भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२१ साउन, काठमाडौं । सिनेमाको रंगीन दुनियाँ
त्यागेर दर्जनौं नेपाली कलाकारहरु यतिबेला
अमेरिकामा थुप्रिएका छन् । कार्यक्रमको बहानामा
अमेरिका छिर्ने र त्यतै हराउने कलाकारको सूची
निरन्तर लम्बिँदै छ ।
आखिर अमेरिकामा उनीहरु गर्छन् चाहिँ के ? यसको
सजिलो उत्तर हो, अरु नेपालीले जे गर्छन्, उनीहरु पनि
त्यही गर्छन् । नेपालमा रहेको उनीहरुको स्टारडम
अमेरिकामा बिक्दैन । त्यसैले अरुसरह श्रम गरेर
जिविकोपार्जन गर्नुको विकल्प रहँदैन ।
खोजीनीति गर्दा केही कलाकारले आफैं व्यवसाय
स्थापना गरेको, केहीले अन्यत्र काम गरिरहेको र
कोही कामको खोजीमा रहेको पाइएको छ ।
रञ्जनाको ब्युटीपार्लर
चार वर्षअघि अमेरिका हानिएकी नायिका रञ्जना
शर्मा अहिले त्यहाँ ब्युटीपार्लर चलाएर बसेकी छिन् ।
केही समयअघि उनल सुरु गरेको पार्लरले भर्खरै पिकअप
लिन थालेको छ ।
फेसबुकमा भेट भएकी उनले आफ्नो व्यवसायको बारेमा
धेरै जानकारी दिन चाहिनन् । ‘म भर्खर-भर्खर सेटल
हुँदैछु,’ उनले भनिन्, ‘पहिलेको तुलनामा धेरै राम्रो छ ।’
निर्देशक श्रीमान श्याम भट्टराईसितको सम्वन्ध
तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । अहिले
उनका श्रीमान श्याम पनि उतै पुगेका छन् । उनले त्यहीँ
बसेर नेपाली फिल्म निर्देशन गर्ने तयारी गरेका छन् ।
अमेरिकामै रहेका नेपाली युवराज कार्की र सुनिता
सिंहको लगानीमा सो फिल्म बन्न लागेको
जानकारी दिँदै श्यामले भने ‘अहिले अमेरिकाका
विभिन्न राज्यमा अडिसन भइरहेको छ । तीन
महिनापछि सुटिङ सुरु हुन्छ ।’ फिल्ममा अमेरिकामा
बस्ने नेपालीहरुको जीवनशैली प्रस्तुत गर्ने भट्टराईले
बताए ।
ऋचा र शंकरको स्टोर खोल्ने तयारी
केही वर्षअघि अमेरिका पुगेका निर्देशक शंकर घिमिरे र
नायिका ऋचा घिमिरेको जोडीको भने हाईफाई
निकै छ । पछिल्लो समय नेपालबाट गएका
कलाकारहरुले सुरुमा उनीहरुकै आतिथ्य पाउँछन् ।
दुई साना छोरा भएकाले ऋचाले बाहिर काम गरेकी
छैनन् । घिमिरे दम्पती छिट्टै नै नयाँ स्टोर खोल्ने
तयारीमा रहेको बुझिएको छ ।
अरुणिमा छोरी स्याहार्दै
अर्की नायिका अरुणिमा लम्साल पनि
श्रीमानसहित अमेरिकामा छिन् । उनी अहिलेसम्म
सानी छोरीकै स्याहार सुसारमा ब्यस्त छिन् ।
अरुणिमाका श्रीमान भने जानेबित्तिकैदेखि काममा
लागेका छन् ।
पूजाको डिपार्टमेन्ट स्टोर, प्रेमको रेष्टुरेन्ट
पुरानी नायिका पूजा चन्दको बाल्टिमोरमा आफ्नै
डिपार्टमेन्ट स्टोर छ । डिपार्टमेन्ट स्टोरबाट राम्रै
कमाइ गरेकी पूजाले केही ब्यक्तिलाई रोजगारसमेत
दिएकी छिन् ।
चर्चित लोकगायक प्रेमराजा महतको वाल्टिमोरमा
आफ्नै रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा वेटर हुँदै मालिक भएका
प्रेमराजा महतले आफ्नो रेष्टुरेन्टमा धेरै नेपालीलाई
जागिर दिएका छन् । अमेरिकामा रहेका नेपालीवीच
लोकप्रीय छन् उनी । अमेरिकामा बसेर नेपाली कला-
संस्कृतिको प्रवर्द्धन समेत गरिरहेको जस उनलाई दिने
गरिन्छ ।
लोक गायनकै क्षेत्रमा प्रसिद्धि कमाएका भगवान
भण्डारी पनि नयाँ रेष्टुरेन्ट खोल्ने तयारीमा छन् ।
सिकागोको एउटा रेष्टुरेन्टमा वेटरका रुपमा तीन वर्ष
काम गरेका उनी अब आफैं मालिक बन्ने मानकितामा
पुगेका हुन् ।
हिन्दी सिरियलमा काम गर्न केहि समय बलिउडमा
रहेकी नायिका उषा पौडेल पनि अहिले अमेरिकामै
छिन् । उषा, ऋचा र अरुणिमाको दोस्ति
अमेरिकामा पनि खुबै जमेको छ । उनीहरु बारम्बार गेट
टुगेदर गर्ने र फेसबुकमा फोटो हाल्ने गर्छन् ।
दिलिप रायमाझी बेरोजगार
पछिल्लो पटक अमेरिका पुगेका दीलिप रायमाझी र
मुकेश ढकाल भने रोजगारीको खोजीमा छन् ।
रायमाझी ग्रिनकार्ड लिएर सपरिवार अमेरिका
पुगेका हुन् ।
नायिका मेलिना मानन्धरका श्रीमान मुकेश भने एक्लै
गएका हुन् । रायमाझी दम्पत्तिलाई छोरीका लागि
कलेज खोज्ने चटारो पनि छ ।
आधुनिक गायक यम बराल, सपना परियार, आईटम
डान्सर निशा सुनार, नायिका युना उप्रेती लगायत
अन्य थुप्रै कलाकार अमेरिकामै छन् ।
अमेरिकामा रहेका कलाकारहरु आफ्नो कामबारे
जानकारी दिन चाहँदैनन् । कामको विषयमा प्रश्न
गर्दा प्रायले दिने जवाफ हुन्छ, ‘यहाँ कुनै पनि
कामलाई ठूला वा सानो मानिँदैन । श्रमको सम्मान
गर्ने संस्कार छ ।’
राजबल्लभको बेग्लै रौनक
चलचित्र ‘हाईवे टु धुम्पुस’ को सुटिङमा अमेरिका
उडेका अभिनेता राजबल्लभ कोइराला दुई वर्ष भयो
नेपाल नआएको । उनको पृष्ठभूमि भने अन्य कलाकारको
भन्दा फरक छ । उनी हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’
खेल्ने सिलसिलामा अमेरिका पुगेका थिए ।
सोही फिल्म प्रदर्शनका लागि नेपाल आउने
तयारीमा रहेका राजबल्लभ फेरि अमेरिका फर्किनेछन्
। उनका बुबा, बहिनी लगायत परिवारका धेरै सदस्य
उतै छन् । अमेरिकामा उनी आइटीको काम पनि गर्छन्
।
हलिउडको प्रतिष्ठित ब्यानरमा निर्माण भएको
चलचित्रमा काम गरेकाले पनि राजबल्लभको अमेरिकी
बसाई इज्जतदार छ ।
0 comments:
Post a Comment