Home » » लाइसेन्स नहुनेलाई गाडी दिने पनि फन्दामा....

लाइसेन्स नहुनेलाई गाडी दिने पनि फन्दामा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं-सवारी चालक अनुमतिपत्र (लाइसेन्स)
नलिएका व्यक्तिले सवारी चलाउनु गैरकानुनी हो।
कसैले यो नियमविपरीत सवारी चलाएको फेला परे
ट्राफिक प्रहरी तथा प्रहरीले तुरुन्त त्यस्ता सवारी
नियन्त्रणमा लिई चालकलाई कारबाही गर्छ। र,
कागजपत्र लिएर आएका सम्बन्धित व्यक्तिलाई
सवारी उपलब्ध गराएर पठाउँछन्।
तर, अबदेखि बिनालाइसेन्स चलाउने चालकसँगै लाइसेन्स
नभएका व्यक्तिलाई सवारी साधन चलाउन अनुमति
दिने उक्त सवारीसाधनका सवारी धनी तथा
जिम्मेवारी पाएको व्यक्ति पनि तुरुन्तै
कारबाहीमा पर्ने भएका छन्।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले
बिनालाइसेन्स सवारी चलाउनेलाई मात्र नभई
उनीहरुलाई सवारी उपलब्ध गराउनेलाई समेत तत्कालै
कारबाही गर्ने भएको हो। यातायात व्यवस्था
विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९
को दफा ४६ मा भएको व्यवस्थालाई नै प्रहरीलाई
अधिकार प्रत्यायोजन गर्दै तत्काल कारबाही गर्ने
व्यवस्था गर्न लागेको हो।
ठूला र गम्भीर दुर्घटनाका पछाडि लाइसेन्स नभएका
सहचालकले सार्वजनिक सवारी चलाउँदा, निजी
तथा सरकारी सवारीका हकमा पनि लाइसेन्स
नभएकाले जथाभाबी चलाउँदा तथा सवारी चलाउन
सिक्ने बहानामा सडकमा दौडाउँदा भएको
पाइएपछि विभागले ऐनमा नै भएको व्यवस्थाको
अधिकार प्रत्योजन गर्दै कारबाही गर्न सक्ने व्यवस्था
कार्यान्वयनमा ल्याउन लागेको हो। हालसम्म उक्त
व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।
ऐनको दफा ४६ मा कसैले आफ्नो स्वामित्वको वा
आफ्नो जिम्मामा रहेको कुनै सवारी चालक
अनुमतिपत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन
दिन हुँदैन भन्ने स्पष्ट लेखिएको छ। कसैले उक्त व्यवस्था
विपरीत लाइसेन्स नभएकालाई सवारी चलाउन
दिएको पाइए ऐनका दफा १६१ बमोजिम दुई हजारसम्म
जरिवाना हुनेछ। यसैगरी, लाइसेन्स नभएकाले चलाउँदा
दुर्घटना भएर कसैको ज्यान गए चलाउन दिनेलाई दुई
वर्षसम्मको कैद सजाय हुनेछ। लाइसेन्स नभई चलाउनेलाई
भने सोझै ज्यानमुद्दा लाग्नेछ।
हालसम्म यसरी लाइसेन्स नभएकालाई चलाउन दिने
सवारीधनी तथा जिम्मेवारप्राप्त व्यक्तिलाई
दुर्घटनाका कारण ज्यान गएका पीडित पक्षले मुद्दा
हाले मात्र ऐनअनुसार कारबाही हुँदै आएको थियो।
तर, अबदेखि दुर्घटना नभई बिना लाइसेन्सवाला चालक
फेला परेलगत्तै सवारीका जिम्मेवार व्यक्तिलाई दुई
हजारसम्म जरिवाना हुनेछ भने दुर्घटना भए दुर्घटनाको
प्रकृतिअनुसार थप सजाय हुनेछ। कसैको मृत्यु भए दुई
वर्षको कैद हुनेछ।
विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले
लाइसेन्स नहुनेलाई सवारी उपलब्ध गराउनेलाई
कारबाही गर्ने नियमको अधिकार प्रत्यायोजनको
पत्र लेखेर प्रहरीलाई पठाउने काम एकदुई दिनमै हुने
बताए। ‘चलाउनेलाई मात्र कारबाही हुँदा
सवारीको जिम्मेवारी पाएकाले लाइसेन्स
नभएकालाई पनि सहजै सवारी उपलब्ध गराइएको
पाइयो,' उनले भने, ‘त्यसकारण अबदेखि सवारी उपलब्ध
गराउनेलाई थप बढी कारबाही गर्न लागिएको हो।'
महानिर्देशक बुर्लाकोटीका अनुसार अबदेखि सडकमा
बिनालाइसेन्स सवारी चलाउने कोही फेला परे उक्त
सवारीका धनीलाई बोलाएर जरिवाना
तिराउनुका साथै आगामी दिनमा यस्तो गल्ती गर्न
दिन्नँ भन्ने कागज गराएर मात्र सवारी उपलब्ध
गराइनेछ। उनले निजी सवारीका हकमा सवारीका
धनि, सार्वजनिक यातायातका हकमा सम्बन्धित
चालक र सवारीको किसिमका आधारमा सवारी
धनी, सरकारी सवारीका हकमा उक्त बसका चालक
तथा सवारीको जिम्मेवारी पाएका कार्यालय
प्रमुखलाई कारबाही हुने जनाए।
उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि
सार्वजनिक सवारीमा चालकले सहचालकलाई तथा
निजी सवारीमा लाइसेन्स नभएका छोराछोरी
तथा आफन्तलाई सवारी चलाउन दिने कार्य
रोकिनेछ। यसका साथै सरकारी गाडी सडकमा लगेर
सिक्ने प्रवृत्तिको समेत अन्त्य हुनेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका
महासचिव सरोज सिटौलाले लाइसेन्स नभएका
सहचालकलाई सवारीको जिम्मेवारी दिने
चालकलाई थप कारबाही गर्नुपर्ने बताए। ‘सहचालकले
यात्रु बोकेको सवारी हाँकेर सडकमा सवारी चलाउन
सिक्नु हुँदैन,' उनले भने, ‘यसरी यात्रुको ज्यान
जोखिममा राखेर सहचालकलाई सिकाउने चालकलाई
थप कारबाही गर्नुपर्छ।' उनले सहचालकले सवारी
इन्स्टिच्युटहरुमा गएर सिक्नुपर्ने बताए। सडकमा
सवारी कुदाउने दक्ष चालक उत्पादन गर्न सरकारले
देशका विभिन्न स्थानमा तालिम केन्द्रहरु स्थापना
गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय लगातार रुपमा भइरहेको
दुर्घटनापश्चात व्यवस्थापिका संसद विकास
समितिले गत कात्तिक १६ गते गठन गरेको सडक दुर्घटना
अध्ययन उपसमितिले पनि सवारी चालक अनुमतिपत्र
नलिएका व्यक्तिलाई सवारी साधन सञ्चालन गर्न
अनुमित दिने सवारीधनीलाई समेत दण्डसजायको
व्यवस्था गर्न सुझाएको थियो। समितिको
सुझावलगत्तै विभागले ऐनमा नै भएको व्यवस्थालाई
प्रहरीलाई अधिकार प्रत्यायोजन गर्दै
कार्यान्वयनमा ल्याउने भएको हो।
फाइदा
–चालकले सहचालकलाई तथा निजी सवारीमा
लाइसेन्स नभएका छोराछोरी तथा आफन्तलाई
सवारी चलाउन दिने कार्य रोकिनेछ। यसका साथै
सरकारी गाडी सडकमा लगेर सिक्ने प्रवृत्तिको समेत
अन्त्य हुने।
–ठूला र गम्भीर दुर्घटनाका पछाडि लाइसेन्स नभएका
सहचालकले सार्वजनिक सवारी चलाउँदा, निजी
तथा सरकारी सवारीका हकमा पनि लाइसेन्स
नभएकाले जथाभावी चलाउँदा तथा सवारी चलाउन
सिक्ने क्रमम सडकमा दौडाउँदा।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved