ हजार ५ सय मिटर उचाईसम्म मात्र पुगेको
बताउँछन् । सगरमाथा आरोहण गर्दा वरपर फोहोर
देखेपछि उनले सन् १९९३ बाट सगरमाथा सफाइ अभियान
शुरु गरेको समेत स्मरण गरे ।
३० बर्षदेखि नेपाली अवैतानिक वाणिज्य दूत
नेपाल ओहोर दोहोर गर्दै गर्दा बेल्बिसका थुप्रै
नेपाली साथीहरु बन्दै गए । स्पेन र नेपालबीच कुनै पनि
किसिमको सम्बन्ध स्थापित नभएकाबेला बेल्बिसलाई
उनका नेपाली साथीहरुले नेपालको हितमा काम गर्न
सल्लाह दिए । नेपालमा वीरेन्द्र विरक्रिम शाह
राजा हुँदा तत्कालीन श्री ५ को सरकारले स्पेनमा
नेपाली अवैतानिक वाणिज्य दूतको रुपमा काम गर्न
बेल्बिसलाई कागजपत्र उपलब्ध गराएको थियो ।
आफ्ना नेपाली साथीहरु कै सहयोग र सुझावमा सन्
१९८५ देखि वाणिज्य दूतको रुपमा काम शुरु गरेको
बेल्बिस सुनाउँछन् । नेपाली समुदाय माझ ३० बर्ष
लामो सेवा गरिसकेका बेल्बिस अझै पनि वाणिज्य
दूतको रुपमा नै कार्यरत छन् । उनले हजारौंको
संख्यामा स्पेन लगायत युरोपबाट पर्यटकहरु नेपाल
भित्राउन सहयोग पुर्याएका छन् ।
सयौंको संख्यामा स्पेनका नागरिकहरुले बिश्वको
सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण
गरिसकेका छन् । उनीहरु नेपालका अन्य अग्ला
हिमालहरु पनि सफलतापूर्वक चढेका छन् । गत जुन ६
तारिक सन् २०१४ मा एनआरएन स्पेनले नेपाल प्रबर्द्धन
साँझ कार्यक्रम राखी हिमाल आरोहण गर्ने
स्पेनिसहरुलाई सम्मान समेत गरेको थियो ।
हरेक वाक्यमा नेपाली ठाउँ र नेपाली नाम
बेल्बिसको बिशेष अन्तरवार्ता लिन उनकै
कार्यकक्षमा पुगेका अनलाइनकर्मीले नेपालबारे कुनै
पनि प्रश्न राख्दा बेल्बिसको उत्तरमा नेपाली
नामहरु र नेपालका ठाउँहरु झुन्डिएको नै हुन्थ्यो । उनले
बिगतका पलहरुलाई सम्झँदै नेपाली साथीहरु नाम
लिइहाल्थे ।
कमै याद गरिने नेपालका कुना कन्दराका ठाउँहरु पनि
उनी कण्ठस्थ सुनाउँदै नेपालकै सम्झना गर्थे । नेपाली
चाडबाड रितिरिवाजबारे पनि प्रशस्त ज्ञान
बटुलेका बेल्बिसलाई नेपालबारे पूर्णरुपमा जानकारी
छ ।
सायदै कमै नेपालीहरुले नेपालबारे यति धेरै चासो
राखेका छन् भन्ने भान बेल्बिससँगको कुराकानीबाट
यकीन हुन्छ । उनले कुराकानी पछि आफ्नो जीवनका
दशकौं पुराना तस्वीरहरु नेपाली मिडियाहरुमा नै
पहिलोपटक अनलाइनखबरलाई उपलब्ध गराएका छन् ।
भूकम्प पछि बेल्बिसको सहयोग
बैशाख १२ गते देशमा विनाशकारी भूकम्प पछि
बेल्बिसको सक्रियता झनै बढ्यो । सार्बजनिक
कार्यक्रमहरुमा बेल्बिस थुप्रै पटक रोए । कतिपटक उनको
बोल्दा बोल्दै गला अबरुद्द भयो । उनको बोली सुनेर
नेपालीहरु त रोए नै स्पेनिसहरु पनि पटक-पटक रोए ।
उनले गैर आवासीय नेपाली संघ स्पेन र यहाँस्थित
नेपाली संघ संस्थाहरु मिलेर रकम संकलन गर्दा खुलेर
सहयोग गरे ।
बार्सिलोनाको रमणीय एवं पर्यटकीय डाँडा
टिबीदाबुमा उनकै पहलमा नेपाल केन्दि्रत महोत्सव
सम्पन्न भयो । महोत्सवमा नेपाली पोशाक,
भेषभूषाको नेपाली साँस्कृतिक पहिचान झल्कने गीत
संगीतहरु प्रस्तुत गरिएको थियो । नेपाल अझै पनि
पर्यटकलाई सुरक्षित छ भन्ने सन्देश महोत्सवमा
सहभागी करिब ७ हजार पर्यटकहरु माझ पुर्याउन
बेल्बिस सफल समेत भए ।
जीवनको उतारार्ध नेपालमै बिताउने इच्छा
लामो समयदेखि नेपाल र नेपालीहरुको सहयोग गर्दै
आएका बेल्बिस जीवनको उतारार्ध नेपालमा नै
गुजार्न ईच्छुक छन् । तर उनको नेपाल सरकारप्रति एउटा
गुनासो छ । त्यो के हो भने नेपाल सरकारले १ सय १६
पटक नेपाल भ्रमण गरिसकेका र ३० बर्षदेखि
नेपालीहरुको हितमा काम गर्दै आएका बेल्बिस र अन्य
पर्यटकहरुबीच कुनै अन्तर देखेन ।
नेपालमा रहनका लागि बिदेशीको हकमा नेपाल
सरकारले एकपटकमा ५ महिनासम्म भिसा प्रदान गर्दै
आएको छ । उनलाई नेपाल बस्न सक्ने बिशेष ब्यबस्थाको
पहल यसअघि पेरिसस्थित नेपाली दुतावासले
गरिदिएको थियो । फ्रान्सका लागि तत्कालानी
नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले परराष्ट्र
मन्त्रालयमा कुरा राखेका थिए तर कुनै सुनुवाई भएन ।
बेल्बिसले अनलाइनखबरसँग भने, ‘नेपाल मेरो दोस्रो घर
हो जति चाहे उति नै बस्न पाऊँ ।’
0 comments:
Post a Comment