भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हङकङ-चीनले नेपाललाई साढे चौध अर्ब रुपैयाँ नयाँ
आर्थिक सहयोग घोषणा गरेको छ। शनिबार चीनको
हाइनानस्थित बोआओ सहरमा राष्ट्रपति रामवरण
यादवसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी
जिनपिङले नयाँ आर्थिक सहयोग प्रस्ताव गर्दै
सुरक्षा सहयोग सुदृढ गर्न आग्रह गरेका छन्।
‘एसियाका लागि बोआओ मञ्च' को वार्षिक
सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न शनिबार
त्यहाँ पुगेका नेपाल र चीनका राष्ट्रपतिबीच साँझ
बोआओस्थित स्टेट गेस्ट हाउसमा करिब आधा घन्टा
औपचारिक भेटवार्ता भएको हो। गणतन्त्र स्थापना
भएको करिब सात वर्षपछि नेपालका राष्ट्रपतिसँग
उत्तरी छिमेक चीनका राष्ट्रपतिले पहिलो
भेटवार्ता गरेका हुन्।
चीनका लागि नेपाली राजदूत महेश मास्केले दुई
राष्ट्रपतिबीचको पहिलो भेटवार्ता निकै
उपलब्धिमूलक रहेको बताए। ‘कोदारी राजमार्गको
स्तरोन्नति र अन्य यातायात पूर्वाधारमा लगानी
गर्ने गरी चिनियाँ राष्ट्रपतिले नेपाललाई ९० करोड
युआन (करिब १४ अर्ब ४८ करोड रुपैयाँ) आर्थिक
सहयोग घोषणा गरेका छन्,' बोआओमा दुई
राष्ट्रपतिबीचको भेटवार्तामा संलग्न राजदूत
मास्केले नागरिकसँग भने, ‘पाँच वर्षभित्र
तालिमलगायत १५ सय कार्यक्रम तथा कृषि
प्रविधिमा सहयोग गर्न चीन तयार भएको छ।'
राष्ट्रपति यादवले नेपाल संविधानसभाबाट
संविधान बनाउने प्रक्रियामा रहेको जानकारी
दिँदै नयाँ आर्थिक सहयोगप्रति चीनलाई धन्यवाद
दिएका छन्। राजदूत मास्केका अनुसार चिनियाँ
राष्ट्रपतिले नयाँ संविधान छिट्टै जारी होस् भनेर
नेपाललाई शुभकामना दिए। राष्ट्रपति यादवले
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६०
औं वार्षिकोत्सवका अवसरमा स्वागत गर्न उत्सुक
रहेको भन्दै चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको
निम्तो दिएको मास्केले जनाए।
चिनियाँ कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका
‘पिपुल्स डट सिएन' का अनुसार वार्तामा
राष्ट्रपति यादवले नेपाल ‘एक चीन नीति' मा
प्रतिबद्ध रहेको बताएका थिए भने चिनियाँ
राष्ट्रपतिले सुरक्षा अझ सुदृढ गर्न आग्रह गरेका थिए।
‘नेपालले आफ्नो भूमिमा कुनै पनि शक्तिलाई
चीनविरोधी गतिविधि गर्न अनुमति दिने छैन भन्ने
हामी आशा गर्छौं,' पिपुल्स डट सिएनले चिनियाँ
कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति
सीलाई उद्धृत गर्दै लेखेको छ, ‘कानुन प्रवर्द्धन र
सुरक्षा सहयोग अझ प्रगाढ बनाउन दुवै पक्ष तयार
हुनुपर्छ।'
‘एसियाका लागि बोआओ मञ्च' को वार्षिक
सम्मेलनमा राष्ट्रपति यादवलाई स्वागत गर्दै
राष्ट्रपति सीले तिब्बत र ताइवान मामिलामा
चीनको दृढ समर्थन गरेकोमा नेपालको प्रशंसा गरे। दुई
देशबीच असल छिमेकी र सुरक्षा अन्तरसम्बन्ध रहेको
उल्लेख गर्दै राष्ट्रपति सीले भने, ‘नेपालको
स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय
अखण्डताप्रति चीनको दृढ समर्थन छ।'
भेटवार्तामा नेपाल–चीन कूटनीतिक सम्बन्ध
स्थापनाको ६० औं वार्षिकोत्सव शृंखलाबद्ध रूपमा
मनाउने दुई राष्ट्र प्रमुखबीच समझदारी भएको छ।
चीन र नेपाल पारस्परिक राजनीतिक आदर गर्ने
राम्रो मित्र रहेको उल्लेख गर्दै राष्ट्रपति सीले नयाँ
परिस्थितिमा नेपालसँगको सम्बन्धलाई नयाँ उचाइ
दिन चीन तयार रहेको बताएका छन्।
राष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध स्थापना
भएको ६० वर्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा
जतिसुकै परिवर्तन आए पनि दुई देशको सम्बन्ध
सौहार्दपूर्ण रहेकोमा नेपालले गर्व गर्ने बताए। नेपाल
र चीनले साझा चासोका विषयमा आपसी
समझदारी निर्माण गरी अघि बढ्नुपर्ने बताउँदै
राष्ट्रपति यादवले चीनले अघि सारेको सिल्करोड
आर्थिक क्षेत्रको योजना तथा एसियाली
पूर्वाधार लगानी बैंकलाई नेपालले दृढ समर्थन गर्ने
विश्वास चिनियाँ राष्ट्रपतिलाई दिएका छन्।
‘क्षेत्रीय आर्थिक विकास प्रवर्द्धनमा चीनसँग
सार्क राष्ट्रको सहयोग बलियो हुने आश नेपालले
लिएको छ,' राष्ट्रपति यादवले भने, ‘नेपाल
अन्तर्राष्ट्रिय मामिलामा चीनले खेलेको महत्वपूर्ण
र सकारात्मक भूमिकाको प्रशंसा गर्छ र चीनसँग
सहयोग सुदृढ गर्न इच्छुक छ।'
चीनले अघि सारेको सिल्करोड आर्थिक क्षेत्रको
योजनामा नेपालले समर्थन जनाएकोमा राष्ट्रपति
सीले धन्यवाद दिए। साथै, नेपालसँग भौतिक
पूर्वाधार, जलविद्युत विकास, कृषि, विज्ञान र
प्रविधिको आधुनिकीरणजस्ता अन्तरसम्बन्धित
क्षेत्रमा दुई पक्षले सहयोग बलियो बनाउन आग्रह गरे।
चिनियाँ राष्ट्रपतिले साँस्कृतिक आदानप्रदान
बढाउन आग्रह गर्दै चिनियाँ नागरिकलाई नेपाल
भ्रमणमा तथा तिब्बत, सिचुवान र अन्य छिमेकी
प्रान्तलाई नेपालसँग आदानप्रदान र सहयोग बढाउन
प्रोत्साहित गरिने आश्वासन दिएका छन्।
राष्ट्रपति यादवले अपराह्न बोआओमै अस्ट्रियाका
राष्ट्रपति हेनिज फिस्चर तथा स्विडेनका
प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता
गरेका छन्।
शनिबार बिहान ‘एसियाका लागि बोआओ मञ्च'
मा पहिलोपटक सम्बोधन गर्दै राष्ट्रपति यादवले
नेपालमा लगानी गर्न चीनलगायत अन्तर्राष्ट्रिय
समुदायलाई अपिल गरेका छन्। लगानीका लागि
नेपालको शासन ‘उदार र आकर्षक' रहेको उल्लेख गर्दै
राष्ट्रपतिले पूर्वाधार, जलविद्युत, कृषि, पर्यटन र
सूचना प्रविधि लाभदायक क्षेत्र हुनसक्ने बताए।
गरिबी र शान्ति सँगसँगै जान नसक्ने तर्क गर्दै
राष्ट्रपति यादवले क्षेत्रीय आर्थिक समृद्धिका
लागि साझा लक्ष्य बनाउन आग्रह गरे। चीनका
राष्ट्रपति सी जिनपिङसहित १५ देशका नेता
सहभागी बोआओ वार्षिक सम्मेलनमा यादवले भने,
‘नेपाल एसियाली पूर्वाधार विकास बैंक तथा
सिल्करोड आर्थिक क्षेत्रजस्ता क्षेत्रीय पहललाई
सहयोग गर्न तयार छ।'
बिहीबार ग्वान्झाओ हुँदै सान्या पुगेका राष्ट्रपति
यादव शुक्रबार नेपालमण्डप अवलोकन गरी शनिबार
बिहान सम्मेलनमा सहभागी हुन बोआओ नगर पुगेका
थिए। बोआओको कार्यक्रम सकेर साँझ राष्ट्रपति
प्रतिनिधिमण्डल हाइनान प्रान्तको राजधानी
हाइकु पुगेको छ। आइतबार त्यहाँबाट तिब्बतको
राजधानी ल्हासा उड्ने कार्यक्रम छ।
0 comments:
Post a Comment