भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका सभासद्
शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक
समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ
कतै पनि नभनेको बताउनुभएको छ ।
संविधानसभामा आज आफ्नो धारणा राख्दै उहाँले
अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आफू
सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो
‘‘कमैया र हलियाको मुक्तिका पक्षमा निरन्तर काम
गर्दै आएको र सोही समुदायलाई अधिकार सम्पन्न
बनाउन लागेको व्यक्ति भएकाले थारुलाई एक इन्च
पनि दिन्न भनेर चलाएको हल्लामा कुनै सत्यता छैन,
बोल्दै नबोलेको कुरा भड्काएर स्वार्थसिद्ध गर्न
लागियो । मैले कहिल्यै पनि गलत मनसाय राखेको छैन
।”
उहाँले एमाओवादी नेता बाबुराम भट्टराई तर्फ
इसारा गर्दै बोल्दै नबोलेको कुरा भड्काएर केही
नेताले आफ्नो बदनाम गर्न खोजेकोमा दुःख व्यक्त
गर्नुभयो ।
थारु र पहाडी समुदायबीच शान्तिपूर्ण आन्दोलन गर्ने
सहमति भएको भोलिपल्ट प्रहरी अधिकृत र बालकको
हत्या हुनु मानवताविरुद्धको अपराध भएको बताउँदै
सभासद् देउवाले सो समुदायलाई सांस्कृतिक,
राजनीतिक अधिकारसहित संरक्षित क्षेत्र वा
स्वायत्त क्षेत्र बनाउन सकिने धारणा राख्नुभयो ।
उहाँले आफू जिल्ला टुक्र्याउनु हुन्न भन्ने पक्षमा दृढ
रहेको भन्दै थारु समुदायलाई अधिकारसम्पन्न
बनाउनुपर्ने बताउनुभयो । थारु समुदायको परम्परागत
काम र प्रचलनलाई कानुनी र संवैधानिक मान्यता
दिएर एकै ठाउँमा मिलेर बस्नुपर्ने र कर्णालीदेखि
गण्डकीसम्म, बर्दियादेखि नवलपरासीसम्म थारुकै प्रदेश
बनेको उहाँको कथन थियो ।
सभासद् देउवाले नेपालमा सङ्घीयता नयाँ प्रयोग
रहेको भन्दै त्यसलाई आगामी दिनमा थपघट गर्न सकिने
उल्लेख गर्नुभयो । हाल प्रस्तावित संविधानको
विधेयक यान्त्रिक नभएको उल्लेख गर्दै उहाँले आगामी
दिनमा संशोधन गर्न सकिने र मिलाउन सकिने
बताउनुभयो ।
मजदुर वर्गले प्रतिनिधित्व संविधानमा प्रतिनिधित्व
मागेको उल्लेख गर्दै सभासद् देउवाले खुल्ला बजार
अर्थतन्त्रलाई अबलम्बन गरेर लगानीकर्ता र मजदुरको
मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै वर्ग
तथा क्षेत्रको मागलाई उचित सम्बोधन गर्नुपर्ने र सबैले
अपनत्व महसुस गर्ने संविधान बनाउनुपर्नेमा जोड
दिनुभयो । रासस

0 comments:
Post a Comment