भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । नेपालविरुद्ध नाकाबन्दी लगाउने
आफ्नो सरकारको कदमविरुद्ध भारतीय नागरिक
विभिन्न माध्यमबाट मुखर हुँदैछन्। भारतीय सामाजिक
अगुवा तथा बौद्धिक जमात पनि नाकाबन्दी र
हस्तक्षेपको विपक्षमा खडा भएको छ।
उनीहरूले आफ्नै सरकारको कदमको खरो आलोचना गर्दै
छिमेकीलाई जानाजान संकटमा धेकेल्ने काम सही
नहुने बताएका छन् । यस्तो नाकाबन्दीविरुद्ध
नेपालका ठाउँ–ठाउँमा भइरहेको प्रदर्शनले नेपालीमा
उत्पन्न हुने भारतप्रतिको आक्रोश आफ्ना लागि
राम्रो नहुने टिप्पणी उनीहरूको छ । सरकारी कदमले
दुई देशका नागरिकबीचको सदियौं लामो सम्बन्धमा
खलल आउने बताउँदै उनीहरूले यस्तो कदम तत्कालै
सच्याउन पनि आफ्नो संस्थापनलाई सुझाएका छन् ।
‘नेपालतिर नाकाबन्दी लगाएर हाम्रो सरकारले
विश्व समुदायमा प्रवाह गर्न खोजेको सन्देश के हो
बुझिनसक्नु छ,’ सीमावर्ती नक्सलबाडी बजार
क्षेत्रका सामाजिक अगुवा राजेश सिन्हाले
नागरिकसँग भने, ‘यसले हामी नागरिक पंक्तिलाई
पनि आश्चर्यचकित बनाएको छ।’
पश्चिम बंगालको सीमावर्ती इलाकाको सम्पूर्ण
कारोबार नेपालकेन्द्रित रहेको तर नाकाबन्दीले ती
सबैमा असर परेको उनको भनाइ छ । स्थानीय बजार
समितिका कार्यकारी सदस्य तथा अन्य आधा दर्जन
सामाजिक संघसंस्थामा सक्रिय सिन्हाले
आक्रोशमिश्रित स्वरमा प्रश्न गरे, ‘भारतभन्दा
शक्तिशाली देश पनि विश्वमा छन् । उसको आन्तरिक
मामिलामा उनीहरूले यस्तै हस्तक्षेप गरे भने सरकारलाई
सह्य हुन्छ?’
उनले नाकाबन्दी तत्काल अन्त्य गरेर दुई देशबीचको
सम्बन्ध सुधार्नुपर्ने बताए । ‘नेपालमा भइरहेको
भारतविरोधी गतिविधिबारे हामी जानकार छौं,’
उनले थपे ‘यस्तो अवस्थाले भारतलाई नै राम्रो गर्दैन ।’
राजनीतिक तहको दृष्टिकोण बदल्न सहज भए पनि
सर्वसाधारणको मनमा स्थापित हुने आक्रोश मत्थर
पार्न गाह्रो हुने उनको भनाइ छ ।
नेपालमा संविधान जारी भएपछि स्वागत नगरी
त्यसविरुद्ध अघोषित नाकाबन्दीको कदम चालेको
भारतीय संस्थापनको निर्णयले नेपाली जनजीवन
प्रभावित भएको छ । भारतले खासगरी पारवहन तथा
अन्य सन्धि सम्झौता उल्लंघन गर्दै पेट्रोलियम पदार्थ,
खाना पकाउने ग्यास जस्ता अत्यावश्यक सामग्रीमा
रोक लगाउँदै आएको छ जसका कारण नेपाली
बजारमा ती सामग्रीको हाहाकार भएको छ ।
एक साताययता नेपालतिर पेट्रोलियम तथा खाना
पकाउने ग्यास लगायतका सामान बोकेर आउने गाडी
भारतीय सुरक्षा बलले नाकामै रोकेर राखेको छ ।
मंगलबार चामल, आलु, माछा, चुना, कोइला
लगायतका सामान बोकेका १५ वटा गाडी
काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएका छन् । तर
भन्सार प्रक्रिया पूरा गरेका सयौं इन्धनबाहक गाडी
भने रोकिएका छन्।
‘आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी भनेर देशभित्र
चिनाउने भारत सरकारले देशबाहिर हस्तक्षेप गर्नु
दादागिरी हो,’ दार्जिलिङका लेखक तथा पत्रकार
मनोज बोगटीले नागरिकसँग भने, ‘नाकाबन्दी गर्नु
मोदी सरकारको हैकम मात्रै हो ।’ नेपालको समस्या
उसको आन्तरिक मामिला भएको उल्लेख गर्दै बोगटीले
त्यसमा दबाब दिने, नाकाबन्दी गर्ने कदम सही नहुने
बताए ।
‘आफ्नो देशभित्र रहेका नेपालीभाषीको माग
सम्बोधन गर्न उदासीन रहने सरकारले नेपालको
आन्तरिक मामिलामा हस्तक्षेप गर्नु साम्रज्यवादी
सोच हो,’ बोगटीले थपे, ‘अबको जमानामा यस्तो
हैकम चल्दैन।’ नेपालीभाषी भारतीय लेखक राजा
पुनियानी एक स्वाधीन देशले अर्को स्वाधीन
देशमाथि हस्तक्षेप गर्ने कदम उचित नहुने बताउँछन् ।
‘नेपालको बनिसकेको संविधानको संरचनामा भारतले
सुझावका रूपमा भन्दै हस्तक्षेप गर्नु उचित होइन,’ उनले
भने ।
बंगाली भाषाका लेखक तथा राजनीतिक
कार्यकर्ता विनय गांगुली भारतीय पक्षले नेपाल
जस्तो छिमेकीलाई यस्तो अन्याय गर्नै नहुने बताउँछन् ।
भारत हात्तीगिस्साका स्थायी बासिन्दा उनी
चर्चित वाम नेता कानु सन्यालका छिमेकी र
अनुयायी हुन् । सन्यालको जीवनकालका अन्तिम
केही वर्ष उनलाई आश्रयसमेत दिएका गांगुलीले
फोनमा भने, ‘भारतीय संस्थापनलाई सबैभन्दा ठूलो
गुन लगाउने छिमेकी कोही छ भने त्यो नेपाल हो ।
इतिहासदेखि वर्तमानसम्म नेपालले भारतीय
संस्थापनको सधैँ सहयोगी भएर काम ग¥यो । आज
उसैको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र
नागरिकलाई दुःख दिने कदम जायज हुनै सक्दैन ।’
नागरिक दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment