Home » » भारतलाई माओवादीको चेतावनी, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने होइन’

भारतलाई माओवादीको चेतावनी, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने होइन’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ५ असोज । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कडा अपात्ति जनाएको छ ।

माओवादी अध्यक्ष बैद्यले आज विज्ञप्ति जारी गरेर भारतीय पक्षले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर अभिव्यक्ति दिएकोमा विरोध गर्नुभएको हो । ‘हालै भारतीय विदेश मन्त्रालयले नेपालको संविधान निर्माणको विषयलाई लिई जारी गरेको वक्तव्यको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त वक्तव्यको मूल भाव तथा अन्तर्वस्तु हेर्दा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रकृतिको देखिएकोले त्यसको हाम्रो पार्टी दृढ विरोध एवम् भत्र्सना गर्दछ ।’

‘निश्चय पनि तीन दलका नेताहरूले संविधानसभा–२ बाट घोर जनविरोधी र प्रतिगामी संविधान जारी गरेका छन्’, अध्यक्ष बैद्यले भन्नुभएको छ, ‘संविधानमा किसान–मजदुर लगायतका श्रमजीवी नेपाली जनताको हक र अधिकारलाई निषेध गरिएको मात्र होइन, साढे २ सय वर्ष पूर्वदेखि उत्पीडनमा पारिंदै आइरहेका मधेसी, थारू, जनजाति, दलित, महिला, मुस्लिम लगायतका बहुसङ्ख्यक नेपाली जनताका अधिकारहरूलाई समेत निषेध गरिएको छ र पुरानै सामन्तवादी व्यवस्थाअनुरुपको घोर प्रतिगामी संविधान जारी गरिएको छ ।’

त्यसप्रकारको संविधानको विरोध तथा भण्डाफोर गर्दै सङ्घीय जनगणतन्त्रात्मक संविधान निर्माण र आफ्ना हकअधिकारहरू सुनिश्चित गर्नका लागि जनता आन्दोलनमा उत्रनुको विकल्प नरहेको माओवादीले जनाएको छ ।

यस क्रममा मधेसी, थारू, जनजाति लगायतका नेपाली जनताद्वारा सञ्चालित ती न्यायपूर्ण आन्दोलनहरूप्रति हाम्रो समर्थन र ऐक्यबद्धता रहँदै आएको भन्दै अध्यक्ष बैद्यले फेरि पनि त्यसप्रकारका न्यायपूर्ण आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता रहने उल्लेख गर्नुभएको छ ।

‘परन्तु, नेपालको आन्तरिक मामिलालाई लिएर नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप हुने गरी भारत सरकारबाट कुनै पनि अभिव्यक्ति दिने र गतिविधि गर्ने कार्यहरू नगरियोस् भनी हाम्रो पार्टी जोडदार माग गर्दछ’, नेकपा–माओवादीका अध्यक्ष बैद्यले आफ्नो विज्ञप्तिमा भन्नुभएको छ ।

नेपालको संविधान र नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले हस्तक्षेप गर्न थालेपछि बैद्य माओवादीले कडा आपत्ति जनाएको हो । भारतको राजनीतिक हस्तक्षेपविरुद्ध राजनीतिक दलहरुमध्ये बैद्य माओवादीले पहिलो पटक आपत्ति जनाएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved