Home » » फाइनलमा पुगेर इतिहास रच्ने दाउमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका....

फाइनलमा पुगेर इतिहास रच्ने दाउमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अकल्यान्ड : चालू विश्वकप क्रिकेटको मंगलबार हुने
पहिलो सेमिफाइनलमा आयोजकमध्येको एक
न्युजिल्यान्डले बलियो दक्षिण अफ्रिकासँग
भिडिरहेको छ। दक्षिण अफ्रिका टस जितेर
ब्याटिङमा उत्रिएको छ भने न्युजिल्यान्ड बलिङ
गरिरहेको छ। दुवै टोली हालसम्म विश्वकपको
सेमिफाइनलमा पुग्न सकेका छैनन्। त्यसैले जुन टिमले जिते
पनि त्यो ऐतिहासिक हुने छ।

हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक र दक्षिण
अफ्रिकाले तीनपटक सेमिफाइनलको यात्रा तय
गरेका छन्। तर फाइनलमा पुग्न भने यी दुवै टोली असफल
भएका छन्।
न्युजिल्यान्डका प्रशिक्षक माइक हेसन दुवै टोली
बलियो भएकाले यसै अनुमान गर्न नसिकने दाबी गर्छन्।
उनले दुवै टोलीले उत्कृष्ट क्रिकेट खेलिरहेको पनि
बताए। न्युजिल्यान्ड जारी विश्वकपमा हालसम्म
आफूले खेलेका सबै खेल जित्ने दुईमध्ये एक टोली हो।
न्युजिल्यान्डले पाँच खेल दोस्रो ब्याटिङ गरेर
जित्यो भने दुई खेलको नतिजालाई पहिला ब्याटिङ
गरेर आफ्नो पक्षमा पार्यो। विश्वकपको पहिलो
संस्करणमै सेमिफाइनलसम्म पुगेको न्युजिल्यान्ड फाइनल
पुग्नका लागि भएको भिडन्तमा भने वेस्ट इन्डिजसँग
पहिला ब्याटिङ गर्दै एक सय ५८ रनमा समेटियो र
पछि पाँच विकेटले पराजित भएको थियो।
लगत्तै अर्को संस्करणमा पनि सेमिफाइनलमा पुगेको
न्युजिल्यान्ड फाइनल भने पुग्न सकेन। सेमिफाइनलमा
वेस्टइन्डिजसँग दुई सय २२ रनको लक्ष्य पछ्याएको
न्युजिल्यान्ड दुई सय १२ रनमा समेटिएको थियो।
न्युजिल्यान्ड सन् १९९२ को विश्वकपमा पनि
सेमिफाइनलमा पुगेको थियो। त्यति बेला फाइनल
प्रवेशका लागि भएको भिडन्तमा पाकिस्तानलाई
दुई सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको न्युजिल्यान्ड
चार विकेटले पराजित भयो।
यसैगरी सन् १९९९ को विश्वकपमा सेमिफाइनलमा
पुगेको न्युजिल्यान्डले पाकिस्तानलाई दुई सय ४२
रनको लक्ष्य प्रस्तुत गरे पनि नौ विकेटले पराजित
भएको थियो।
त्यसको सात वर्षपछि पुन: विश्वकपको सेमिफाइनल
पुगेको न्युजिल्यान्ड श्रीलंकासँग दुई सय ९० रनको
लक्ष्य पछ्याउने क्रममा ८१ रनले पराजित भयो। सन्
२०११ मा पनि सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड
श्रीलंकासँग दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा
मात्र तीन रनले पराजित भएको थियो।
जारी विश्वकपमा न्युजिल्यान्डका बलर
ब्याट्सम्यानको फर्म कमालको छ। बलरमा ट्रेन्ट
बोल्टले १९, ड्यानियल भेट्टोरीले १५ र टिम साउथीले
१५ विकेट लिएका छन्।
ब्याटिङतर्फ मार्टिन गुप्टिलले दुई शतक र एक अर्धशतक,
ब्रेन्डन म्याककुलुमले तीन अर्धशतक तथा कोरि एन्डर्सन
र केन विलियम्सनले एकएक अर्धशतक बनाएका छन्।
दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्स
आफूहरूमाथि लाग्ने गरेको अभागीको धब्बालाई
हटाउन कटिबद्ध रहेको बताउँछन्। उनले टिममा भएका
केही कमजोरीलाई पनि सेमिफाइनलमा बाहिर आउन
नदिने दाबी गरे।
दक्षिण अफ्रिकाले जारी विश्वकपको
सेमिफाइनलसम्म आइपुग्ने क्रममा पाँच जित र दुई
हारको नतिजा निकालेको छ। जारी विश्वकपमा
दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै चार र
दोस्रो ब्याटिङ गर्दै एक खेल जितेको छ।
दक्षिण अफ्रिकाले दुई खेलमा भने हार बेहोरेको
थियो। ती दुवै खेलमा दक्षिण अफ्रिकाले
विजयलक्ष्य पछ्याएको थियो। रंगभेदपूर्ण नीतिका
कारण लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट
टाढिएको दक्षिण अफ्रिका सन् १९९२ को
विश्वकपमा पहिलो पटक सहभागी भएको थियो।
त्यति बेला दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुगेको
थियो। तर सेमिफाइनल खेलमा इङल्यान्डसँग दुई सय ५३
रनको लक्ष्य पछ्याउने क्रममा २० रनले पराजित भएपछि
फाइनलमा भने पुग्न सकेन।
सन् १९९९ को विश्वकपको सेमिफाइनलमा दक्षिण
अफ्रिका र अस्ट्रेलियाबीचको खेल 'टाई' भएपछि
सुपर सिक्सको प्रदर्शनका आधारमा अस्ट्रेलियालाई
विजेता घोषित गरिएको थियो। सन् २००७ को
विश्वकपमा पनि दक्षिण अफ्रिका सेमिफाइनलसम्म
पुगेको थियो।
त्यति बेला दक्षिण अफ्रिका सेमिफाइनलमा
अस्ट्रेलियासँग पहिला ब्याटिङ गर्दै एक सय ४९ रनमा
समेटियो र सात विकेटले पराजित हुँदै उपाधि
होडबाट बाहिरिएको थियो।
जारी विश्वकपमा दक्षिण अफ्रिकाका एबी डे
भिलियर्सले एक शतक र दुई अर्धशतक, हासिम अम्लाले
एक शतक र एक अर्धशतक, फाफ डु प्लेसिसले एक शतक र दुई
अर्धशतक, डेभिड मिलरले एक शतक र रिली रोसुले दुई
अर्धशतक बनाए। बलिङतर्फ इमरान ताहिरले १५, मोर्ने
मोर्केलले १४ र डेल स्टेनले १० विकेट लिएका छन्।
विश्वकपको पूर्वसन्ध्यामा न्युजिल्यान्डले दक्षिण
अफ्रिकालाई एक सय ३४ रनको फराकिलो अन्तरले
हराएको थियो। अघिल्लो वर्षको अन्त्यमा भएको
एकदिवसीय क्रिकेट शृंखला भने दक्षिण अफ्रिकाले
२-० ले जितेको थियो।
तथ्य र तथ्यांकमा दक्षिण अफ्रिका बलियो छ।
फर्ममा बलियो भएको आयोजक न्युजिल्यान्ड र
दक्षिण अफ्रिकाबीचको खेल रोमाञ्चक हुने सहजै
अनुमान गर्न सकिन्छ।
विश्वकपमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच
हालसम्म ६ वटा खेल भएको छ। तिनमा दक्षिण
अफ्रिकाले चारपटक खेल जितेको छ। न्युजिल्यान्डले
भने केवल दुई खेलमात्र जितेको छ।
सन् १९९२ यता भएको ६१ वटा एकदिवसीय खेलमा पनि
दक्षिण अफ्रिका नै हावी छ। उसले ३६ वटा खेलमा
सफलता पाएको छ।
घरेलु मैदानमा भने न्युजिल्यान्ड कमजोर छैन। हालसम्म
भएको २१ वटा खेलमा दुवै टिमले नौ/नौवटा खेल
जितेका छन्। तीन खेल भने अनिर्णित भएको थियो।
सेमिफाइनल हुने इडन पार्कमा न्युजिल्यान्डको
ट्र्याक रेकर्ड पनि त्यति राम्रो छैन। उसले उक्त
मैदानमा खेलेका ६९ खेलमध्ये ३० वटामा हार भोगेको
छ।
तर इडन पार्कमा विश्वकपमा दोहोरो शतक बनाउने
मार्टिन गुप्टिलको प्रदर्शन भने आकर्षक छ। उनले ६६.८५
को औसतमा रन बनाएका छन्।
सोही मैदानमा उनले दुई शतकसमेत बनाइसकेका छन्।
समग्रमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको
सेमिफाइनल खेल रोमाञ्चक हुने सहजै अनुमान गर्न
सकिन्छ। -एजेन्सी


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved