भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गोरखा : मसेल–२ रन्याबारीकी इन्दिरा बगाले
८२.६२ प्रतिशत अंकसहित एसएलसी पास गरी
विद्यालयको इतिहासमै रेकर्ड कायम गरिन् । यो खबर
उनको विद्यालय विन्द्रावती उच्च माविमा पुग्यो,
त्यसपछि गाउँभरी फैलियो । इन्दिराले उत्कृष्ट
अंकसहित एसएलसी गरेको खबर घरमा पुग्नेवित्तिके
रुवाबासी सुरु भयो ।
‘उनले डिस्टिङ्सन ल्याएको खबरले आमा मुच्र्छा परेर
रोइन्’ इन्दिराका कान्छाबा कृष्णप्रसादले भने ‘आमा
र अर्की छोरी नै बेहोस भए । बिहानसम्म काम छाडेर
रोइरहेका छन् । विदेशमा रहेको दाजु पनि रोएर काम
गर्न सकेको छैन ।’
यसअघि वैशाख १२ गते पनि उनको घरमा यसरी नै
रुवाबासी भयो । एसएलसी दिएर ब्रिजकोर्श गर्न
काठमाडौं गएकी इन्दिराले बसन्तपुर दरबारमा घुम्न
जाँदा भूकम्पमा परी ज्यान गुमाइन् । दाजु दिदीसँग
वसन्तपुर दरबार घुम्दै गर्दा आएको भूकम्पले दरबारसँगै
उनी, दाजु नवीन बगाले र सरस्वती बगालेको एकै
चिहान बनायो ।
‘नौ दिनपछि मात्र उनीहरुको शव भेटिएको थियो’
उनका छिमेकी विश्व भट्टले भने ‘त्यो घाउ मेटिन
नपाउँदै अहिले फेरि एसएलसीको रिजल्टले फेरि खाटो
उप्कायो । परिवारमा रुवाबासी चलेको छ ।’
अघिल्लो वर्ष त्यही स्कुलबाट प्रेम बयलकोटीले ८१
प्रतिशत ल्याएका थिए । इन्दिराले त्यो रेडर्क
तोडेको प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले बताए ।
उनका अनुसार इन्दिरा पढाइमा निकै तेज थिइन् ।
‘यहाँ कक्षा ६ देखि पढेकी हुन् । निकै अनुशासित, थोरै
बोल्ने, र मिहिनेती थिइन्’ उनले भने ‘कक्षा ८ मा
दोस्रो र नौ मा पहिलो हुँदै गएकी थिइन् ।’
इन्दिरा बगाले (बायातर्फ सेतो टिसर्टमा) आमा र
बहिनीसँग
गरिबीका बाबजुद पनि उनी सानैदेखि मायालु
वातावरणमा हुर्केकी उनले बताए । उनले सातकक्षा
पढ्दादेखि नै डायरी लेख्न थालेकी श्रेष्ठले बताए ।
‘गतवर्ष विशिष्ट श्रेणी ल्याउनेलाई विद्यालयमा
सम्मान गरिएको थियो । यसपटक गर्न पाइएन हामी
शोकमा डुबेका छौं’ उनले भने, ‘विद्यालयमा उनको
फोटो राखिएको छ । त्यसैमा फूलमाला चढाएर
सम्मान गर्यौं ।’
छोरीलाई ठूलो मान्छे बनाउन दश नङ्ग्रा खियाएको
व्यर्थै भयो भन्दै आमा सीताले दुःख ब्यक्त गरिन् ।
‘ठूलो मान्छे बनाउने सपना देखेकी थिएँ । पुरा गर्न
पाइएन, दैवले लग्यो’ सीताले भनिन् ‘छोरीको भविष्य
कस्तो न बनाउला भनेर खाइ नखाई दुःख गरियो । तर,
दैवले चुँडेर लग्यो । छोरी नरहे पनि उनको नाम चलोस् ।
त्यही चाहन्छु ।’

0 comments:
Post a Comment