भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
शिवानी
हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज
गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु,
किन एसेप्ट नगरेको :( ?” लेख्नु भएको रहेछ| कसैको
मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको
कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै
चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने
अधिकार मलाइ फेसबुकले दिएको छ| मान्छेहरु किन
आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन|
फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न
पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो
पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई
खासै वास्ता गरेकी छैन|
अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा
भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको
लागि चलाउछु| गाउँकै दाजु भएको कारणले उहालाई
अर्को एकजना साथि हटाएर भएपनि मैले साथी
बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली
अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध
स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति
राम्री छौ है तिमी त|” मैले केहि प्रतिकृया जनाइन|
साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि
कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र
फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो| पाँच
मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट
दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र
स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो
मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि
“कुरा सहि हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता
पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो| मेरा
तस्वीरहरूमा “आहा! कति राम्री �� ”, “वाउ लुकिंग
सेक्सी �� ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो
रिसको पारो तात्यो|
फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”,
यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट
दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन
कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ
चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो,
यिनले मलाइ चिन्दैनन्| गाउँको हो भन्ने थाह छ तर
कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ
बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको
बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी
छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ
सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे|
यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने
तीनपटक म्यासेन्जरमा कल गरे| मैले दुबैलाई इन्कार गरें|
मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि
नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई
ब्याख्या गर्नेमा व्यस्त रहे| अन्तिममा केहि उपाय
नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल J|”
दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि
लप गरौँ न, आइ लप यु ”
तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो| आखिर के
सम्झिन्छन छोरा मान्छेहरु आफुलाई? कसरि यस्तो
सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ
भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर
जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन? के लाज,
डर, घिन, इज्जत केहि हुन्न यिनको? म सरासर उनको
प्रोफाइलमा गएँ| कतै फेक अकाउन्ट त होइन भन्ने
जिज्ञासाले| तर होइन उनको आफ्नै अकाउन्ट थियो,
उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका
रहेछन| “मेरी गुडिया आइ लप यु” लेखेर| मलाइ यो “आइ
लप यु” शब्दसँग धेरै घिन लाग्यो| मलाइ पनि मेरा
आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको,
स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द
भयो| उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु
भनेका होलान्, मलाइ यस्तै लाग्यो| मैले एकाएक
तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र
फोहोरी सोच भएको राक्षस| तिनलाई उचित
शिक्षा दिने बिचार आयो|
म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि
अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो �� म
बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल
ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन| मेरो रिसको
पारो झन् तातियो| मैले उक्त म्यासेज बक्सको
स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर
हालिदिएँ|
यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो
भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन| धेरै राम्रा पुरुषहरु
पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले
छाँयामा पारेका हुन्छन्| अझैपनि धेरै पुरुषहरु त्यस्ता
छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु,
एकरातको कति लिन्छेस?” “किन भाउ खान्छेस
र#डी?” “बोल्दिनस भने किन अनुरोध स्वीकार
गरिस?” भन्नेजस्ता म्यासेज पठाउछन्| हाम्रो आफ्नै
काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ| सधैं सबैलाई जवाफ
फर्काएर बस्न सकिदैन| फेरी मलाइ यसो भने भनेर
कसलाई सुनाउदै हिड्ने? ब्लक या डिलिट कतिलाई
गर्ने? कतिलाई ति दाजुलाई जस्तो शिक्षा
सिकाउने? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि
नहुने कुरो|
यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर
परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा| तिनीहरु
कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त
फेरी मलेशियामा छन्| तर तिनीहरु कै वालमा हेर्ने हो
भने, देश बिग्रियो, समाज सकियो, संस्कारको
सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्|
समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले
अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन्|
आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य
दुश्मन हुन्| आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न
पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन|
छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर
कोहिपनि मर्द हुँदैन| मर्दले त नारीको इज्जत र रक्षा
गर्छ| अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको
उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश मिनेट
पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले|
सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे
होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो
भएपनि एउटा आदर्श पुरुष हुन्छ|
मेरी एउटी साथी छे, अन्जली| हामी सानैदेखि
गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ|
हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि
बसाइ अलगअलग भयो| पढाइको रुचि अनुसार फरकफरक
कलेज रोजियो| पछिल्लो समय उसले स्नातक सकेर
निजि बैंकमा जागिर खान्थी| म डिग्रीको पढाई
सँगै एउटा निजि कम्पनीमा काम गर्थे| आज बिहान
रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ|
म कामको शिलशिलामा पटनामा भएकोले तत्काल
आउन नसक्ने बताएँ| साथै रुनाको कारणबारे पनि
जिज्ञासा राखें| धेरैबेरको रोदन र मेरो लगातारको
प्रश्नले उसले समस्याको पोको खोली| उसकै बैंकमा
कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ| मनदेखि शुरु
भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ| अन्जली
कथित दलित हो, बिश्वकर्मा| उसको प्रेमी
उपाध्याय बाहुन रहेछ| अहिलेको समयमा कम्तिमा
हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै
दुखलाग्दो कुरा हो| उनीहरुलाई एकअर्काको जातको
बारेमा थाह नभएको पनि होइन| दुबैलाई थाहा भएर
पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे
गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी
टाढियो| अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा
गरेर लगेछ|
आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा
आफ्ना बाआमालाई मनाउन सक्दैन| भोलिको
बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व
तयारी गर्दैन भने उसले पढेको के काम भयो| उसले
हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन र?
अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला
आफुलाई र आफ्नालाई बदलेर देखाउन|
अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो
पहिलो घटना भने होइन| सानैदेखि यस्तो व्यवहार
हुन्थ्यो, हामीले सम्झाउथ्यों| कति बुझ्थी कति
बुझ्दिनथिइ उसैले जानोस्| हामी साथीहरु
एकअर्काको घरमा आउजाउ गर्थ्यौं| झन् केहि बिशेष
पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने| छोरीले कर
गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक
हुन्थ्यो| यसरि अपमानित हुँदापनि उसले कहिल्यै साथ
छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार
पारेकी थिइ|
मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि
पवित्र कार्य हुन्छ| कथित ठुला जातकाले फलफुल
प्रसाद बाहेक अरु खाँदैनन| फलफुल छोइदैन अरु छोइन्छ रे!
दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा
खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे| उनीहरुले
खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र?
दलितको खेतमा फलेको अन्न खान हुने, उसको
धाराको पानि पिउन हुने, छोएको खान नहुने रे! कति
हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु
रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन|
त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका
महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा
पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन्|
उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर
चोखिन्छ्न| सुनपानी र जप गरेर दुरुस्त हुन्छन्| तर
जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र
हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र
समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने
पात्रहरुले दिनुपर्दछ|
म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे
सोच्दैछे| नभएपनि उसलाई यो समाज र यसका
देखावटी रिति रिवाजप्रति रुष्ट छे| जसलाई उसले
आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको
गल्तिको सजायँ दियो| दलितको कोख अन्जलीले
रोजेर पाएकी होइन| न कसैले उपाध्यायको कोख
रोजेर या आफ्नो मिहेनतले पाएको हो| जुन कार्यमा
आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने?
अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि
गाह्रो काम हो| उसलाई एकदिन पक्कै छुवाछुत र
भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस
दियौं| समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही
स्थानमा, उस्तै समस्यामा छौं| अब फेरी त्यहि कुराले
उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन| उसको
नजरमा मेरा कुरा फोस्रा हुनेछन| दशबर्ष अघि एउटी
साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिइ
हामि सबैलाई| मिल्ने साथी भएकोले उसकी दिदी
हामीलाई पनि प्यारो गर्थिन्| अन्जलीले त आउदिन
भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ भनेकी
थिइन्| बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई
बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो
सबै केटीलाई हुन्छ| बेहुलीलाइ सिगार्ने मौका पनि
पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली
राखेको कोठामा पस्यौं| बेहुली हेर्दै मात्रै थियौं
बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन्|
आफ्नो साथीको कोठामा पस्नु उनको अपराध
थियो| भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर
पस्छेस ए कमिनी” भनिन्| तर हामि बाहुनको घरमा
पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु
पसेका थिएनौं| हामि त साथीको घरमा पसेका
साथीहरु थियौं| हजुरआमाले चिन्न सक्नुभएन, निम्तो
गर्ने साथीले रोक्न खोजिन तर उ निरिह भई|
त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका
हामीहरु असाध्यै दुखी भयौं| अन्जलीले बरु सामान्य
बन्ने प्रयास गरि हुनसक्छ यो उसको दैनिकी थियो|
तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो
लाग्यो| बिहेमा आएका धेरै मान्छेहरुका अगाडी
त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने
उसले झन् कसरि सक्थी होला र? अहिले उसले प्रेम
गरेको मान्छे पनि कथित उपल्लो जातीको हो|
शायद उसले प्रेममा प्रेम मात्रै देखि होला, जातभात
देखिन| त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र,
वर्ण र वर्ग हेर्दैन| हेरियो भने त्यो प्रेम हुनैसक्दैन,
सम्झौता हुन्छ|
यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै
छु| भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु| मलाइ
भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको आत्मसम्मान र
हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा
केटि भएर जन्मिनु एउटा अभिसाप हो| झन् ग्रामिण
भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु
अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु
अर्को पाप हो| यी सबैको सजायँ भोगिराखेकी छे
अन्जली| अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ| म
नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त
बोल्नैपर्छ| अन्जली, अब हामीले चुनौती दिनुछ यो
समाजलाई र यसका टाउकेहरुलाई| तिमीहरुले बनाएको
नियम, तिमीहरुले लादेको संस्कार हामीलाई
स्वीकार्य छैन| तिमीहरुले बिना पौरख पाएको
तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर
पाएका होइनन्| जबर्जस्ति लादिएको यो जात
हामि अब त्यागीदिन्छौं| मर्ने बेलामा घिटघिट
हुँदा रगत दिनेको जात कसैले सोध्दैन| दवाई कुन
जातको मान्छेले दियो कसैले खोज्दैन| किनकि त्यो
बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ| अन्जली, यी
सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित
भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ
तर तिमी घरमा पसेको सहदैनन| आफ्नो अभिष्ट पुरा
गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई
सोध्दैन कुन जातकी भनेर| अझ जबर्जस्ति गर्न तम्सिन्छन
ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा गाडिए
जसरि गाडिन्छन् हाम्रो शरीरमा| तर त्यसैलाई
आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे|
यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु
हुँदैन| हुनत अन्जली म पनि तिमीलाई पींडा दिने
पीडक जातको हुँ| मैले पींडा नदिए पनि मेरा
सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु
पींडा दिए| तर अब मलाइ मेरो जातमोह छैन| हो,
मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग,
मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई
फिर्ता दिन्छु| थुक्क मेरो जात! जोवन चल्ने, भोजन
नचल्ने|
0 comments:
Post a Comment