Home » » एमाओवादीको नेतृत्वमा मधेसमा जन्मियो संघीय मधेसी मोर्चा, प्रचण्ड पनि सदस्य केन्द्रमा संविधान निर्माण, मधेसमा आन्दोलन चर्काउँदै प्रचण्ड

एमाओवादीको नेतृत्वमा मधेसमा जन्मियो संघीय मधेसी मोर्चा, प्रचण्ड पनि सदस्य केन्द्रमा संविधान निर्माण, मधेसमा आन्दोलन चर्काउँदै प्रचण्ड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भैरहवा, १४ भदौ । तराई मधेसमा जारी आन्दोलनलाई उचाईमा पुर्याउन भन्दै रुपन्देहीमा संघीय मधेसी मोर्चा गठन भएको छ ।

५ माओवादी घटक मिलेर बनेको संयुक्त मधेसी राष्ट्रिय समिति र अन्य ५ दलको सहभागितामा संघीय मधेसी मोर्चाको गठन भएको मोर्चाका रुपन्देही संयोजक देवेन्द्र पाण्डेय “सागर” ले जनाए ।

मोर्चाको गठन र आगमी कार्यक्रमको बारेमा जानकारी दिन सोमबार सांझ भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक सागरले तराई मधेसका ६५ प्रतिशत जनता अहिले आन्दोलनमा होमिएकोले सरकारले यथोचित मागलाई सम्बोधन नगरे मुलुकमा ठूलो दुघर्टना निम्तिने चेतावनी दिए ।

एमाओवादीका राज्य समिति सदस्य समेत रहेका सागरले संघीय मधेसी मोर्चाको गठनले विगत केही दिनदेखी तराई मधेसमा चल्दै आएको संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनलाई थप बल दिने तर्क गरेका छन् । उनले भने “हाम्रो संघीय मधेसी मोर्चा, संयुक्त मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिसँग मिलेर समग्र मधेस एक प्रदेश निर्माणको लागी आन्दोलन गर्नेछौं ।”

नवगठित मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनका क्रममा मृत्यु भएका सुनिल यादव, दुर्गेश यादव, शैलेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेको छ । यस्तैगरी घाइतेको निशुल्क उपचार तथा भौतिक समानको क्षतिपूर्ती सरकारले दिनुपर्ने, निषेधाज्ञा तुरुन्त हटाउनुपर्ने, नैतिकताका आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र समग्र मधेस एक प्रदेशको निर्माण गर्न सरकारसंग माग समेत गरेको छ ।

मोर्चाले आफूहरुको आन्दोलन कुनै जाति क्षेत्र र धर्मको विरुद्ध नभएर नितान्त संविधानमा तराई मधेसका जनताको हक अधिकारको ग्यारेन्टी सहितको संविधानको लागी भएको मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मोर्चाका जिल्ला संयोजक पाण्डेय र नेपाल सद्भावना पार्टिका रुपन्देही अध्यक्ष हरिश्चन्द्र यादवद्धारा संयुक्त रुपमा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा भनिएको छ “विगतमा विभिन्न आन्दोलनरत पक्ष र तत्कालिन सरकारसंग भएका विभिन्न वार्ता सम्झौताहरु संविधानमा सम्बोधित गर्न गराउन आज आन्दोलनको केन्द्र मधेसमा बनाइएको हो ।”

sangiye morcha press bigaptiमोर्चाले मंगलबारदेखी जिल्लामा आन्दोलनलाई शसक्त बनाउने, हरेक आन्दोलमा एक जना टोली नेता चयन गर्ने, स्वयंसेवक खटाउने, आन्दोलनकारी रुट भन्दा बाहिर नजाने, १६ वर्ष भन्दा कम उमेरकालाई आन्दोलनमा सहभागीता निषेध गरिने, नशालु पदार्थ सेवन गरेकोलाई आन्दोलनमा सहभागी नगराउने, सबै प्रकारका हातहतियार पुर्ण रुपमा निषेध गरिने, निर्धारित नारा भन्दा अन्य नारा नलगाउने गरी आन्दोलनको आचारसंहिता जारी गरिएको मोर्चाको संयोजक पाण्डेले जनाए । उनले भने आचार संहिता विपरित आन्दोलनमा कोही प्रस्तुत भए त्यो घुसपैठीया हुने र त्यस्तालाई स्यंसेवक दस्ताले तुरुन्त नियन्त्रणमा लिई आवश्यक कारबाहि समेत गर्ने जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले समग्र उत्पीडित मधेसी समुदायको उत्थानकोलागी एक मधेस एक प्रदेश आवश्यक रहेको जनाउदै भने “राज्यले एक मधेस एक प्रदेश घोषणा गर्नुपर्दछ बाँकी आवश्यक्ता अनुसार थारु, कोचीला, अवध, मधेसलाई सम्बोधन गर्ने काम संघीय प्रदेशले गर्दछ ।” संविधान सभाका पूर्व सदस्य समेत रहेका उपाध्ययले तराई मधेसका जनतालाई अहिले पनि राज्यले विभेद गरेको भन्दै आक्रोश व्यक्त गर्दै भने “सुर्खेतमा ३ जना मर्दा त्यहांको माग सम्बोधन हुने मधेसमा दर्जनौ मर्दा वेवास्ता गर्ने यो राज्यको विभेदकारी नीतिको पछिल्लो उदाहरण हो । यसैबाट बुझ्न सकिन्छ की राज्य मधेसी समुदायप्रति कस्तो दृष्टिकोण राख्दछ भन्ने ।”

पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टिका जिल्ला अध्यक्ष हरिश्चन्द्र यादवले राज्यले शान्तिपुर्ण आन्दोलनलाइ वेवास्ता गरे निषेधाज्ञा ताडेर कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । नेकपा माओवादीका जिल्ला सदस्य प्रदेशी यादवले मधेसीलाई नजर अन्दाज गरेमा राज्यले ठूलो मूल्य चुकाउनु पर्ने बताए ।

किन संघीय मधेसी मोर्चा ?

sanghiye morcha gathan (4)रुपन्देहीमा गत साउन २७ गतेदेखी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिको नेतृत्वमा आन्दोलन हुदैं आएको छ । शान्तिपुर्ण भनिएको आन्दोलन भदौं ३ गते भैरहवामा हिंसात्मक हुँदा त्यसपछि २ दिन प्रशासनले कर्फयू समेत लगायो भने अहिले भाद्र १८ गते सम्मलाई भैरहवालाइ केन्द्रमा राखी स्थानिय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ ।

आन्दोलनका बीच भैरहवामा आन्दोलनकारीका तर्फबाट सोमबार सम्म ४ जनाको मृत्यु भएको छ । सुनिल यादव, दुर्गेश यादव र शैलेन्द्र यादव सहित आन्दोलनका क्रममा वेपत्ता भएका बोधबार गाविसका रामेश्वर पासीको शब स्थानिय डण्डा नदीमा भेटिएको छ । स्थानिय प्रशासनले भैरहवामा निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले बनगाई पश्चिम र बसन्तपुर पुर्व केन्द्रित आन्दोलन गरिरहेका छन् । यसैबीच सोमबार सांझ संघिय मधेसी मोर्चाले पत्रकार सम्मेलन गर्यो । मधेस आन्दोलन एउटा उचाईमा पुगिरहेको बेला अर्को मोर्चाको गठन हुनुले धेरैले अनेकथरी अड्कल बाजी गर्न थालेका छन् । मधेसी आन्दोलनलाई तुहाउन हो वा मधेसी आन्दोलनलाई थप बल पुराउन जे जस्तो भएता पनि संघिय मधेसी मोर्चाको नेतृत्व एमाओवादीले गरेको देखिएको छ ।

एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वका नेताहरु नै रुपन्देहीको संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालि रहेका छन् । केन्द्रमा कांग्रेस एमालेसंग मिलेर समयमै संविधान जारी गर्न उद्धत रहेका प्रचण्डकै जिल्ला स्तरीय नेताहरु भने संघिय मधेसी मोर्चा मार्फत आन्दोलनलाई शसक्त पार्ने योजनामा छन् । एमाओवादीका केन्द्रिय सल्लाहकार तथा पुर्व विधायक विनोद उपाध्यय कुनै समय माओवादीको मधेस विभागका उपप्रमुख थिए । रुपन्देही जनसरकार प्रमुख समेत रहेका उपाध्यय सहित एमाओवादी अवध राज्य समिती सदस्य देवेन्द्र पाण्डेय, गोविन्द केवट, पुरन यादव लगायतका नेताहरुले संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालीरहेका छन् ।

तराईमा आन्दोलन चर्किरहदा एमाओदी छाडी नेकपा माओवादी गठन गरेका मातृका यादव साउन ३२ गते भैरहवा आएका थिए । उनैको निर्देशनमा संघिय मधेसी मोर्चा गठन भएको बुझिएको छ । पुर्व मन्त्रि समेत रहेका नेकपा माओवादीका अध्यक्ष यादव संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक समेत छन् ।

को को छन त संघिय मोर्चामा ?
sanghiye morcha gathan (1)नेकपा माओवादीका अध्यक्ष मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्ट्रिय समितीमा प्रचण्ड नेतृत्वको एमाओवादी, नेत्र विक्रम चन्द विप्लप नेतृत्वको माओवादी, मोहन बैद्य नेतृत्वको माओवादी, मणि थापाको माओवादी सहितको सहभागीता रहेको एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले जनाए । सो समितीमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, कौशल कुमार सिंह नेतृत्वको लोक दल, गंगा महरा नेतृतवको बहुजन समाजवादी पाटि, हरिनारायण कामती नेतृत्वको जनता दल लोकतान्त्रिक र जीवन शाह नेतृत्वको लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् ।

संघिय मोर्चाले राज्यले आफुहरुको मागलाई सम्बोधन नगरी जवरजस्ती पेलेर गएमा नाका बन्दी गर्ने समेत बताएका छन् । उनीहरुले गाऊगाऊमा मधेस सरकार गठन गरेर सोही मार्फत स्थानिय प्रशासन चलाउने, मधेस दस्ता गठन गर्ने र आन्दोलन विरोधीलाई कारबाहि गर्ने समेत चेतावनी दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved