भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री सुशील
कोइरालाले आन्दोलनरत मधेशवादी दलहरु र थारु
कल्याणकारीसभा तथा थारुहट/थारुवान संयुक्त संघर्ष
समितिलाई पुनःवार्ताको लागि आह्वान
गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनरत संघीय
समाजवादी फोरम, तराई –मधेश लोकतान्त्रिक
पार्टी, सद्भावना पार्टी र तराई–मधेश सद्भावना
पार्टी नेपालका साथै थारु कल्याणकारीसभा तथा
थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट
शनिबार पठाइएको पत्रको जवाफमा आइतबार
पत्रमार्फत सो आह्वान गर्नु भएको हो ।
प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी
फोरम,तराई –मधेश लोकतान्त्रिक पार्टी,सद्भावना
पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपाललाई
पठाउनु भएको पत्रमा सम्वन्धित पार्टीहरुका तर्फबाट
उठाइएका विगतका सम्झौता तथा सहमतिलाई
कार्यान्वयन गर्ने विषयलाई सरकारले यस अघि गरेका
निर्णय र प्रस्तावित संविधानको विधेयकमा
समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर
छलफल गर्न सकिने बताउनु भएको छ ।
उहाँले समेट्नु पर्ने विषयमा सहमति गरी संविधानको
विधेयकमा संशोधन प्रक्रियामा जाँदा अझै पनि
समावेश गर्ने प्रयत्न गर्न सकिन्छ भन्ने विश्वास व्यक्त
गर्दै आपसी सहमतिलाई तत्काल संविधानको
विधेयकमा नै समावेश गरेर संविधान निर्माणको चालु
प्रक्रियालाई परिणाममुखी बनाउन सकिने बताउनु
भएको छ ।
उहाँले यसका लागि संविधान सभाको
प्रक्रियालाई स्थगित गर्दा अनिश्चिय उत्पन्न हुने
पनि बताउनु भएको छ ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनकारी दलहरुबाट
गरिएको मागको सम्बोधन हुन सक्ने संभावना समेतलाई
विचार गरी अबिलम्ब वार्तामा आउन अनुरोध गर्नु
भएको छ ।
पत्रमा प्रधानमन्त्रीले वार्ता र सहमतिमा पुग्ने प्रयत्न
संगै तराई–मधेशमा हिंसा,जनधनको
नोक्सानी,तोडफोड र त्रासको वातावरणमा सुधार
हुने र त्यसपछि सेना र सुरक्षा निकाय सामान्य
जिम्मेवारीमा फर्कने पनि उल्लेख गर्नुभएको छ ।
उहाँले घाइतेहरुको उपचार र क्षतिपूर्तिको विषय
स्वभाविक रुपमै राज्यको जिम्मेवारीभित्र पर्ने
बताउनु भएको छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ, “परिस्थितिलाई
सामान्य बनाउन र संवादको माध्यमबाट समस्या
समाधान गर्न तपाइँहरुको परिपक्व र सुझबूझपूर्ण नेतृत्वले
ठूलो मद्दत पुराउने छ । शान्तिपूर्ण छलफलमाथि
विश्वास गरेर वार्तामा आउन म पुनः एक पटक अनुरोध
गर्दछु ।”
सभा र संयुक्त संघर्ष समितिलाई पनि वार्तामा वस्न
आग्रह
प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारीसभा
तथा थारुहट/थारुवान संयुक्त संघर्ष समितिलाई पनि
आज पुन अर्को पत्र पठाएर वार्ताको लागि आग्रह
गर्नुभएको छ ।
पत्रमा सभा र संयुक्त संघर्ष समितिले चार दलको
उपस्थितिमा वार्ता होस भनी राखेको मागलाई
आफूले चार दलका शीर्ष नेताहरुके सक्रिय सहभागिता
र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि
बढाएको उल्लेख गर्दै भन्नुभएको छ ,“ वार्तालाई
परिणाममुखी बनाउने कुरामा चार दल समान ढंगले
चिन्तित र क्रियाशील रहेका छन्।”
उहाँले वार्ताद्वारा स्थिति सामान्य भए संगै
शान्ति सुरक्षा कायम गर्न चालिएका प्रशासनिक र
सुरक्षा सम्बन्धि विषय सामान्य स्थितिमा फर्कने
पनि विश्वास दिलाउनुभएको छ ।
उहाँले भन्नुभएको छ,“ संवादको माध्यमबाट समस्या
समाधान गर्न र परिस्थितिलाई सामान्य बनाउन
तपाइँको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले मद्दत पुराउनेमा
म विश्वस्त छु ।”
प्रधानमन्त्री कोइरालाले शान्तिपूर्ण छलफलमाथि
विश्वास राख्दै वार्तामा आउनु पुन अनुरोध गर्नुभएको
छ ।
0 comments:
Post a Comment