भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं- लागुऔषध मुद्धामा १० वर्ष कैद
सुनाइएका कैदी रावणजीत तामाङसँग जरिवानाको
आफ्नो कैद साट्ने राजकुमार तामाङ पनि कैदी
भगाउन सघाएको अभियोगमा जेल परेका छन्।
भीमफेदी कारागारमा रहेका राजकुमारलाई
सिन्धुपाल्चोक कारागारले जिल्ला लगेर छानबिन
गरिरहेको छ भने आफ्नो सजाय कटाउन नक्कली
रावणजीत खडा गर्ने सक्कली रावणजीत
काठमाडौंको केन्द्रीय कारागार पुगेका छन्।
जिल्ला कारागार सिन्धुपाल्चोकका जेलर ओम
सुवेदीका अनुसार कारागार व्यवस्था विभागको
आदेशमा भिमफेदीमा रहेका राजकुमारलाई
जिल्लामा ल्याएर अनुसन्धान भइरहेको छ।
'आफू रावणजीत बनेर उसलाई भाग्न सघाएको
अभियोगमा राजकुमारमाथि अनुसन्धान भइरहेको छ,'
सुवेदीले नागरिकसँग भने, 'रावणजीत अहिले केन्द्रीय
कारागारमा राखिएको छ।'
१० वर्ष कैद सजाय पाएका रावणजीतले जरिवाना
तिर्न नसकेर कारागार पुगेका राजकुमारलाई आफ्नो
नाममा कारागारमा राखेको घटना सार्वजनिक
भएपछि कारागार व्यवस्था विभागले समिति गठन
गरी अनुसन्धान गरिरहेको छ। एक साता अवधि
तोकिएको समितिले प्रतिवेदन बुझाइनसकेको
विभागका महानिर्देशक हिमनाथ दवाडीले
जानकारी दिए।
'घटना सार्वजनिक भएपछि विभागका निर्देशकको
नेतृत्वमा छानबिन समिति गठन गरेका थियौं,'
दवाडीले नागरिकसँग भने, 'घटनास्थल पुगेर समितिले
अवलोकन गरिसके पनि प्रतिवेदन बुझाएको छैन।'
लागुऔषधसहित काठमाडौंमा पक्राउ परेका काभ्रे
नारायणस्थान–९ का रावणजीतलाई काठमाडौं
जिल्ला अदालतले २०६९ माघ १२ मा दोषी ठहर गर्दै
१० वर्ष कैद र ७५ हजार जरिवाना फैसला सुनाएको
थियो भने राजकुमार चोरी अभियोगमा ७५ हजार
धरौटी बुझाउन नसक्दा जेल पुगेका थिए।
वैशाख १२ को शक्तिशाली भूकम्पमा सिन्धुपाल्चोक
कारागार भत्कँदा भागेका २ सय १६ जना कैदी–
बन्दी खोज्ने क्रममा महानगरीय प्रहरी अपराध
महाशाखाले असार १९ गते सुन्धाराको डिस्कोमा
रावणजीतलाई पक्रेको थियो। पक्राउपछि
रावणजीतले आफ्ना नाममा नक्कली कैदीलाई जेलमा
राखी आफू उम्केको रहस्य खुलेको थियो।
महाशाखाको अनुसन्धानमा मोटरसाइकल चोरी
अभियोगमा अदालतले मागेको धरौटी राख्न नसकी
डिल्लीबजार जेल पुगेका राजकुमार र लागुऔषध
अभियोगमा त्यहीँ पुगेका राणवजीतले कारागार
प्रशासनसँग मिलेमतोमा सिन्धुपाल्चोक जेल सरुवा
गराएर परिचय साटफेर गरेको खुलेको थियो।
कैदी स्थानान्तरण क्रममा परिचय खुल्ने कुनै प्रमाण
नहुने र पत्र मात्रै हुने चाल पाएका रावणजीतले
राजकुमारको पत्र आफूले लिएर धरौटी बुझाउन
नसकेको कैदी बने भने राजकुमार १० वर्ष कैद सजाय
काट्नुपर्ने लागुऔषधका कैदी।
फागुन ११ गते सिन्धुपाल्चोक जेल पुगेको ९ दिनपछि नै
१० वर्ष कैद सजायका रावणजीत राजकुमारका रुपमा
धरौटी बुझाएर जेलमुक्त भए भने राजकुमार रावणजीत
बनेर जेलमा कैद काट्न थाले। जेलमुक्त गराउने
रावणजीतको वाचा अनुसार राजकुमारले आफैं
रावणजीत बनेर पुनरावेदन अदालत पाटनमा पुनरावेदन
समेत हाले। सिन्धुपाल्चोक जेलमा बस्दा उनले
रावणजीतकै नाममा सरकारी सिदा लिने गरेका
थिए।
वैशाख १२ को भूकम्पमा कारागार भत्केपछि
राजकुमार भागे। अनुसन्धान अधिकारीका अनुसार
जेलबाट भागेर राजकुमार रावणजीतको सम्पर्कमा
आएपछि उनले फकाएर पुनरावेदनको मुद्धा जिताउने
आस देखाउँदै उनलाई खर्च दिएर मकवानपुरमा
आत्मसर्मपण गर्न पठाएका थिए।
महाशाखाका प्रहरीले उपत्यकामा खुल्लमखुल्ला
हिँड्ने रावणजीतबारे सूचना पाएर पक्राउ गरेपछि
सक्कली–नक्कली कैदीको रहस्य खुलेको थियो।
सिन्धुपाल्चोक कारागारले राजकुमारमाथि
रावणजीतलाई भाग्न सघाएको अभियोगमा जेलमै
राखी अनुसन्धान गरिरहेको छ। बाँकी कैद भुक्तान
गराउन र जेलबाट भागेवापत थप सजायका लागि
रावणजीतलाई जेल प्रशासनले केन्द्रीय कारागारमा
राखेको छ।

0 comments:
Post a Comment