Home » » ‘ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ’

‘ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सोह्रबुँदे सहमतिमा आधारित संविधानको
प्रारम्भिक मस्यौदामाथि छलफलका क्रममा देशको
राजनीतिमा ज्यादै खतरनाक खेलहरु सुरु भएका छन् ।
जसले, मुख्यतः गणतन्त्र समाप्त पार्ने र क्रान्तिका
उपलब्धिहरु समूल नष्ट गर्ने षडयन्त्र गरिरहेको छ । प्रस्तुत
सन्दर्भमा राजनीतिक शक्तिहरुको दाउपेचसम्बन्धी
बिश्लेषणमा यो सामग्री केन्द्रित रहेको छ ।
राजावादी र विप्लव माओवादी
प्रा.कृष्ण खनालको भनाइमा गणतन्त्र सडकबाट
घोषणा गर्नुपर्दथ्यो । परन्तु, १२ बुँदे समझदारीमा
गणतन्त्रको सट्टा ‘पूर्ण लोकतन्त्र’ भनेर मात्र लेख्न
सहमत कांग्रेस र एमाले नेतृत्वका कारण त्यो सदनबाट
घोषणा गर्नुपर्यो । त्यसैले संविधानसभाबाट
संविधान जारी नगरिएसम्म नेपाली गणतन्त्रका सामु
घण्टी बजिरहने अवस्था यहाँ सामना गर्नु परेको छ ।
जसरी १९५० को बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्न
नदिन नारायणहिटी दरबारबाट अनेक खेलहरु भए,
अन्त्यमा संविधानसभाको माग छाडेर नेपाली
कांग्रेस संसदको निर्वाचनमा सहमत भयो । तर, दुई
तिहाई बहुमत प्राप्त वीपी कोइरालाको सरकार
संसदीय व्यवस्थासँगै ३० वर्ष लामो समय राजा र
राजावादीहरुको निरंकुशतन्त्रको बन्दी बन्यो ।
त्यस्तै शान्ति सम्झौता र गणतन्त्र घोषणा उप्रान्त
संविधानसभाबाट संविधान निर्माण गर्न नदिएर
१९५०-१९६० बीचको इतिहास पुनरावृत्ति गराउन
राजावादीहरु खुनी षडयन्त्रमा छन् ।
प्रचण्डले क्रान्ति छोड्यो भन्दै मोहन वैद्य नेतृत्वमा
पार्टी विभाजन गरियो । वैद्य-बादलले पनि
क्रान्ति गरेनन् भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ले पुनः
विभाजन गरे । हाल एक माओवादी समुहका प्रमख
विप्लव खास गरी प्रचण्डको राजनीतिक अवसान
गराएर छाड्ने महात्वाकांक्षामा देखिन्छन् ।
विप्लवको योजनामा प्रचण्डलाई वीपी
कोइरालाको अवस्थामा पुर्याएर छाड्ने प्रतिगामी
हठ छ । जसरी बहुदलीय प्रजातन्त्रको रक्षा गर्न नसक्नु
वीपीको राजनीतिक अवसान थियो, त्यसरी नै
प्रचण्डलाई गणतन्त्र रक्षा गर्न नसक्ने बनाएर प्रचण्डको
राजनीतिक अवसान गराउने योजना विप्लवको हो ।
त्यस निम्ति उनले बाहिर कमल थापा र खुमबहादुर
खड्कालाई साथ दिएका छन् भने भित्र ज्ञानेन्द्र
शाहसँग मजबुत गठबन्धन गरेको तथ्य प्रष्ट छ ।
विप्लवनिकट सुचनाअनुसार ठकुरी-ठकुरी एकताको
आधारले पनि त्यो गठबन्धन बनेको छ ।
विप्लव पक्षीय साथीहरु यसलाई आरोप ठान्न सक्दछन्
। परन्तु, व्यक्तिवादी महत्वाकांक्षाले मानिसलाई
दुश्मनको कित्तामा पुर्याउँछ । उग्रवामपन्थ अन्ततः
दक्षिणपन्थमा विसर्जन हुन्छ । विप्लवजीको एकीकृत
क्रान्तिको दस्तावेज बादलको शब्दमा ‘महा
सारसंग्रहवाद’ हो ।
प्रचण्डको सेखी झार्ने महत्वाकांक्षा र
सारसंग्रहवादी राजनीतिले १६ बुँदे सहमतिको
विरोधको दिशा नाति राजा फर्काउने बाहेक अरु
हुनै सक्दैन । त्यसरी नेत्रविक्रम चन्द केशरजंग
रायमाझीको सफेद उत्तराधिकारी बन्दै छन्, जसलाई
संघीय गणतन्त्रवादीले बेलैमा चिन्न जरुरी छ ।
सुझाव संकलनका समय प्रारम्भिक मस्यौदामा
राष्ट्रिय जनावर गाई राखेपछि हिन्दु राज्य हुनैपर्छ,
भन्ने अतिवादी माग सुनियो । त्यस्तै कमल थापा र
खुमबहादुर खड्काको निर्णायक विरोध रहेको
प्रारम्भिक मस्यौदाविरुद्ध विप्लवको विरोधलाई
नाती राजा फर्काउने उद्योग नभनेर के भन्ने ? जहाँसम्म
लिपुलेकको प्रश्न छ, त्यस सम्बन्धमा अध्यक्ष प्रचण्डले
भारतीय प्रधानमन्त्रीलगायतसँग प्रष्ट असहमति
जनाइसक्नु भएको छ । एमाले र कांग्रेसका युवाहरुको
पनि विरोध छ । सरकारले कुटनीतिक पहल गरिरहेको
बुझिन्छ ।
कांग्रेस र एमाले
विश्लेषणमा १६ बुँदे सहमति र मुलतः अग्रगामी
चरित्रको मस्यौदा संविधान बन्नुमा केपी ओलीको
महत्वाकांक्षाले पनि ठुलै काम गरेको छ ।
माओवादीलाई देखाइदिन कांग्रेससँग गरेको
सम्झौतामा संविधान जारी गरेर मात्र सुशील
कोइरालाले प्रधानमन्त्री छाड्ने हुन्छ । बहुमतीय
संविधानका विरुद्ध माओवादी नेतृत्वमा तीस दलीय
मोर्चाले संविधानसभाभित्र कठोर संघर्ष गरेकै हो ।
अतः सहमतीय संविधानका निम्ति कांग्रेस-एमाले
बाध्यात्मक स्थितिमा पुग्नुपर्यो ।
अब सहमतिको संविधान जारी नभएको अवस्थामा
कोईरालाले प्रधानमन्त्री छाड्नुपर्ने कुनै कारण
देखिएन । एमाओवादी भने सहमतिका निम्ति गम्भीर
पहलमा छँदै थियो । यसरी सिंहदरबारमा फोटो
झुन्ड्याई हाल्न ओलीजीलाई परिस्थितिले प्रेरित
गर्यो । हाम्रो विचारमा ओलीको महत्वाकांक्षाले
यस पटक राम्रै गर्यो ।
कांग्रेस र एमालेका कत्तिपय नेताहरु धर्म
निरपेक्षताविरुद्ध उभिएका छन् । त्यसो त
पहिचानको संघीयताका निम्ति मर्न हिँडेका
कतिपय मधेसी नेताहरु पनि धर्म निरपेक्षताको
पक्षमा देखिँदैनन् । यसरी प्रतिगमनको अनुकुल
परिस्थिति उपलब्ध भएमा कथित धार्मिक
स्वतन्त्रताको नामबाट हिन्दु राज्य हुँदै राजतन्त्र
फर्काउने कुरामा कांग्रेस र एमालेपंक्ति सहायक बन्दछन्
। यदि तत्काल त्यो अनुकुलता उपलब्ध नभएमा
संविधानसभा र अग्रगामी परिवर्तनविरोधी रहँदै
आएका नेपाली कांग्रेस र नेकपा एमाले दोस्रो
संविधानसभाको ४ वर्षे अवधि त्यत्तिकै गुजार्न
अग्रसर छन् । त्यस निम्ति उनीहरु विप्लव, मधेसी र
जनजातिलाई देखाउने काम गर्दछन् ।
मधेसी र जनजाति
प्रस्तुत उपशीर्षकको तात्पर्य सबै मधेसी, जनजाति,
दलित, मुस्लिम तथा महिलाहरु प्रारम्भिक
मस्यौदाको विरोधमा छन् भन्ने होइन, मधेसी र
जनजातिका नाममा संगठित अगुवाहरुको अर्थमा
लिनुपर्छ । गम्भीर आश्चर्य, पहिचान र समानुपातिक
समावेशी अधिकारका निम्ति लड्ने मधेसी र
जनजाति भनिने नेताहरु गणतन्त्र संस्थागत गर्ने
सवालमा खरो उत्रन नसकेको मात्र होइन, पुरै
उदासीन रहेका छन्, जो अत्यन्त खतरनाक छ ।
नेपलाी कांग्रेसमा पहाडिया बाहुनको एकाधिकार
भन्दै तराई कांग्रेस खोलेका वेदानन्द झा पञ्चायती
व्यवस्थामा तत्काल राजाको मन्त्री बने ।
बाहुनवादी कांग्रेस भन्दै तत्कालीन जनजाति नेतृत्वमा
बनाइएको मतवाली कांग्रेसले तुरुन्त राजा महेन्द्रको
सैनिक कदमलाई समर्थन गर्यो । इतिहासको त्यो
कालो कदमबाट आजका मधेसी र जनजातिहरु सचेत
हुनुपर्छ, पर्दैन ?
प्रचण्डको विरोध गर्दै पहिचानको नारा दिने पक्षले
गणतन्त्रबारे जनसमुदायमा ठोस प्रत्याभूति गर्नैपर्छ ।
बाह्र बुँदे समझदारीमा संसदवादीहरु ‘लोकतन्त्र’ मात्र
तथा माओवादीहरु ‘गणतन्त्र’ नै लेख्न प्रतिवद्ध थिए ।
अन्त्यमा लोकतन्त्रमा ‘पूर्ण’ थप्ने सहमतिअनुसार
संसदवादीले लोकतन्त्र नै र माओवादीले गणतन्त्र नै
भन्ने गरी समझदारी भयो । यसको अर्थ नेपालमा
गणतन्त्र अग्रगामी परिवर्तनको मूलढोका हो । १९
दिने जनआन्दोलनपछि संसदवादीले त्यो ढोका बन्द
गर्न खोजेकै हुन् । परन्तु, माओवादीले लाखौं-लाखको
जनसभामा अपील सुरु गरेपछि मात्र शान्ति सम्झौता
भयो ।
प्रतिनिधिसभा विघटन गरेर अन्नरिम संविधान
जारी गरियो । तर, कांग्रेस उही प्रतिगामी हठमा
रहृयो । माओवादीले अन्तरिम सरकारबाट
राजीनामा गर्दै बिशेष अधिवेशन बोलायो । बिशेष
अधिवेशनले संविधानसभाको प्रथम बैठकले गणतन्त्र
घोषणा गर्ने गरी संविधानमा संशोधन गर्यो ।
अतः गणतन्त्रको मूलढोका ख्याल नगरी अर्थात्
गणतन्त्र संस्थागत गर्ने प्रश्नमा मौन रहेर गरिने
पहिचान र संघीयताको आन्दोलन नेत्रविक्रम चन्द हुँदै
कमल थापा र खुमबहादुर खड्काको भर्याङ बनेर नाति
राजतन्त्र पुनः स्थापित गर्ने अपराधमा नबदलियोस्
भनेर बिशेषतः युवाहरुले आˆनो नेताको कठालो
समात्न सक्नुपर्छ ।
आदिवासी जनजाति र मधेसीले जोड्दार विरोध
गरेको प्रारम्भिक मस्यौदामा कमल थापाको अझ
विरोध देखिएको छ । सर्वोच्च अदालत, नेपाली
सेना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता
राज्यका संवेदनशील निकायहरुको त्यस्तै विरोध छ ।
अझ प्रधानसेनापतिले त लोकतन्त्र नमान्ने,
जनउत्तरदायी नबन्ने उद्घोषसमेत गरेका छन् । यी
विरोधहरु तथा विप्लवजीको विरोधमा अन्तर के छ ?
छुटयाउन नसक्नु अग्रगमनको सेवा हुनै सक्दैन ।
एकीकृत नेकपा माओवादीको भूमिका
नेपाली इतिहासको तथ्य यहाँका उत्पीडित वर्ग,
जाति, क्षेत्र एवं लैंगिक समुदायको प्रधान दुश्मन
एकात्मक सामन्ती राजतन्त्र नै हो । सन् १९५० को
राणा शासनविरोधी सशस्त्र आन्दोलनबाट
स्थापित बहुदलीय प्रजातन्त्र राजतन्त्रकै कारण
कुण्ठित गरियो । निर्दलीय पञ्चायती शासनमा
ऋषिराज आजाद, रत्न बान्तवा, भीमनारायण श्रेष्ठ,
यज्ञबहादुर थापाजस्ता होनहार योद्धाहरुको हत्या
गर्ने काम राजतन्त्रले नै गर्यो ।
दश वर्षको माओवादी जनयुद्ध राजतन्त्र अन्त्यकै
निम्ति लडिएको थियो । आदिवासी-जनजाति,
मधेसी, दलित, मुस्लिम तथा सीमान्तकृत
समुदायमाथि दमन गर्ने काम वस्तुतः राजतन्त्रात्मक
व्यवस्थाले नै गर्यो ।
अनेक विभाजन र हाल संविधानसभामा संख्याको
दृष्टिले कमजोर उपस्थिति रहे पनि शान्ति
सम्झौताको हस्ताक्षरकर्ता प्रचण्ड नेतृत्वमा एकीकृत
माओवादी संविधानसभाबाट संविधान जारी गरेर
हरहालतमा गणतन्त्र संस्थागत गर्न चाहन्छ । जगजाहेर छ
कि नेपाली गणतन्त्र संघीय लोकतान्त्रिक
गणतन्त्रको सारतत्वको हुनेछ । अतः बिनाशकारी
भूकम्प आएको दुई घण्टादेखि राजनीतिक पहल बढाउँदै
संसदको बिशेष अधिवेशनसम्म प्रमुख प्रतिपक्षको
हैसियतले माओवादीले नै राजनीतिक संघर्ष गर्यो ।
भूकम्पद्वारा सिर्जित विपत व्यवस्थापन तथा पुनः
निर्माणका निम्ति सहमतिको संविधान अनिवार्य
प्राथमिक शर्त थियो । परिणाममा १६ बुँदे सहमति
गर्दै राजनीतिलाई मस्यौदा संविधानमाथि
देशव्यापी सुझाव संकलनसम्म पुर्याउन एनेकपा
माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा
लोकतान्त्रिक फोरम सफल बने । प्रारम्भिक
मस्यौदाले गणतन्त्र संस्थागत गर्ने र नेपाली जनता
सार्वभौम बनेको तथ्य अन्तर्राष्ट्रिय जगतमा
स्थापित गर्ने ठोस अभिवयक्ति गरेको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा
खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक अधिकार
स्वीकार गरेर वर्गीय उत्पीडन अन्त्यको मार्ग प्रशस्त
गरेको छ । ४० प्रतिशत समानुपातिक प्रतिनिधित्व
सुनिश्चित गर्ने, किस्ताबन्दीमा भए पनि
पहिचानको ५ र सामथ्र्यको ४ आधारमा विज्ञहरुको
आयोगले सीमांकन गर्ने, धर्मनिरेपेक्ष राज्य संस्थागत
गर्ने अग्रगामी व्यवस्था गरेको छ । सेना, प्रहरी,
अदालत, संवैधानिक आयोगहरुमा सुधारको
प्रत्याभूति गरेको छ ।
समाधान के ?
प्रारम्भिक मस्यौदामा प्रस्तुत अग्रगामी
सारतत्वको दृढतापूर्वक रक्षा गर्दै देशव्यापी जनताको
सकारात्मक सुझावहरुलाई समेटेर यथाशिघ्र संविधान
जारी गर्न गणतन्त्रवादीहरु जुट्नु पर्छ । सुझाव संकलनमा
देखिएका विरोध र आक्रोशलाई खबरदारीको तहसम्म
सीमित गर्नुपर्छ ।
संघीयताको प्रश्नमा सीमांकन र नामांकनको समय
वस्तुनिष्ठ रहेर जोड्दार संघर्षको तयारी गर्नुपर्छ ।
यदि मधेसी र जनजातिको विरोधलाई त्यस
समुदायका नेताहरुले सन्तुलनमा राख्न सकेनन् भने त्यो
जनआक्रोश विप्लव राजावादीको सिखण्डी बन्न
सक्छ ।
अन्त्यमा, बाहुन र बाहुनवादबारे
एकात्मक सामन्ती राजतन्त्रको उत्पीडनका कारण
जाति समुदायमा विद्रोहको ज्वाला दन्केको छ ।
मधेसीले पहाडिया अहंकारवाद, आदिवासीले
ब्राहृमणवाद, दलितले बिष्टवाद तथा महिलाले
पितृसत्तावादलाई आफ्नो वर्ग दुश्मन पहिचान गरेका
छन् । यो इतिहासमा उपलब्ध धेरै ठूलो चेतना हो ।
बाहुन र बाहुनवादमा वस्तुतः अन्तर छ । बाहुन भनेको
नेपाली समाजमा रहेको एउटा समुदाय हो भने
बाहुनवाद भनेको सापेक्षतामा तथाकथित
उच्चजातीय खस हिन्दु अहंकारवादद्वारा निसि्रत
सामन्ती जातिवाद हो । त्यो सामन्ती
जातिवादलाई इतिहासको बिषय बनाउन पनि यहाँ
गणतन्त्र संस्थागत अपरिहार्य छ ।
जन्मले होइन, कर्मले मानिसको भूमिका निर्धारण गर्छ
। राणा शासनबाहेक इतिहासका अग्रगामी
आन्दोलनहरुमा बाहुन समुदायबाट आएका योद्धाहरुले
काफी बलिदान गरेका छन् । कुनै मानिस बाहुन
परिवारमा जन्मनु उसको रोजाई हुन सक्दैन । प्रश्न
बाहुन समुदायमा जन्मेको मानिसले कस्तो कर्म गर्छ ?
अर्थात् उत्पीडितहरुको सेवा गर्छ या दमन ? त्यसले
उसको भूमिका निर्धारण गर्ने हुनुपर्छ ।
अतः जातीय-क्षेत्रीय उत्पीडनविरोधी साथीहरुले
बाहुनको होइन, बाहुनवाद र बाहुनवादी तत्वको
निर्णायक विरोध गर्नुपर्छ । तब मात्र उत्पीडित
जातिहरुले प्रगतिशील खस-बाहुनको सहयोग प्राप्त
गर्न सकिन्छ । आˆनो घेरा बलियो नबनाइकन कुनै पनि
सेनापतिले युद्ध जित्न सक्दैन । बाहुनवादलाई छाडेर
बाहुनको विरोध गर्नाले कालिदासको रुख कटाइको
चरित्र नै चित्रण गर्छ । अधिकार खोज्ने युवाहरुले
त्यस्तो मूर्खता गर्नु हुँदैन ।
(किराती एमाओवादीका स्थायी समिति सदस्य
हुन्)onlinekhabar.com बाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved