भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १९ असार । कुञ्जना घिमिरे (सुन्तली)को
कुरा निस्कनेबित्तिकै सीताराम कट्टेल (धुर्मुश)को
कुरा निस्किहाल्छ । नेपाल टेलिभिजनमा एक
दशकभन्दा बढी समयदेखि हिट मेरी बास्सै श्रृंखलाका
श्रीमान्–श्रीमती भएका कारण मात्र यसो भएको
होइन, उनीहरू वास्तविक जीवनका पनि जीवनसाथी
भएकाले सीतारामसँग कुञ्जना जोडिनु अनौठो
होइन । तैपनि जानेर–नजानेर कलाकार सीतारामकी
श्रीमती कुञ्जना भनिएकोमा भने उनको चित्तदुखाइ
छ । यी दुई कलाकारले भूकम्पपीडितका लागि घर बेचेर
भए पनि सहयोग गर्ने समाचार भाइरल भएपछि
वास्तविक कुरा थाहा पाउन कुन्जनासँग समय
लिइएको थियो । अन्तर्वार्ता दिन एक वर्षकी
छोरी च्यापेर कान्तिपुर परिसरमा आइपुगेकी
कुञ्जनाले सुरुमै भनिन्,‘म सीतारामजीसँग विवाह
गर्नुअघि देखिकै कलाकार हुँ । हामीलाई
कलाकारिताले जोडेको हो । त्यसपछि मात्र हामी
श्रीमान्–श्रीमती भएका हौं ।’ महिला
अधिकारको कुरा सुरुमै आएपछि त्यहीँबाट वार्ता
थालनी गर्यो ।
तपाईं कलाकार कुञ्जना घिमिरे कि श्रीमती
सीताराम कट्टेल ?
म घरमा सीतारामकी श्रीमती हुँ । अझ मेरा
श्रीमान् सीतारामजी हुन् भन्दा न्याय होला ।
बाहिर भने म पनि कलाकार, सीतारामजी पनि
कलाकार । बाहिर हामी बराबर हौं । जानेर हो कि
महिलाप्रति न्याय गर्न नसकेर हो, मलाई कलाकार
सीताराम कट्टेलकी श्रीमती भनिन्छ । यसो गर्दा त
मेरो कलाकारिताप्रति न्याय भएन नी ।
तपाईं कलाकार हो भन्ने कुरा कसलाई थाहा छैन र ?
सबैलाई थाहा छ । तैपनि बोल्दा वा लेख्दा मलाई
उहाँकी श्रीमतीका रूपमा चिनाइन्छ । पुरुषप्रधान
समाज भएकाले महिलालाई यसै भन्नुपर्छ भन्ने लागेर हो
कि थाहा नपाएर हो कि सीतारामजीसँग जोड्दा
मेरो छुट्टै अस्तित्व छ भन्ने कुरा बिर्सने गरिन्छ ।
यस्तो कुरा कहिले–कहिले महसुस गर्नुभयो ?
पत्रिकामा हाम्रो समाचार आउँदा पनि धुर्मुसकी
सुन्तली वा यस्तै पदावली प्रयोग गरिन्छ । स्टेज
कार्यक्रममा पनि त्यस्तै भनिन्छ । सरकारले
हामीलाई सफाई दूत नियुक्त गर्यो । सरकारले मलाई
उहाँसरहकै सफाई दूत नियुक्त गरेको हो । बाहिर
आउँदा म दोस्रो दर्जा जस्तै सुनिन्छु वा लेखिन्छु ।
यो मैले विवाहपछि लगातार महसुस गर्दै आएको कुरा
हो ।
सीतारामजी तपाईंभन्दा सिनियर कलाकार,
निर्देशक पनि । त्यही कारणले पो तपाईंको नाम
पछाडि लिइएको हो कि ?
त्यसरी बुझेर लेखिएको होइन । पुरुष मनोविज्ञानका
कारण महिलालाई पछि पारिएको हो । महिला
भनेको पुरुषभन्दा पछिकै प्राणी हो भन्ने भावनाले
गरिएको हो । साँचो कुरा गर्ने हो भने त
सीतारामजी स्पट ब्वाइ हुँदा म नायिका भैसकेकी
कलाकार हुँ । त्यतिबेला मैले रेडियो नेपालमा स्वर
परीक्षा उत्तीर्ण गरेर नाटकमा काम गरिसकेकी
थिएँ । उहाँले मभन्दा अघि कलाकारितामा संघर्ष
गर्नुभयो होला । उहाँको संघर्ष र योगदान मेरोभन्दा
बढी होला । तैपनि बरिष्ठताको कुरा गर्ने हो भने म
बरिष्ठ कलाकार हुँ ।
यसोभन्दा लौ कुञ्जना र सीतारामबीच प्रेम छैन,
केही गडबड हुन लाग्यो भन्ने पर्ला नि ?
(लामो हाँसो) हो, त्यस्तो कुरा पनि उठ्ला ।
त्यस्तो हुँदै होइन । हामीबीच कति प्रेम छ भन्ने कुरा म
कसरी वर्णन गरौं रु म उहाँको प्रेम र हाम्रो
विवाहको कुरा सम्झदा नै भावुक हुन्छु । कति दुख गरेर
उहाँले मलाई फकाउनुभएको छ । उहाँले लगातार ५ वर्ष
इमोसनल ब्ल्याकमेल गरेर मसँग विवाह गर्नुभएको हो ।
उहाँ मेरो घरमा ज्वाइँ होइन, छोरो हुनुभएको छ । मेरो
माइतीमा उहाँको निर्णयलाई अन्तिम मानिन्छ ।
विवाह जति पुरानो हुँदैछ, उति नै हामी गहिरो
प्रेमको अनुभूति गरिरहेका छौं । हाम्रो प्रेम र
सम्बन्धसँग मैले गरेको कुराको कुनै सम्बन्ध छैन । मैले
महिलालाई हाम्रो समाजले किन दोस्रो दर्जामा
राखेर हेर्छ भन्ने कुरा मात्र गरेकी हुँ ।
तपाईंले भर्खरै भन्नुभयो, सीतारामजीले तपाईंको ५
वर्षसम्म पिछा गर्नुभयो । इमोसनल ब्लाकमेल
गर्नुभयो । विवाहपछि उहाँ माइतीमा ज्वाइँ होइन,
छोरा जस्तो हुनुभएको छ ।
यसको अर्थ उहाँको प्रेम धेरै, तपाईंको प्रेम कम देखियो
नि ?
सत्य कुरा के हो भने मैले सुरुमा उहाँलाई त्यो रुपमा
हेरेकी थिइनँ । म त्यो दृश्य सम्झिन्छु, जुन बेला म
हिरोइन भएर मेकअप गरिरहँदा उहाँले मलाई ऐना
देखाइरहनुभएको थियो । यस अर्थमा मनमा कतै
उहाँभन्दा अलिकति भए पनि म बरिष्ठ हुँ भन्ने परेको
हुनसक्छ, तर मैले कहिल्यै जानेर नजानेर त्यस्तो व्यवहार
गरिनँ । उहाँप्रति मैले सधैं साथीको व्यवहार गरें ।
मेरो व्यवहार देखेरै उहाँले मलाई मन पराउनुभएको हो ।
‘मसँग विवाह गरिनौ भने आत्महत्या गर्छु’ समेत
भन्नुभएको हो । सँगै अभिनय गर्नु पर्ने भएकाले उहाँ
बारम्बार मेरो घर पनि जानुहुन्थ्यो । मलाई मात्र
होइन, घरमा पनि उहाँले आफू असल व्यक्ति हो भन्ने
कुरा प्रमाणित गर्न चुक्नुभएन । यसो गर्दै जाँदा मलाई
यो मान्छेसँग जीवन बिताउन सकिन्छ भन्ने लाग्दै
गयो । उहाँले पहिले मन पराउनुभएको हो तर बिस्तारै
म पनि उहाँको मायामा पर्दै गएँ ।
सीतारामजीले जति तपाईंलाई माया गर्नुहुन्छ,
तपाईं पनि उत्तिकै गर्नुहुन्छ ?
विवाहअघि उहाँले धेरै माया गर्नुभएको हो । मलाई
पाउने धेरै प्रयास पनि गर्नुभयो । त्यसैले काठमाडौंमा
उहाँलाई केही पर्दा म साथ दिन्थें । उहाँ झापाबाट
आउनुभएकाले धेरै दु:ख थियो । म यहीँको रैथाने
भएकाले कलाकारितामा संघर्षरत भए पनि आर्थिक
अभाव खासै थिएन । मलाई पाउन उहाँले धेरै प्रयास
गर्दा म उहाँ जति माया गर्दिन कि भन्ने पर्न सक्छ ।
सम्भवतस् उहाँलाई पनि त्यस्तै लाग्दो हो । साँच्चै
भन्ने हो भने विवाहपछि चाहिँ म उहाँलाई धेरै माया
गर्न थालेकी छु । विवाहअघि पनि म उहाँको ऋण
तिर्न, भाइहरूलाई विदेश पठाउन आर्थिक सहयोग
गर्थें । सम्भवतस् त्यो माया नै थियो ।
अहिले सम्झदा तपाईं र सीतारामजीको प्रेम कस्तो
थियो रु प्रेममा जुन तडप, एक्लोपन वा सँगै हुँदाको
आनन्द हुन्छ, त्यो महसुस गर्नुभयो ?
मैले त्यस्तो कुनै अनुभव गर्न पाइनँ । खासमा सधैं सँगै हुँदा
म उहाँलाई मन पराउँछु, माया गर्छु भन्ने कहिल्यै
लाग्दैनथ्यो । तपाईंको सधैंभरिको साथीले म
तिमीसँग विवाह गर्छु, प्रेम गर्छु भन्दा पत्याउनुहुन्छ ?
पक्कै पत्याउनु हुन्न । पत्याए पनि के रमाइलो होला
र ? भनेर टार्नुहुन्छ । मलाई त्यस्तै हुन्थ्यो । मेरो
टिमका सबैले सीतारामले तिमीलाई असाध्यै माया
गर्छ भन्दा मलाई पत्यार लागे पनि त्यति खुसी महसुस
हुँदैनथ्यो । म करियरमै फोकस हुन चाहन्थें । कलाकार
भनेको त्यस्तै त हुन् नी भन्ने खालको कुरा मेरा बारेमा
सुन्नु नपरोस् भन्ने चाहन्थे ।
विवाहपछि तपाईं बुहारी पनि हो ।
सीतारामजीले ससुरालीमा छोरा जस्तो व्यवहार
गरिरहँदा तपाईंले झापामा छोरी जस्तो व्यवहार
गर्न सक्नु भएको छ ?
मेरा तर्फबाट गरेजस्तो लाग्छ । मेरो व्यवहारबाट
उहाँहरू खुसी पनि हुनुहुन्छ, तर तपाईंलाई एउटा प्रश्न
सोध्छु– हाम्रो समाजमा छोरी सुत्केरी भएर माइत
जाँदा आमाले छोरीको खुट्टामा तेल लगाइदिन्छन् ।
के बुहारी सुत्केरी हुँदा सासूले तेल लगाइदिन्छन् ?
अहिलेसम्म सासुले छोरीलाई जस्तै शतप्रतिशत व्यवहार
बुहारीप्रति गर्छन् भन्ने मलाई लाग्दैन ।
एउटै घरमा दुई कलाकार हुँदा धेरै त कामकै कुरा
होला ? माया प्रेम र रोमान्स अपूग भए जस्तो
लाग्दैन ?
धेरै लाग्छ । उहाँले त मलाई माया गर्नुभयो, मन पराउनु
भयो र विवाह पनि गर्नुभयो । मैले त्यो सबै कुरा
महसुस गर्न पाइनँ । जहिले पनि करियरमै फोकस भएँ ।
अहिले पनि कामकै टेन्सन छ । कहिलेकाहीँ म
जिस्किएर भन्छु, अरु ४० वर्षसम्म रोमान्स गर्छन् ।
हामी ४० वर्षपछि फुर्सदले घुमघाम र रमाइलो
गरौंला ।
हनिमुन भन्छन् नि,
त्यस्तो केही योजना बनाउनुभएन ?
कार्यक्रमको सिलसिलामा हामी बाहिर
गैरहन्छौं । त्यसैलाई हामीले हनिमुन ट्रिप मान्ने गरेका
छौं । आयोजकहरूले पनि जिस्किएर लौ, यसैलाई
हनिमुन मान्नुहोला भन्थें, हामी त्यसैमा रमाउँथ्यौं ।
दुवै जना चल्तीको कलाकार, कति पैसा
कमाउनुभयो ?
उहाँ जेठो छोरो, उहाँको काँधमा भाइ–बहिनीको
विवाह, करियरजस्ता धेरै जिम्मेवारी थिए, ऋण
थियो । त्यो सबै तिरियो । अहिले काठमाडौंमा
एउटा अढाइ तल्ले घर बनाएका छौं । खासै ठूलो
प्रगति गर्न सकिएको छैन । बाहिरबाट हेर्दा ठूलो
प्रगति देखिए पनि वास्तविकता त्यस्तो हुँदो रहेनछ ।
त्यो घर पनि भूकम्प पीडितको सहयोगका लागि
बेच्ने घोषणा गर्नुभएको रहेछ । यो साँच्चै हो कि
प्रापोगन्डा मात्र हो ?
यसलाई प्रचार खोजेको नभन्नु होला । हाम्रो नाम
त पहिल्यै छ नि । नाम कमाउन किन यस्तो घोषणा
गर्नुपर्यो । बरु यसले बद्नाम बढी हुन्छ । खासमा कुरा
के भने हामीलाई सरकारले सफाइ दूतमा नियुक्त
गरेपछि सफाईसम्बन्धी रकम जम्मा गर्न अमेरिकाका २६
स्थानमा कार्यक्रम गर्ने निर्णय गर्यौं । भुइँचालो
जाँदा हामीले अमेरिकामा ४ वटा कार्यक्रम सकेका
थियौं । अरु २२ वटा कार्यक्रम गर्न बाँकी नै थियो ।
त्यसबाट १६ लाख ५० हजार जम्मा भएको थियो ।
अचानक भूकम्प गयो । हामीले थप कार्यक्रम गर्न
सकेनौं । बाहिरबाट हेर्दा नेपाल ध्वस्त भएको, केही
बाँकी नरहेको जस्तो भएपछि म रुन मात्र सकिनँ ।
आयोजकको पैसा डुबे पनि हामी जबरजस्ती नेपाल
फर्कियौं । हामीले त्यही जम्मा भएको पैसाले
भूकम्पप्रभावित क्षेत्रमा काम गर्ने निर्णय गर्यौं ।
त्यसमा सगुन डटकम तथा जीवन विज्ञानले थप सहयोग
पुर्याए । ललितपुर, धादिङ, भक्तपुर तथा
काठमाडौंका केही स्थानमा राहत बाँडियो । ५०
वटा ट्वाइलेट बनाइयो । एउटा विद्यालय भवन
बनाइयो । यसरी अघि बढ्दै जाँदा यो अलि–अलि
राहत दिएर केही हुँदैन, गाउँ नै बनाउनुपर्छ भन्ने
लाग्यो ।
त्यसपछि ?
हामीले काभ्रेको पहरी बस्तीको डाँडा गाउँमा
एकिकृत बस्ती निर्माण गर्ने योजना बनायौं ।
हामीलाई सहयोग गर्ने हातहरू धेरै थिए । त्यसैले पनि
हामीले यो आँट गर्यौं । काम सुरु पनि भयो । काम
गर्दै जाँदा त्यो बस्ती बनाउन १ करोड रुपैयाँ लाग्ने
रहेछ । हामीसँग १० लाख मात्र बाँकी थियो । काम
अलपत्र छाड्न मिलेन । गाउँलेहरूलाई सपना
बाँडिसकेका थियौं, पछि हट्न सकिएन । यही बेला
मैले आँट गरेर सीतारामजीलाई भनें, ‘अरूका श्रीमतीले
घर बचाउनुपर्छ भन्छन्, समाजका लागि यो घर बेचौं ।
आधा पैसा समाजसेवामा लगाऔं । आधा पैसाले एकतले
घर बनाऔं । यसो गर्दा हाम्रो बास पनि रहन्छ, गाउँ
पनि बन्छ । यही कुरा बाहिर आएको हो ।
घर बेच्नुभयो त ?
छैन ।
अनी घर नबेची ‘घर बेचेको पैसा गाउँ बनाउन’ भन्ने
समाचार किन दिनुभएको ?
होइन, घर बेचेर भए पनि बस्ती निर्माण गर्छौ भन्ने
कुरा गरेको हो । अहिले पनि घर बिक्री भयो भने
सबैका अघि हामी आधा पैसा त्यो गाउँको
निर्माणमा लगाउँछौं । प्रपोगन्डा गरेको होइन ।
कसैले ऋण दिन्छ भने हामीलाई दिनुहोस्, घर बेचेर
तिर्छौ भन्दा त्यस्तो कुरा बाहिर आएको हो ।
हाम्रो मुख्य उद्देश्य जुनसुकै उपाय लगाएर भए पनि
डाँडा गाउँको काम नरोकियोस् भन्ने हो । यो
समाचार आए पछि केही सहयोग पनि आउन थालेको
छ ।
अहिले आएर अलि भावुक निर्णय गरिएछ भन्ने लाग्दैन ?
हामीले जे लियौं, समाजबाटै लियौं । पैसा पनि
यिनै दर्शकहरूबाट पाएका हौं । गर्नुपर्ने बेलामा चुप
लागेर बस्न मनले मानेन । यसलाई बुझ्नेले सही निर्णय
भन्लान्, कसैले प्रचार भन्लान् । त्यो कुरासँग
हामीलाई मतलब भएन । जसरी पनि गाउँ बन्नुपर्यो ।
हामीले बनाएको गाउँ देखेर अरूले पनि त्यस्तै काम गरून्
भन्ने हिसावले काम गरिएको हो । आखिर मान्छेलाई
बस्न अढाइ तल्ले घर नै किन चाहियो ? एकतले भए
हामीलाई पुगिहाल्छ नि । Source: Hamro
Sandesh

0 comments:
Post a Comment