भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै
नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले
सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल
ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो।
नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ
बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी
गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना
डेलीले बुधबारको अंकमा लेखेको छ।
तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर
पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको
सिगात्से ल्याइपु:याइएको रेल सन् २०२० भित्र
नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना
चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
नेपाललाई चीनको रेलमार्गले जोड्न विकट
भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ
मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ
तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई
उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।
चाइना डेलीका अनुसार सगरमाथामा सुरुङ
मार्ग बनाएर २०२० सम्म काठमाडौंमा रेल
ल्याउने चीनको योजना छ।
चिनियाँ विज्ञ वाङ मेङ्सुका अनुसार सगरमाथामा
सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत
चीनबाट काठमाडौं आउने रेलको गति एक सय २०
किलोमिटर प्रतिघन्टा हुनेछ। चिनियाँ विदेशमन्त्री
वाङ् यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला
पनि सुरुङ मार्ग बनाउने विषय उठान भएको जनाइएको
छ।
नेपाल सरकारले भने नेपाल-चीन सीमा नाका केरुङ
आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्ने
योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।
६ वर्षपछि केरुङ आइपुग्ने चिनियाँ रेललाई
काठमाडौंसम्म ल्याउन रेलवे विभागले तयार पारेको
रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्रिय योजना
आयोगले दुई साताअघि स्वीकृत गरिसकेको छ।
'केरुङबाट काठमाडौंसम्म रेल परियोजना जोड्ने
कार्यक्रम राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर
आइसकेको छ', रेलवे विभागका सुपरिटेन्डेन्ट
राजेश्वरमान सिंहले अन्नपूर्णसँग भने, 'अब हामी टेन्डर
आह्वान गरी सम्भाव्यता अध्ययनका लागि विदेशी
कम्पनी छनोट गर्नेछौं।'
उनले सम्भाव्यता अध्ययनअघि रेलवे विभागको एक
टोली रसुवागढी नाका पुगेर वस्तुस्थितिको
जानकारी लिने बताए। तर सगरमाथामा सुरुङ खनेर
नेपालसम्म चिनियाँ रेल विस्तार गर्नेबारे
विभागलाई जानकारी नरहेको उनले बताए।
चिनियाँ रेल नेपालसम्म विस्तारबारे हेर्ने विभागीय
मन्त्रालय भौतिक योजना तथा पूर्वाधार हो भने
निकायचाहिँ रेलवे विभाग हो। 'मन्त्रालयले पनि कुनै
प्रक्रिया अघि बढाएको जस्तो लाग्दैन', सिंहले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका
सचिव सुरेशमान श्रेष्ठले पनि सगरमाथामा सुरुङ खनेर
चिनियाँ रेलसेवा काठकाडौंसम्म ल्याउन विषयमा
मन्त्रालयलाई जानकारी नभएको बताए।
चिनियाँ विदेशमन्त्री वाङले समकक्षी महेन्द्र बहादुर
पाण्डेसँगको भेटमा सन् २०२० भित्र चिनियाँ रेल
केरुङसम्म जोड्ने योजना रहेको बताएका थिए।
'केरुङसम्म विस्तार हुने रेल सञ्जाललाई काठमाडौंसम्म
विस्तार गर्न तपार्इंहरू चाहनुहुन्छ भने त्यसमा
सम्भाव्यता अध्ययन थाल्नुहोस् भन्ने उहाँको आग्रह
थियो', मन्त्री पाण्डेले अन्नपूर्णसँग भने।
यही चैत १२ देखि १५ सम्म राष्ट्रपति डा. रामवरण
यादवको चीन भ्रमणका क्रममा तिब्बत जनसरकारका
अध्यक्ष लोसाङ जियाङ छुनले सन् २०२० सम्म केरुङ सम्म
रेल विस्तार गर्ने चिनियाँ योजना रहेको बताएका
थिए।
0 comments:
Post a Comment