Home » » म्यानपावरलाई पैसा उठाउने अधिकार छैन

म्यानपावरलाई पैसा उठाउने अधिकार छैन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं , असार ०५, कुनै म्यानपावर कम्पनीलाई
कामदारसँग पैसा उठाउने अधिकार नभएको श्रम
राज्यमन्त्री टेकबहादुर गुरुङले बताएका छन् । खाडीका
६ मुलुक र मलेसिया ‘ फ्रि भिसा र टिकट ’ मा मात्र
जान पाउने निर्णय गत साता गुरुङले नै गरेका हुन् ।
उक्त निर्णयअनुसार मलेसिया र खाडीका कतार ,
साउदी अरब , संयुक्त अरब इमिरेट्स , बहराइन , ओमन र कुवेत
जाने कामदारलाई भिसा र दुईतर्फी हवाई टिकट
नि: शुल्क उपलब्ध गराइनुपर्छ । ‘ आईएलओ ( अन्तर्राष्ट्रिय
श्रम संगठन ) ले कामदारको भर्ना खर्च रोजगारदाताले
नै बेहोर्नुपर्छ भनेको छ , कामदारले होइन , ’
कान्तिपुरसँगको कुराकानीमा उनले भने ।
नि: शुल्क भिसा र टिकटको निर्णय गर्नुअघि उनी
यसरी बोलेका थिएनन् । मन्त्री हुनअघि गुरुङ आफैं
म्यानपावर व्यवसायीका रूपमा कामदारसँग शुल्क
लिएर पठाउँथे । ‘ फ्रि भिसा , फ्रि टिकट ’ को
व्यवस्थाअनुसार कामदारलाई आतेजाते हवाई टिकट र
भिसाबापत लाग्ने खर्च रोजगारदाता कम्पनीले
बेहोर्नुपर्छ, कसैले पनि कामदारसँग त्यसको खर्च उठाउन
पाउँदैन ।
यो व्यवस्थापछि कामदारसँग चर्को रकम असुल्दै
आएका म्यानपावर कम्पनीहरू माग घट्छ , निर्णय लागू
हुँदैन भन्ने दाबी गर्दै सरकारी निर्णयको विरोधमा
उत्रिएका छन् । तर , गुरुङले निर्णय जसरी पनि लागू
गराइछाड्ने बताए । ‘ म त्यस्ता व्यवसायीको
विरोधबाट एक इञ्च पनि हल्लिएको छैन, ’ उनले भने ,
‘ यसले बजार घट्ने होइन झन् गुणस्तरीय हुन्छ ।’
कानुन मन्त्रालयले निर्णय राजपत्रमा प्रकाशित गर्नु
जरुरी छैन भन्ने राय दिएको जनाउँदै उनले सार्वजनिक
सूचना जारी गरेर लागू गरिने बताए । ‘ असार १३ देखि
१९ भित्र निर्णय लागू गर्न सुरु हुन्छ , ’ उनले भने , ‘ तीन
महिनाभित्र पूर्णरूपमा लागू गरिसक्छौं ।’
अहिले कामदारले मलेसियामा जान ८० हजार , खाडी
मुलुकमा जान ७० हजार रुपैयाँ शुल्क तिर्दै आएका छन् ।
निर्णय लागू भएपछि त्यो लागत शुल्क खारेज हुनेछ ।
कतारमा आप्रवासी कामदारका लागि नि : शुल्क हुने
प्रणाली लागू भएपछि सरकारले कतारलाई २० हजार
रुपैयाँ लागत तोकेको थियो । नेपाल र कतारबीचको
श्रम सम्झौता , श्रम समझदारीमा पनि
रोजगारदाताले कामदारको भिसा र आतेजाते
टिकटको खर्च बेहोर्नुपर्नेछ ।
बहराइनसँग अप्रिल ३ , २०१५ मा त्यहाँका लेबर मार्केर
रेगुलेटरी अथोरिटी ( एलएमआरए ) प्रमुख कार्यकारी
अधिकृत असमाह अब्दुल्ला अलस्वी र वैदेशिक रोजगार
विभाग, काठमाडौं कार्यालयका प्रमुख
विश्वप्रकाश सुवेदीबीच भएको १० बुँदे सम्झौतामा
पनि बहराइन जाने नेपाली कामदारको भिसा र
दुईतर्फी हवाई टिकट रोजगारदाताले नै बेहोर्ने उल्लेख
छ ।
उल्टै कमिसन
कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले
अन्तर्राष्ट्रिय श्रम संगठन ( आईएलओ ) को मान्यता
अनुसार नि: शुल्क कामदार भर्नाका लागि
रोजगारदाताले म्यानपावर कम्पनीलाई उल्टै कमिसन
दिने गरेको बताए । ‘ एक कामदार भर्ना गरेबापत्
रोजगारदाताले म्यानपावर कम्पनीलाई २ सय ६० डलर
( करिब साढे २६ हजार रुपैयाँ ) कमिसन दिने गरेका छन्, ’
उनले भने ।
नयाँ व्यवस्थाअनुसार रोजगारीमा जाने कामदारले
बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम ,
कल्याणकारी कोषको रकम भने आफैं तिर्नुपर्नेछ ।
यसका लागि करिब ८ हजार रुपैयाँ खर्च हुन्छ ।
निर्णयमा रोजगारदाता कम्पनीले म्यानपावर
कम्पनीलाई कमिसन शुल्क नदिएको प्रमाणित भए
कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क भनेर लिन सक्ने
र त्यसको रसिद दिनुपर्ने भनिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved