भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ, २ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका
सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताउनुभएको छ ।
मन्त्री चौधरीले एक हप्तामा जनतालाई चाहिने
सम्पूर्ण औषधि आइपुग्ने बताउँदै औषधिको अभाव हुन
नदिन सबै सप्लायर्स र टेन्डरदातालाई निर्देशन
दिइसकेको र एक हप्ताभित्र औषधि उपलब्ध नगराए
उनीको वोलपत्र (टेन्डर) खारेज गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले सबै अस्पतालका निर्देशकलाई
बोलाएर अभाव भएका औषधिको सूची मागेको छु, एक
हप्ताभित्रै सबै अस्पतालमा अभाव भएका औषधि
पुग्छन् ।”
“जनताले पाउने स्वास्थ्य सुविधा नरोक्न अन्य देशबाट
पनि कमी भएका औषधि आयात गर्नेबारे पनि छलफल
भइरहेको छ, उहाँले भन्नुभयो, हामीलाई औषधि
चाहिएको छ भारतबाट मात्र ल्याउनुपर्छ भन्ने छैन
अन्य देशबाट पनि ल्याउने तयारी गरेका छौँ ।”
अस्पतालमा औषधि अभाव भएको अवस्था मध्यनजर गर्दै
स्वास्थ्य मन्त्रालयले विदेशीदाताबाट औषधि
ल्याउने तयारी पनि गरेको छ ।
भारतको दुई महिनादेखिको अघोषित
नाकाबन्दीका कारण भारतबाट आउने औषधि
नाकामै रोकिएपछि नेपालका स्वास्थ्य संस्थामा
औषधिको अभाव भएको हो ।
नेपालमा औषधि अभावले जनताले पाउने स्वास्थ्य
सुविधाबाट बन्चित हुन नपरोस् भनेर स्वास्थ्य
मन्त्रालयले विदेशीदाताले औषधि दिने बचन दिएपछि
औषधि ल्याउन लागेको स्वास्थ्य मन्त्रालयले
जनाएको छ ।
मन्त्री चौधरीले विदेशीदाताले औषधि दिन
प्रतिवद्धता जनाएको तर भन्सारमा लाग्ने एक
प्रतिशत मूल्य अभिवृद्विकर (भ्याट) नेपालले नै
तिर्नुपर्ने सर्त राखेको बताउनुभयो ।
“नेपाली जनतालाई स्वास्थ्य सुविधाबाट बन्चित हुन
नदिन एक प्रतिशत भ्याट तिर्न अर्थ मन्त्रालयसँग कुरा
भइसकेको र अर्थ मन्त्रालय भ्याट तिर्न तयार
भइसकेको छ, अब चाँडै औषधि आउँछ,” मन्त्री चौधरीले
भन्नुभयो ।
उहाँले औषधि पु¥याउनका लागि इन्धन सहयोग गर्न
आपूर्ति मन्त्रालयमा कुरा गरेको र अब चाँडै
मौज्दातमा भएका औषधि स्वास्थ्य संस्थामा पुग्ने
प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले नेपाली नाकामा आई
गोदाममा थन्किएका औषधि काठमाडौँसम्म ल्याउन
पनि पहल गरिरहेको जनाएको छ । त्यसका लागि
तराईमा आन्दोलनरत दललाई पनि औषधि आयातमा
सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।
यस्तै, भारतमै रोकिएका औषधिका ट्रकलाई अन्य
नाकामा ‘डाइभर्ट’ गरी नेपाल ल्याउन भारतीय
राजदूतलाई पत्र पठाइएको छ ।
भारतीय दूतावासले नाकामा रोकिएका औषधि
नेपाल ल्याउन सहयोग गर्ने आशयसहितको जवाफीपत्र
स्वास्थ्य मन्त्रालयमा पठाएको मन्त्री चौधरीले
जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment