भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १६ असोज । एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले
पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी
दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास
व्यक्त गर्नुभएको छ ।
एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना
गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै
उहाँले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट
बाहिर निस्केर नेपाली जनताको चाहना र भावना
बमोजिम अगाडि बढ्ने र एक नम्बरको पार्टी बनाउने
बताउनुभयो ।
विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई
एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै
केही दिन पहिले मात्रै पार्टी परित्याग गर्नुभएका
डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन
आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो – “पार्टी परित्याग
गर्नेबित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई
कोही कसैले पनि गाली नगरौँ । उहाँले उठाएका
विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई
रुपान्तरित गरेर अगाडि बढाइन्छ ।” पार्टी केन्द्रीय
समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन
आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर
गालीगलौज नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले नयाँ संविधान कार्यान्वयनका लागि
राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै
सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने
धारणा राख्नुभयो ।
प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने
चरणसम्म मिलेर जाने सहमति भएकाले त्यसलाई पालना
गर्न सबैलाई आग्रह गर्नुभयो । विगतमा १६ बुँदे सहमति
हुँदा तीन दलको बीचमा सहमतिका आधारमा
अगाडि बढ्नेमा सबै एकमत भएकाले त्यसलाई अगाडि
बढाउन सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष
दाहालको कथन थियो ।
एमाओवादीले मुलुकलाई सङ्कट परेको बेला महत्वपूर्ण
निर्णय गरेको उल्लेख गर्दै उहाँले संविधान निर्माण
गर्न पनि त्यो खालको निर्णय गरेको बताउनुभयो ।
संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको
चाहना पूरा भएकाले संविधानका सकारात्मक
विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई
निर्देशन दिनुभयो ।
नेपाल र भारतबीच विगत लामो समयदेखि सुमधुर
सम्बन्ध रहेको भए पनि पछिल्लो समयमा आएर गलत
निर्णय गरेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो –
“नेपालका लागि निर्णय गर्न नेपाली जनता र
राजनीतिक दल स्वतन्त्र छन् । त्यसलाई कोही कसैले
पनि आपत्ति गर्नु आवश्यक छैन ।”
राष्ट्रियताको पक्षमा प्रतिबद्ध भएर उभिन
कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले
नेपालको हित र चाहना विपरीत गएर कोही कसैले
पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने धारणा
राख्नुभयो ।
एमाओवादीका सचिव एवम् संसदीय दलका उपनेता
टोपबहादुर रायमाझीले पार्टीलाई एकताबद्ध
बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी
परित्याग गरेर गलत गरेको बताउनुभयो ।
उहाँले विभिन्न टुक्रामा विभक्त भएको माओवादी
आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र
प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि
हालतमा जायज मान्न नसकिने धारणा राख्नुभयो ।
रायमाझीले भन्नुभयो – “डा भट्टराईले गलत काम
गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै
रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन । एकताबद्ध भएर
जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।”
प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ,
नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक,
दोलखा, रामेछाप, सिन्धुलीका अगुवा
कार्यकर्ताको सहभागिता रहेको थियो । रासस
0 comments:
Post a Comment