भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२०७२ साउन ११ सोमबार
राजविराज : परिवार पाल्न छोरो विदेशिएका
बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी
बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाएकी छन् ।
कञ्चनरुप नपा–९ धर्मपुरकी २० वर्षीया रेणुदेवी साह र
छिमेककै सोल्टी नाता पर्ने १८ वर्षीय पुजन
साहबीचको यौनसम्बन्धबाट गर्भ बसेको खुलेपछि
आइतबार रेणुलाई गाउँलेले पुजनकै जिम्मा लगाएका हुन् ।
रेणुका पति फागु साह ०७१ साउन २२ गतेदेखि वैदेशिक
रोजगारीको सिलसिलामा दुबईमा छन् ।
सुनसरीको गौतमपुर माइत भई धर्मपुरमा विवाह गरेर
आएको वर्ष दिनमा पति विदेश गएपछि उनी पुजनसँग
प्रेम सम्बन्ध रहेकी थिइन् । उनी अहिले सात
महिनाको गर्भवती छिन् । रेणुको पेटमा हुर्कँदै गरेको
गर्भ आफ्नो भएको पुजनले स्विकारेका छन् ।
छोरा विदेशमा रहेका बेला बुहारी गर्भवती रहेको
थाहा पाएपछि गत असार २५ गते गाउँमा छलफल
बोलाउँदा रेणुले गाउँलेसामुन्ने वास्तविक घटना
बाहिर ल्याएकी थिइन् ।
गाउँलेहरुले उतिबेलै रेणुलाई पुजनको जिम्मा लगाउन
खोज्दा पुजनका अभिभावकले अस्विकार गरेपछि
सासु ५९ वर्षीया पानवतीदेवी साहले गत बुधबार
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
दुबैलाई प्रहरीले झिकाएपछि गाँउलेसमेत आइतबार
जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
घरपरिवारले अस्वीकार गरेपछि उनले तिनै युवकसँग
जीवन बिताउने बताइन् ।
रेणुकी दिदी र पुजनका ठूलोबुवा जगदीश साहका
छोराबीच विवाह भएकाले उनीहरुबी सोल्टी नाता
पर्छ । विवाह अघिबाटै एक अर्कालाई मन पराउने
गरेको कुरा उनीहरुले प्रहरी कार्यालयमा बताए ।
हामी एक अर्कालाई माया गर्छाैं, जे हुनु थियो
भयो’, सहमति पत्रमा हस्ताक्षर गर्दै युवकले भने, ‘अब
हामी दाम्पत्य जीवनमा तयरा छौं ।’
आफूले प्रेम गरेकाले पत्नीकारुपमा स्वीकार्ने र युवतीले
पनि आफूसँग बस्न चाहेको युवकले बताए । युवक
अविवाहित हुन् भने युवतीका पहिलो पति फागुतर्फ
एक वर्षीया छोरी छन् । एक वर्र्षीया
नाबालिकाको पालनपोषणको जिम्मा भने
हजुरआमा पानवतीले लिँदै घर लगिन् ।
‘समस्या आएपछि समाधान त गर्नै पर्यो’, घरपरिवार र
गाउँलेले सहमति गरी दिएको जानकारी दिँदै
स्थानीय हरिलाल साहले भने, ‘सुरुमा त केटाले मेरो
गर्भ होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो, तर
छलफलका क्रममा गर्भ आफ्नै रहेको स्वीकार्यो ।’
तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय
बढी युवा वैदेशिक रोजगारीमाश जाने गर्छन् ।
सप्तरीमा अविवाहितभन्दा विवाहित युवा नै बढी
विदेशिने गरेको आँकडाले देखाउँछ ।
सप्तरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद
चिमरियाले पत्नी, छोराछोरी र घरपरिवारको
लागि विदेशिने युवाकै घरबार भने दिनदिनै भत्किँदै
गएको बताए । एक महिनाको अवधिमा यस्तै
प्रकारका चारवटा घटना प्रहरी कार्यालयमा
आएको उनले जानकारी दिए ।
गाउँ, घरपरिवारको मोहमाया त्यागेर छोराछोरी
र पत्नीका लागि श्रम गर्न विदेशिएका पतिले कमाएर
पठाएको रकममा केहीले रजाइँ गर्न थालेपछि पुरुषहरु
पीडामा पर्न थालेको महिला अधिकारकर्मी पनि
बताउँछन् ।
मनोहरकुमार |
अन्नपूर्णपोस्ट बाट

0 comments:
Post a Comment