भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, २४ चैत । एकीकृत नेकपा(माओवादी)
नेतृत्वको ३० दलीय मोर्चाले पूर्वघोषित नेपाल
बन्दलगायत आमहड्तालका सम्पूर्ण कार्यक्रमहरु
फिर्ता लिएको छ ।
एमाओवादी संसदीय दलको कार्यालय
सिंहदरबारमा मंगलबार साँझ अबेरसम्म बसेको
मोर्चाको बैठकले बुधबार र बिहीबारको बन्दको
कार्यक्रम फिर्ता लिएको हो ।
सहमतिका आधारमा संविधान जारी गर्न दबाब
दिने उद्देश्यले मोर्चाले मंगलबारसहित तीन दिनको
नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम
सार्वजनिक गरेको थियो ।
एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार
सम्मेलनको आयोजना गरेर एमाओवादी अध्यक्ष
पुष्पकमल दाहालले सत्तारुढ दलले संविधानसभाको
बैठक यही चैत ३० गतेका लागि तय गरेकाले नयाँ
राजनीतिक परिस्थिति देखापरेको तथा
नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट
पनि बन्द फिर्ता लिन आग्रह गरिएकाले
तत्कालका लागि फिर्ता लिइएको जानकारी
दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ
कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिले आज
अध्यक्ष दाहाललाई भेटी बन्दलगायतका कार्यक्रम
फिर्ता लिन आग्रह गरेको थियो ।
सहमतिका आधारमा संविधान जारी गर्ने
विषयमा आफूहरुको सहमति रहेको भन्दै निजी
क्षेत्रका प्रतिनिधिले बन्दलगायतका विरोध
कार्यक्रम फिर्ता लिई आन्दोलनको स्वरुप
परिवर्तन गर्न आग्रह गरेको अध्यक्ष दाहालले
जानकारी दिनुभयो ।
यसैबीच, मोर्चाको बैठकले सोमबार साँझ नेपाल
बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन गर्ने
क्रममा प्रहरी प्रशासनबाट धरपकडबाट सयभन्दा
बढी नेता तथा कार्यकर्ता घाइते भएको
घटनाप्रति आपत्ति जनाएको छ । साथै, सो
घटनामा गम्भीर घाइते भएका १२ मध्ये चार
जनालाई आजै हेलिकोप्टबाट काठमाडौँ
ल्याइएको जानकारी दिइयो ।
मोर्चाले मुलुकका नेपाल बन्दका क्रममा मुलुकका
विभिन्न भागमा पक्राउ परेका आफ्ना नेता तथा
कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्दै
द्विपक्षीय झडपका क्रममा घाइते भएका नेता तथा
कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना
गरेको छ ।
बैठकमा पूर्व घोषित आन्दोलनको समग्र
परिस्थितिको समीक्षा गर्नुका साथै भावी
कार्यक्रमबारे गम्भीर छलफल भएको अध्यक्ष
दाहालले जानकारी दिनुभयो । ३० दलीय
मोर्चाको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै
आजको बैठकमा चुरे भावर राष्ट्रिय पार्टीले समेत
सहभागिता जनाएको छ ।
यस्तै बैठकले सेवा केन्द्र विस्तारपछि उत्पन्न
परिस्थितिलाई लिएर आन्दोलनमा उत्रिएका
रौतहटका जनताको मागलाई समर्थन गर्दै यही चैत
२६ गते मोर्चाका सबै शीर्ष नेता सहभागी भई
सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
आन्दोलनको क्रममा प्रहरी प्रशासनले
स्थानीयमाथि अत्याधिक बल प्रयोग गरेको भन्दै
मोर्चाले आपत्ति प्रकट गरेको छ । यस्तै बैठकले यही
चैत २७ गते मोर्चाको बैठक बसेर आन्दोलनका थप
कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष दाहालले
जानकारी दिनुभयो । सहमतिका आधारमा
संविधान जारी गर्न दबाब दिने उद्देश्यका साथ
नेपाल बन्दलगायत कार्यक्रम घोषणा गरेको
बताएको थियो ।
संविधानका विवादित विषयहरुमा सहमति कायम
हुन नसके प्रक्रियामा गएर टुङ्गो लगाउने सत्तारुढ
दलको अडान र सहमति कायम हुन नसकेको खण्डमा
आन्दोलनको दबाब सिर्जना गरेर सत्तापक्षलाई
सहमतिमा ल्याउने मोर्चाको भनाइबाट संविधान
लेखनको काम लामो समयदेखि प्रभावित हुँदै
आएको छ । रासस
0 comments:
Post a Comment