Home » » मलेसियन नागरिकको नेपाली मन.....

मलेसियन नागरिकको नेपाली मन.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मलेसियाको राजधानी क्वालालम्पुर होस् या
ऐतिहासिक सहर मेलाकामा, जताततै नेपाली
भेटिन्छन्। तर, अधिकांश नेपाली कामदार र
सुरक्षागार्ड । कामदार नेपालीको तुलनामा सुरक्षा
गार्डको अवस्था अलि फरक छ । काम पनि तुलनात्मक
रूपमा सरल देखिन्छ।
मलेसियामा व्यवसाय गरेर बस्ने नेपालीको संख्या
पनि बढ्दो छ। व्यवसायी नेपालीको खोजी
गर्दैजाँदा एउटा नाम आयो- शंकरप्रसाद पौडेल,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्
मलेसियाका अध्यक्ष।
उनलाई नेपाली भाषामै मेल लेखेँ - म तपाईलाई भेट्न
चाहन्छु।
‘म नेपाली भाषा बुझ्दिनँ,’ जवाफ आयो, ‘अंग्रेजीमा
मेल लेख्नु होला।’
* * *
मलेसिया भ्रमणको अन्तिम दिन मार्च ३० तारिख।
बिहानै उनी क्वालालम्पुरस्थित पेट्रोनास ट्विन्स
टावरनजिकै म बसेको होटलमा आई पुगे।
‘म नेपालीमूलको मलेसियन शंकरबहादुर पौडेल,’
परिचयकै क्रममा असजिलो गरी नेपाली भाषामा
उनले भने, ‘म गैरआवासीय नेपाली संघ मलेसियाको
पनि अध्यक्ष। म यहाँको ब्राजिलियन दूताबासमा
ट्रेड अफिसरका रूपमा काम गर्छु।’
यतिबेला म एक नेपालीको कथन सम्झिरहेको छु -
चितवनका आशिष श्रेष्ठ सिंगापुरमा बस्छन्। उनी
व्यापारको सिलसिलामा धेरै देशको भ्रमण
गरिरहन्छन्।
एकदिन उनी ब्राजिलका लागि भिसा लिन
मलेसिया पुगेछन्। क्वालालम्पुरस्थित ब्राजिलियन
दूतावासमा पुग्दा सुरक्षागार्डहरू नेपाली नै थिए।
‘हामी नेपालीको कामचाहिँ यति नै रहेछ’ मनमनै
सोचेर उनी दूतावासको भिसा कक्षमा छिरे।
भिसा कक्षमा एक कन्सुलरले तपाईं ब्राजिल किन
जान चाहनुहुन्छ? भन्दै एकाएक नेपाली भाषामा प्रश्न
गरे । आशिष श्रेष्ठ छक्क परे। यी कान्सुलर तिनै
शंकरबहादुर पौडेल थिए।
आफ्नो परिचय सक्दा नसक्दै उनी भन्न थाले, ‘हेर्नुस्
मलेसियाको विकास। यो बनाउन नेपालीको रगत र
पसिना बगेको छ। हामी नेपालीले नेपाल नै किन
बनाउन सक्दैनौं? हामी अर्काको देश बनाउन सक्छौं
भने आफ्नै देश विकास गर्न किन नसकेको?’
दुई जनामात्रै भएकाले प्रश्न मैलाई थियो सायद। तर
मसँग कुनै जवाफ थिएन। चुपचाप सुनिरहेँ।
उनी एकोहोरो भनिरहे- हेर्नुस् आधिकारिक तथ्यांक
अनुसार मलेसियामा मात्र नेपाली कामदारको
संख्या ८० हजार नाघिसक्यो। अरु पनि कति छन्
कति। के उनीहरूबारे नेपाल सरकारको कुनै जिम्मेवारी
छैन?
नेपालको आर्थिक अवस्थामा विदेशमा गएर काम गर्ने
नेपालीले मनग्गे टेवा पुर्याएका छन्। तर, तिनै नेपाली
दाजुभाइ तथा दिदीबहिनीले विदेशमा गएर पाउने
दु:खबारे सरकार मौन बस्छ; प्रतिक्रियाविहीन हुने
गरेको छ। सरकारले नेपाली कामदारका समस्यालाई
अत्यन्तै गम्भीरतापूर्वक लिएर सम्बन्धित देशसँग
बहुपक्षीय हितबारे सम्झौता गर्नुपर्ने उनी सुझाउँछन्।
‘रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा दिएको छ भने
सरकारले उनीहरूबारे सोच्नु पर्दैन? उनीहरूलाई
अर्काको देशमा काममा पठाउनुपूर्व सरकारले नै
सार्वजनिक सुनुवाइ आयोजना गर्नु पर्छ। अर्काको
देशमा काममा जानुपूर्वका प्राथमिक
जिम्मेवारीबारे सरकारले सचेतना गराउनै पर्छ,’ उनी
भन्छन्, ‘मेरो अनुभवमा त्यो जिम्मेवारी नेपाल
सरकारका तर्फबाट पूरा भएको छैन।’
* * *
शंकरबहादुर पौडेलको पुर्ख्यौली घर गुल्मीको
चन्द्रकोट भए पनि उनी मलेसियामै जन्मे, हुर्के।
शिक्षादीक्षा र बिहेबारी पनि यतै। कर्मभूमि
बनाए, मलेसियालाई नै। अनि धेरैपछि मात्र उनले आफू
गैरआवासीय नेपाली भएको थाहा पाए। त्यसपछि त
हरेक वर्षजस्तै उनी नेपाल आइरहन्छन्।
उनका बुबा करणबहादुर पौडेल कामको खोजीमा सन्
१९४२ मा मलेसिया आइपुगेका थिए, भारतको कलकत्ता
हुँदै पानीजहाज चढेर। उनलाई नेपालबाट मलेसिया
आइपुग्न कम्ति सास्ती भोग्नु परेन। एक महिनाभन्दा
ज्यादा समय लगाएर उनी मलेसिया आइपुगेका थिए।
करनबहादुर क्यामरोन हाइल्यान्ड आएर बसे। यहाँको
स्थानीय सरकार (जेकेआर) मा निर्माणसम्बन्धी काम
गरे। केही वर्षको बसाइपछि उनले गुल्मीकै केटीसँग बिहे
गरे।
करणबहादुर जस्तैले श्रमका लागि नेपालीहरू मलेसिया
आउने क्रमको थालनी गरेका थिए। जुन संख्या
आधिकारिक तथ्यांक अनुसार कम्तिमा ८० हजार छ।
गैरकानुनी रूपमा मलेसियामा बसोबास गर्ने नेपाली
पनि छन्। उनीहरू सबैसँग नेपाली नागरिकता छँदैछ।
एकिन तथ्यांक नभए पनि यसबाहेक मलेसियामा
नेपाली मूलका मलेसियनको संख्या झन्डै एक हजार
पुगेको छ। अधिकांश मलेसियन नेपालीको अवस्था
कामदार नेपालीको तुलनामा राम्रो र जीवनशैली
सुविधासम्पन्न रहेको पौडेल बताउँछन्। केही नेपाली
व्यापार-व्यवसायमा छन्, केही स्थानीय सरकार र
अन्तर्राष्ट्रिय गैरसरकारी निकायमा काम गर्छन्।
* * *
पहिले कामका लागि मलेसिया आउ-जाउ गर्ने
नेपालीलाई मलायाको लाहुरे भनिन्थ्यो। ब्रिटिस
गोरखा सैनिकका रूपमा पनि नेपाली मलाया पुगेका
थिए। तीमध्येका केही यतै बसे घरजम गरेर।
पौडेलका बुबा करणबहादुर सुरुमा क्यामरोन
हाइल्यान्ड आइपुगेका थिए। अहिले पनि उनीहरूको
पुरानो बसोबास त्यही छ। करणबहादुर यहाँ आउँदा
नेपाली ७ जना मात्र थिए।
पौडेल मात्र क्यामरोन हाइल्यान्डबाट राजधानी
क्वालालम्पुर सरेका हुन्। ७३ वर्षीय आमासहित अरु
परिवार अहिले पनि क्यामरोन हाइल्यान्डमै बसेबास
गर्छन्।
राजधानीमै बसोबास गर्ने भए पनि विभिन्न नेपाली
चाडपर्वमा उनी क्यामरोन हाइल्यान्ड पुग्छन्।
धुमधामसँग दसैँ-तिहार मनाउँछन्; आफन्त र मान्यजनसँग
टीका लगाउछन्। तिज मान्छन्; चेलिबेटी बोलाएर दर
खान्छन्। त्यस्तै उस्तै जनैपूर्णिमा पनि मनाउँछन्।
नागरिकता मलेसियाको मए पनि रगत अनि मनका
हिसाबले उनी नेपाली हुन्, पक्का नेपाली। भन्छन्, ‘म
मलेसियन भए पनि मन नेपाली छ, पन नेपाली छ।
अहिले पनि हरेक क्षण मलेसियामा नेपालीका कुनै न
कुनै समस्या आइपर्दा सक्रिय हुन्छन्। नेपाली समाजमा
सक्रिय छन्।’
आपत्बिपतमा परेका नेपालीको उद्धार र सहयोग गर्न
उनीसँगै गैरआवासीय नेपाली संघ, मलेसिया र उनको
सक्रिय सहभागिता हुने गरेको छ।
मलेसियामा हजारौंको संख्यामा नेपाली कामदार
आएका कारण देशका लागि रेमिट्यान्स भित्रिएर
देशको अर्थतन्त्रलाई टेवा पुगेको छ। त्यस्तै ती
नेपालीबाट हामी मलेसियन नेपालीले पनि नेपाली
भाषा, कला, संस्कृति र सभ्यताबारे प्रशस्त सिक्ने
अवसर पाएका छन्। यसबाट समग्रमा मलेसियामा
नेपाली ‘डायस्पोरिक नेसनालिजम्’ प्रभावकारी र
दह्रो बन्दै गएको छ।
‘यसलाई सकारात्मक रूपमा लिएका छौं, किनभने केही
दशकअघिसम्म घरमा श्रीमान्-श्रीमतीबाहेक नेपाली
भाषा बोल्ने कोही पनि हुन्न थिए,’ उनी भन्छन्, ‘आज
मलेसियामा नेपाली कामदारको संख्या बढेका
कारण सबैभन्दा राम्रो हामी नेपाली मूलका
मलेसियनका लागि नेपाली भाषा बोल्न सजिलो
भएको छ। नेपालको कला र संस्कृति मलेसियामा
भित्र्याउन र समृद्ध बनाउन सहज भएको छ।’
मलेसियामा हिन्दू धार्मिक आस्था अनुसारका
मन्दिर बनाउन पनि नेपालीहरू सक्रिय रहेछन्।
क्वालालम्पुरमा प्रख्यात हिन्दू मन्दिरमा नेपाली
दर्शन गर्न आउँदा रहेछन्। बटु केभमा कुमारको मन्दिर
पनि छ।
मेलेसियन नेपालीले आफ्नो घरमा नेपाली भाषालाई
विस्तार गर्दैछन्। भाषा सिक्न कक्षा नै सञ्चालन गर्ने
परिस्थिति बनेको छ। त्यसबाहेक उनीहरूले स्थानीय
मलाया, तमिल, चिनियाँ भाषाका अलावा
आधिकारिक भाषाका रूपमा अंग्रेजी बोल्नैपर्ने हुन्छ।
ती सबैको ज्ञान छ- पौडेल र उनीजस्तै मलेसियन
नेपालीलाई पनि।
उनीहरूको नेपाली बोल्ने लवज बिल्कुलै फरक छ।
अलिअलि बोल्न आए पनि पढ्न र लेख्न समस्या छ।
मलेसियन नेपालीले बोल्ने शब्दहरू भने ठेट हुने रहेछ। उनीहरू
बुबालाई ‘बाउ’ भन्छन् । आमालाई चाहिँ आमा नै
भनेको सुनियो।
पछिल्लो समय उनीहरूबीच आफ्नै भाषा, सभ्यता र
संस्कृति भएकाहरूबीच बिहे गर्ने संस्थागत प्रचलन सुरु
भएको छ। पौडेलको विचारमा यो प्रचलनले
मलेसियामा नेपाली सभ्यता र संस्कृतिको प्रवर्द्धन
भएको छ। उनी आफैँ पनि यही बस्ने नेपाली तारा
कार्कीसँग नेपाली परम्परा अनुसार सिन्दुर पोते गरेरै
बिहे बन्धनमा बाँधिएका हुन्।
उनका दुई छोरी छन्। दुवै छोरीको नेपालीसँगै बिहे
गराउने उनको इच्छा छ । जेठी छोरीको त बिहे तय
पनि भइसकेको छ, नेपाली मूलका मलेसियनसँग ।
नेपाली पत्रकारलाई एकपछि अर्को गरेर भेट्दै जाँदा
उनी भावुक पनि बन्दै थिए, ‘म मलेसियन भए पनि मन
नेपाली नै छ। नेपाल पनि आर्थिक समृद्धिको
दिशामा लम्किएको, समृद्ध भएको र मलेसियनहरू काम
गर्न नेपाल गए रे भनेको सुन्ने इच्छा छ।’
उनी गफिँदै थिए। हाम्रो भ्रमण दल क्वालालम्पुरको
अर्को रमणीय तथा प्रशासनिक केन्द्र पुत्राजय
प्रस्थान गर्ने बेला भइसकेको थियो। हामीहरू उनीसँग
छुट्टियौँ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved