Home » » अध्यक्ष गच्छदारले संविधानसभामा लिखित रुपमा राजनीतिक असहमति राख्दै

अध्यक्ष गच्छदारले संविधानसभामा लिखित रुपमा राजनीतिक असहमति राख्दै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २२ भदौ । नयाँ बन्न लागेको संविधानको विधेयकमा थारु र मधेशी जनताले अधिकार नपाएको विषयमा आफ्नो असन्तुष्टि जोडदार रुपमा राख्नुभएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आज लिखित रुपमा आफ्ना धारणा संविधानसभालाई बुझाउँदै हुनुहुन्छ ।

आज दिउँसो एक बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेट गरेर अध्यक्ष गच्छदारले नयाँ संविधानको विधेयकमाथि परेका संशोधन र प्रक्रिया छाड्नुको राजनीतिक कारणसहित लिखित जानकारी पत्र बुझाउनु हुनेछ ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पार्टीले लिएको अडानका विषयमा संविधानसभालाई लिखित रुपमा जानकारी गराउने बताउनुभयो ।

प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीले नयाँ संविधानमा दर्ता गराएको संशोधन प्रस्तावले थारु र मधेशीहरूको मागलाई सम्बोधन नगरेको बताउनुभएका गच्छदारले आफू संविधान निर्माणको पछिल्लो प्रक्रियाबाट बाहिरिएको बताउँदै आउनुभएको छ ।

गच्छदारले संविधान निर्माणको प्रक्रिया छाड्नको आफ्नो राजनीतिक धारणा लिखित रुपमा बुझाएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा छलफल गर्ने नेता चौधरीले बताउनुभयो ।

अधिकारका लागि जारी तराई मधेरको अनियन्त्रित आन्दोलनलाई कमान्डिङ गर्ने योजना बनाउनु भएका गच्छदारले त्यसको सुरुवात आफ्नो गृह जिल्ला सुनसरीबाट गर्नुभएको छ । उहाँले सोमबार इटहरीको सभालाई सम्बोधन गरेर त्यसको सुरुवात गरेको संकेत गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved