भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र २२, २०७२- शरणार्थीको ओइरोका कारण जर्मनी र अस्ट्रिया द्वन्द्वको उत्कर्षतर्फ धकेलिएका छन्। दुई दिनयता मात्र हजारौं शरणार्थी अस्ट्रिया र जर्मनी प्रवेश गरेका छन्। मातृभूमिमा रक्तपात र आतंककारी गतिविधिबाट जोगिन मध्यपूर्व र अफ्रिकी देशबाट भागेकाहरू युरोप प्रवेश गरिरहेका छन्। ‘१२ हजारभन्दा बढीलाई घातक अवस्थाबाट बचाउन तयार छौं,’ अस्ट्रियाका चान्सलर वेर्नर फेमनले भने, ‘सहृदयी मनले मात्र कानुनी दायरामा रहेर सहयोगको हात बढाएका हौं।’
लामो समयदेखि शरणार्थी लिँदै आएको जर्मनीसमेत सबै आवेदन स्वीकार गर्न सक्ने अवस्थामा छैन। सातायता म्युनिखमा १७ हजार ५ सयभन्दा बढी शरणार्थी प्रवेश गरेका छन्। ‘जर्मनीले पछिल्ला सातामा उच्च सहयोगी भावना प्रदर्शन गरेको छ,’ गृह मन्त्रालयले भनेको छ । निरन्तर सहायताका लागि तयार रहेको जनाउँदै मन्त्रालयले अन्य देश पनि यसतर्फ अग्रसर हुनुपर्ने बताएको छ।
जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार संकटको सामना गर्न ३० करोड युरो सहयोग दिने घोषणा गरिन् । ‘शरणार्थी स्वीकार गर्न नि:सन्देह तयार छौं,’ उनले भनिन्, ‘अन्य युरोपेली देश पनि तयार हुनुपर्यो नि त।’ मर्केलको भनाइ सार्वजनिक भएलगत्तै फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डेले थप दायित्व लिन आफ्नो देश तयार रहेको बताएका छन्। युरोपेली महासंघले आगामी २ वर्षभित्र १ लाख २० हजार शरणार्थीलाई बास दिन आफ्ना सदस्य मुलुकलाई आग्रह गरेको छ। त्यसअनुसार २४ हजारलाई फ्रान्सले शरण दिने होल्यान्डेले बताए।
सीमा नियन्त्रण गरिँदै युरोपली महासंघका सदस्य राष्ट्रबीच मानवीय गतिविधिका लागि खुला सीमानीति छ। तर, शरणार्थीको ओइरो लाग्न थालेपछि अस्ट्रिया र हंगेरी सीमामा कडाइ थालेका छन्। हंगेरीको दक्षिणपन्थी सरकार आप्रवासीको बाढी रोक्ने प्रयासमा छ। त्यसका लागि सर्बियासँगको १ सय ६० किमि लामो सीमामा धारिलो तारबेरा गरेको छ। सर्बिया युरोपेली महासंघमा आबद्ध छैन।
अस्ट्रियाले हंगेरीको सीमाबाट आवतजावतलाई अवैध घोषणा गर्ने चेतावनी दिएको छ। तर, त्यस्तो गतिविधि रोकिएको छैन। अस्ट्रिया, जर्मनी र स्लोभाकियाका केही स्वयंसेवकले सामाजिक सन्जालमार्फत शरणार्थीलाई हंगेरी सीमाबाट ओसार्ने अभियानै चलाएका छन्। त्यसका लागि २ सय वटा कार सञ्चालन गरिएको छ।
आक्रमण बढ्यो
जर्मनी पुगेका शरणार्थी खतरताबाट मुक्त छैनन्। यस वर्ष मात्र उनीहरूमाथि ३ सय ४० पटक आक्रमण भइसकेको छ। आप्रवासीलाई शरण दिन नहुने अतिवादी धारसम्बद्ध समूहले आक्रमण गर्दै आएको छ। तोडफोड, घृणित शब्द प्रयोग गर्दै गाली, आगजनी र घातक आक्रमण हुने गरेका छन्। ३८ पटक घातक आक्रमण भइसकेको छ, गत वर्ष त्यो संख्या २८ थियो। सोमबार मात्र रोटेनबर्गस्थित आश्रयस्थलमा आगजनी भएको छ। प्रहरीका अनुसार त्यसमा परी ५ जना घाइते भएका छन्। त्यसमा संलग्न व्यक्ति पहिचान भएको छैन।
0 comments:
Post a Comment