Home » » तन्त्र सिक्ने नाममा बाललको बलि....

तन्त्र सिक्ने नाममा बाललको बलि....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

परासी: ‘सन्तानमध्ये सबैभन्दा राम्रो यही छोरा
थियो, पापीले घाँटी रेटेर मार्यो,’ छोराको
तस्बिर देखाउँदै शिवमंगल कोहाँरले शनिबार
भक्कानिँदै भने ।
बलिका नाउँमा हत्या गरिएका १० वर्षीय छोरा
जीवनको बोलाउने नाउँ सोनी हो । शिवमंगलका दुई
छोरी र दुई छोरामध्ये सोनी माइला हुन् ।
मजदुर शिवमंगल बुधबार दिउँसो गण्डक नहरमा जाली
बुन्न गएका थिए । सदरमुकाम परासीबाट २२
किलोमिटर पूर्व कुडिया गाविस–४ का उनी घर
आउँदा माइला छोरा जीवनलाई देखेनन् । खेतको काम
सकेर घर आउँदै गरेकी पत्नी निर्मलालाई सोधे, ‘सोनी
कता गयो ? ’
‘यतै होला’, निर्मलाले जबाफ दिइन् । उनी
घरधन्दामा लागिन् । शिवमंगल भने छोराको
खोजीमा लागे । रातिसम्म सोनी नभेटेपछि उनी
छोरा हराएकोमा विश्वस्त भए । गाउँमा
हल्लाखल्ला भयो । भोलिपल्ट बिहान इलाका
प्रहरी कार्यालय बेलाटारीमा खोजतलासको
निवेदन दिए । गाउँले सबै सोनीको खोजीमा लागे ।
कोदाई हरिजनबाहेक घटनामा संलग्न अन्य तीनजना
पनि अरू गाउँलेसँगै सोनीको खोजीमा हिँडे ।
शुक्रबार दिउँसो सोनीको शव घरनजिकै रहेको
झाडीमा भेटियो– घाँटी रेटिएको अवस्थामा ।
कोदाई सोनीलाई खोज्न नगएपछि गाउँलेले
उनीमाथि शंका गरे । त्यसैको आधारमा प्रहरीले
कोदाईसहित अन्य पाँचजनालाई पक्राउ गर्यो ।
त्यसपछि हत्याको रहस्य खुल्यो– सोनीलाई
तान्त्रिक मन्त्र सिक्न बलिको नाउँमा हत्या
गरिएको रहेछ । कोदाईले आफ्नै छोरा विजयलाई
तान्त्रिक विद्या सिकाउन सोनीको हत्या गरेको
खुलेको छ । हत्या गरेका सोनी स्थानीय शिवशंकर
प्राविमा कक्षा ३ मा पढ्थे ।
प्रहरीले कोदाईसहित गंगा हरिजन, रुद्धल हरिजन
सूर्यभान हरिजन र विजय हरिजनलाई पक्राउ गरेको छ
। १८ वर्षीय विजय गाउँमा काठको काम गर्दै आएका
थिए ।
विजयबाहेक अन्य चारजना गाउँमा लामो समयदेखि
झारफुकको काम गर्दै आएका थिए । केही दिनदेखि
बिरामीको बहानामा विजय बर्बराउन थालेका
थिए । कोदाईले आफ्नै छोरा विजयलाई तान्त्रिक
विद्या सिकाउन थालेको गाउँले बताउँछन् ।
कोदाईले छोरा बिरामी भएको र मान्छेको मासु
खाने भन्दै बर्बराउन थालेको गाउँलेलाई बताएको
पीडित शिवमंगलले बताए । तान्त्रिक विद्या सिक्न
मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने कोदाईले
आफूसँगै काम गर्ने अन्य तीन झाँक्रीसँग भने ।
त्यसका लागि सहयोग गरे ५० हजार रुपैयाँ दिने
बताएपछि अरू पनि सोनीलाई बलि चढाउन राजी
भएको प्रहरीसँगको बयानमा उल्लेख छ ।
सोनीलाई घरमा बोलाएर बिस्कुट र अनार दिएर
बलिको नाउँमा कोदाईले हत्या गरेको प्रहरी
अनुसन्धानमा खुलेको छ । गडासा (उखु काट्न प्रयोग
हुने दाउजस्तो हतियार) ले घाँटी रेटेर सोनीको
हत्या गरेको खुलेको छ ।
कोदाईले हत्या गरेको रात ट्वाइलेटमा शव लुकाएर
राखेको र बिहीबार नजिकै रहेको झाडीमा
फालेको बयान अभियुक्तहरूले दिएका छन् ।
सोनीकी आमा निर्मलाले अन्नपूर्णसँग भनिन्,
‘विवाह भएको आठ वर्षसम्म पनि सन्तान नभएपछि
उसैले झारफुक गरेर जेठी छोरी जन्मिएकी थिई ।’
गाउँका सबैले उसको झारफुकमा विश्वास गर्दै आएको
निर्मलाले बताइन् ।
उनले भनिन्, ‘छिमेकी भएकाले राम्रो सम्बन्ध थियो,
यत्रो अपराध गर्यो ।’ हत्यामा संलग्न चारैजना
गाउँमा झारफुकमा प्रख्यात रहेको स्थानीय
सुमावती कोहाँरले बताइन् । अरू ठाउँबाट पनि
उनीहरूसँग झारफुक गराउन आउने उनले बताइन् ।
स्थानीय दिनानाथ कोहाँरका अनुसार चारैजना
धामी (सोखा) हरू एकै ठाउँमा जम्मा भएर बाजा
बजाउँदै पाठ गर्दै आउँथे । गाउँमा कसैलाई बिरामी
भएर सन्चो नभए उनीहरूसँग झारफुक गराउन जाने गरेको
उनले जानकारी दिए ।
प्रहरीले झारफुक गर्ने धामीसहित नौजनालाई पक्राउ
गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी
कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु
पोखरेलले बताए । प्रहरीले शनिबार घटनाका पाँच
अभियुक्त सार्वजनिक गरेको छ ।
बालबालिका त्रसित
धामीहरू मिलेर बालकको हत्या गरेको खबर
फैलिएपछि कुडिया गाउँका बालबालिका त्रसित
छन् । सोखाले साना केटाकेटी मार्ने गरेको भन्दै
उनीहरू घर छाडेर बाहिर निस्कन पनि डराएको
गाउँलेले बताए ।
गाउँमा पहेंलो वस्त्र लगाएका र साधुजस्ता
व्यक्तिलाई देख्नेबित्तिकै बालबालिका दगुरेर
घरभित्र जाने गरेको स्थानीय रामु हरिजनले बताए ।
घटनापछि बालबालिकामा त्रासको वातावरण
देखिएको जिल्ला बालकल्याण समितिका
बालअधिकार अधिृकत रवि गौतमले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved