भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कञ्चनपुर, १५ कात्तिक । कञ्चनपुरको पुरानो
सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका
करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक
हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा
मात्रै छ, जोत्नका लागि जमिन छैन ।
सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न
पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत
सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन
भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग
गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् ।
विसं २०२८ देखि बसोबास गर्दै आएको सुनारको
जमिनको २०३५ सालमा कित्ताकाट गरी नेपाल
सरकारले २०३६ सालतिर जग्गा धनी लालपुर्जा
दिएको सुनारले बताए ।
सुनारको जमिन २०५८ सालदेखि भारतीय पक्षले
कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन्
। “मेरो जमिन हाम्रो देश भारतको हो, भन्दै
बेलाबेलामा भारतीय वन विभागका कर्मचारीहरुले
धम्काउने, दुव्र्यबहार गर्ने गर्दछन्” सुनारले भने – “के
गर्ने कागजमा मात्रै जमिन छ ।”
“वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग
गर्न नपाएको १३ वर्ष भइसक्यो ।” उनले भने –
“फिर्ताका लागि कहीँ कतैबाट समेत पहल भएको
छैन ।” जमिन उपभोग गराइदिने पहल कसैले नगराएको
उनको दुःखेसो छ ।
त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का
स्थानीयवासी मानबहादुर सुनारको समस्या उस्तै
छ । उनको पनि नेपाल–भारत पिलर नं २०० नजिकै
रहेको डेढ बिगाहा जमिन भारतीय पक्षको
धम्कीका कारण आधा बाँझो र आधा आवादी छ ।
“भारतीय वन विभागका तर्फबाट बेलाबेलामा आई
धम्काउने जोतिरहेका बेला हल गोरु खोलेर लिएर
जाने, ट्र्याक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै
धम्की दिन्छन्” – उनले दुःखेसो पोखे ।
“हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न
पाएको छैन ।” उनले पनि १३ वर्षदेखि जमिन उपभोग
गर्न नपाएको गुनासो गरे ।
उनीहरु दुवैजना अरुको अधियाँ गरेर दैनिक गुजारा
चलाउँदै आएका छन् । सरकारले यो जग्गा हाम्रो
होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी
गरोस् हैन भने हामीले लालपुर्जा भएको जग्गा
जोतपोत गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
दुवै नेपाली नागरिकको जमिनबारे स्थानीय
प्रशासन अझैसम्म पनि मौन बसेको छ । विसं २०६७
मा संसदीय समिति र तत्कालीन कञ्चनपुरका प्रमुख
जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको
नेतृत्वमा आएको टोलीले पीडित नेपालीको
लालपुर्जाको प्रतिलिपि पनि लगेर गएको थियो
।
तर, अहिलेसम्म सम्बोधन हुन नसकेको इलाका
प्रशासन पुनर्वासका प्रमुख मानप्रसाद भट्टले
बताउनुभयो । उहाँका अनुसार दुवैजनाको
जिल्लादेखि केन्द्र तहसम्म कुरा पुराइसकेको भए
पनि समस्या समाधान हुन सकेको छैन ।
नगर विकास समिति पुनर्वासका अध्यक्ष
विष्णुप्रसाद बाँस्तोलाले भारतीय पक्षले
नेपालीको जमिन उपभोग गर्न नदिएको प्रति निकै
आवाज उठाएको बताउनुभयो ।
दक्षिणी क्षेत्रका जनताले सीमा क्षेत्रको समस्या
समाधान र सीमा मिच्नबाट रोक्नका लागि एक
गाविस एक सशस्त्र सीमा सुरक्षा क्याम्प
राख्नुपर्ने माग गरे पनि स्थानीयवासीको माग
सरकारले नसुन्दा यस्तो समस्या देखापरेको
स्थानीयवासीको गुनासो छ ।
यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी
मनोहरप्रसाद खनालले दुवै नेपाली नागरिकको
लालपुर्जा भए उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
यसबारेमा कञ्चनपुरका राजनीतिक दलहरुले समेत पहल
गरिदिनुपर्ने पीडितहरुको माग छ । रासस

0 comments:
Post a Comment