भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोर्चुगलको अल्गार्भमा बस्ने चितवन सिमलटाँडीका
२७ वर्षीय राजन अधिकारी तीन सातादेखि
राम्रोसँग निद्रा नलाग्ने समस्याबाट ग्रस्त भए।
त्यसले उनलाई काममा समस्या पर्यो। हँसिला र
ठट्यौलो स्वभावका राजनले हाँस्न बिर्सेपछि
साथीहरूले उनलाई अस्पताल पुर्याए। तीन
महिनाजतिको उपचारपछि उनी सामान्य जीवनमा
फर्किएका छन्।
‘जीवनदेखि विरक्तिइसकेको थिएँ। अहिले आशा
पलाएको छ,’ उनी भन्छन्, ‘ऋण खोजेर आएको। काम
पाइएन आउनेबित्तिकै। घरमा के भयो होला भन्ने
सोच्दासोच्दै एकोहोरिने पो भएछु।’
झन्डै ९ हजारको संख्यामा नेपालीहरूको बसोबास
रहेको दक्षिणी युरोपको पोर्चुगलमा पछिल्ला दुई
वर्षमा डिप्रेसनग्रस्त नेपालीको संख्या ह्वात्तै बढेको
छ। राजधानी लिस्बनका व्यापारी डिल्लीराम
चापागाईंले हालै आत्महत्या गर्न तम्सिएका
स्याङ्जाका एक युवकलाई उपचार गरेर नेपाल
फर्काइदिएपछि यो विषयले चर्चा पाएको हो।
युरोपेली संघको कमविकसित मुलुक पोर्चुगलले अल्प
जनसंख्या र युवाहरू लक्जेम्बर्ग, स्विजरल्यान्ड,
फ्रान्सलगायत देशमा पलाएन भएपछि दक्ष र अदक्ष दुवै
किसिमका कामदार आप्रवासीहरूबाट पूर्ति गर्दै
आइरहेको छ। न्यूनतम तलब पाँच सय युरो अर्थात् झन्डै ६५
हजार नेपाली रुपैयाँ हो। तर त्यही पैसाबाट
खानेबस्ने सबै बन्दोबस्त मिलाउनु पर्दा मुस्किलले
२५/३० हजार बच्छ। काठमाडौँमा म्यानपावर
कम्पनीलाई १५ लाखसम्म तिरेर नेपालीहरू पोर्चुगल
आइपुग्छन्। ऋण खोजेर पोर्चुगल आइपुगेर साँवा त परै
जाओस् ब्याजसमेत तिर्न नसक्दा तीव्र तनावमा गुज्रनु
अस्वाभाविक पनि भएन।
पोर्चुगलका झन्डै ९ हजार नेपालीको स्थिति फरक छ।
सन् २००१ तिर आइपुग्नेहरू सपरिवार बसेका छन्। कसैले
व्यापार व्यवसाय गरेका छन्। भाषामा पनि दक्ष छन्।
तीमध्ये धेरैजसो बेलायत, नर्वे, बेल्जियमजस्ता धेरै आय
हुने देशतिर गइसकेका छन्। पछिल्लो समय आर्थिक
मन्दीको चपेटामा परेपछि धेरै पोर्चुगिज युवा अन्य
देशतिर लागेपछि वैधानिक रूपमै अन्य देशबाट कामदार
मगाउन सरकारले स्वीकृति दिएको छ।
पोर्चुगलको वास्तविकता
युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने
पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य
लोकतान्त्रिक मुलुक हो। सन् १९९६ देखि पोर्चुगलमा
नेपालीको बसोबास सुरु भएको हो। ब्राजिल,
मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत
विभिन्न मुलुकको औपनिवेशिक राज्य भए पनि
आर्थिक रूपमा कमजोर भएकाले विदेशी कामदार र
लगानी भित्र्याउने खुला बजार नीतिअन्तर्गत
प्रवासीहरूका लागि ढोका खोलिएको हो।
राणा खलक र सम्भ्रान्त नेपालीहरूको पहुँच पुग्ने युरोप
आउजाउ २०४७ सालको क्रान्तिपछि नेपालीका
निम्ति सहज बन्न पुगेको हो। जर्मनी, बेल्जियम,
डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा
आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम
बढेपछि नेपालीको बसाइ बाक्लिन थालेको हो।
१२ वर्षे द्वन्द्वकालमा नेपालीहरू युरोप प्रवेश क्रम
ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल
भित्रिनेहरूको संख्या पनि बढेको हो।
पोर्चुगलका महावाणिज्यदूत मकरबहादुर हमालका
अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू
काममा मिहिनेत गर्ने, अपराध कर्ममा संलग्न नहुने
भएकाले नेपालीहरू पोर्चुगिज समाजमा असल
मानिसका रूपमा परिचित छन्। विभिन्न व्यवसायमा
संलग्न भएर पनि नेपालको परिचय बढेको छ।
राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले
नेपालको चिनारी बढाएका छन्। त्यसबाहेक
नेपालको हस्तकला, वास्तुकला र पहाडिया कागजले
पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ।
कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका उति
साह्रो गाह्रो छैन। युरोपेली संघका २७ देशमध्ये कुनै एक
देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल
प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन
जरुरी छ। आउनेबित्तिकै कर कार्यालयमा दर्ता
भएपछि काम खोज्न सकिन्छ। ६ महिनासम्म कर
तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुन
पाउँ भनी निवेदन दिन सकिन्छ।
गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा
अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर
कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने
अनि काम गर्ने कागज पाइन्छ। यो कागजले नेपाल
आउन-जान, युरोपेली संघका अन्य मुलुकमा घुम्न र यही
व्यापार व्यवसाय गर्न खुला हुन्छ।
विभिन्न म्यानपावरहरूमार्फत् आउने प्रक्रिया भने फरक
छ। विभिन्न कम्पनीहरूलाई कामदार आवश्यक परेको
पोर्चुगिज सरकारबाट प्रमाणित गरेर नेपालका
म्यानपावरहरूसँग समन्वय गरी नेपाली कामदार मगाउने
क्रम बढिरहेको छ। यसरी नेपालमै भिसा र आवासीय
कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन्।
यसरी नेपाली पठाउने पेसामा इजरायल, पोर्चुगल र
नेपालका केही दलाल संलग्न छन्।
‘सुरुमा ५ लाखमा आउँथे। अहिले १८ लाखसम्म तिरेर
आउने गरेको सुनिएको छ,’ पुराना व्यापारीसमेत
रहेका कन्सुलर हमाल भन्छन्, ‘युरोपमा पुग्न सके कमाइन्छ
भन्ने सोचाइले यसरी आएकाहरू बिचल्लीमा परेर
हामीसँग गुहार माग्छन्। कतिले तलबै नपाउने र अत्यधिक
श्रम गर्नु परेको गुनासो गर्ने गर्छन्।’
नेपालबाट आउने सोझा नेपालीको तलबसमेत
इजरायली र पोर्चुगिज दलालहरूले बीचैमा कमिसन
खाएर अत्यन्त न्यूनतम भुक्तान गर्ने गरेको पाइएको छ।
अल्गार्भका सुन्दरकुमार थापा इजरायली साहुसँग
झगडा गरेर काम छाडी अर्कैमा लागेका थिए।
बीचमा काम छोड्न पाइन्न भनेर तलब रोक्न खोजे पनि
पोर्चुगिज कानुन अनुसार सुविधा नपाएकाले
वकिलमार्फत् अदालत जाने धम्की दिएपछि कागजात
र तलब दुवै पाएका थिए।
गैरआवासीय नेपाली महासंघका अध्यक्ष रमेश गुरुङ
भन्छन्- धेरै नेपालीहरू अप्ठेरो पर्ने डरले शोषणका कुरा
बाहिर ल्याउँदैनन्। तनाव लिएर बस्छन्। हामीसँग
सहयोग माग्न आउनेहरूलाई पूर्ण रूपमा कानुनी
उपचारका निम्ति सहयोग गरेका छौँ।
नेपाली दूताबास फ्रान्सको अपारदर्शी काम
पोर्चुगलका दलाल कम्पनीहरूले नेपालबाट कामदार
ल्याउन नेपाली दूताबास फ्रान्सको अनुमति नभई
कागजात अगाडि बढाउन पाउँदैनन्। दूताबासका
कर्मचारी र दलालहरूको मिलेमतोमा नेपालीहरू
मर्कामा परेको थाहा हुँदाहुँदै पनि दूताबासले आँखा
चिम्लेर सिफारिस गरिदिने आरोप कामदारहरूको छ।
कन्सुलर हमालको भनाइ छ- दूताबासका
कर्मचारीलाई नेपालीहरूले बेलैमा तलब नपाएका,
भेडाबाख्राझैँ खाँदिएर बस्नु परेको र पोर्चुगलको
कानुन अनुसार व्यवहार नगरिएको विषयमा मैले सचेत
गराएको छु। समन्वयबिना सही गरिदिँदा
काठमाडौँमा १८ लाखसम्म तिरेर कामदारहरू आउँछन्।
यो रोकिनु पर्छ।
तर दूताबास यो कुरा स्वीकार्न तयार छैन। पटक-पटक
वक्तव्य नै निकालेर आफूहरूले वैधानिक रूपमा आएर
कागजलाई अस्वीकृत गर्न नमिल्ने र कानुनबमोजिम
काम गरिरहेको दाबी गर्दै आइरहेको छ।
पोर्चुगलमा जेनतेन ५ वर्ष गुजारेर यहाँको नागरिकता
निकालेपछि संसारको जुनसुकै देशमा पनि बाटो खुल्ने
आशमा पनि नेपालीहरूले चुपचाप अन्याय सहने गरेको
पाइएको छ ।
डिप्रेसन, रोकथाम र उपचार
माओवादी युद्ध रोकिएपछि फस्टाएको क्षेत्र
म्यानपावर नै हो। खाडी, कोरिया, जापान,
युरोपसम्म युवाहरू जताततै हाम्फालेका छन्। चाहना
बढेको बढ्यै छ। महँगी उत्तिकै छ। जसरी पनि कमाउने
चक्करमा छन् युवाहरू। त्यसैले जापानको भिसा खोज्न
काठमाडौँ निस्केको युवक दलालको चक्करमा
पोर्चुगल आइपुग्छ।
भन्न खोजिएको के हो भने, कुनै पनि काम योजना
अनुसार चलेको छैन। चलोस् पनि कसरी? सूचनाको
स्रोतसम्म पुग्न दलालहरूको जालो, म्यानपावरको
जालो तोड्नु पर्छ। जुन कुरा नेपालमा असम्भवप्राय छ।
सही सूचनाको अभावमा अपर्झट गरिने निर्णय र अधैर्य
काम, अनि सम्भावित खतराका कारण युवाहरूमा
तनाव बढ्छ।
लिस्बनका व्यवसायी डिलाराम चापागाईं भन्छन्,
‘पोर्चुगल आउन खोज्नेहरूले पहिल्यै यहाँको
वास्तविकता बुझ्नु राम्रो हुन्छ। गलत सूचनाका कारण
धेरै पैसा खर्च गर्दा यहाँ आएर दु:ख पाइन्छ।
उत्तरी आयरल्यान्डमा बसोबास गर्ने र नेपालको
ग्रामीण भेकमा स्वास्थ्य सेवाको क्षेत्रमा राम्रो
अनुभव भएकी डा. सवाना प्रधान भन्छिन्, ‘सामान्य
डिप्रेसनले मानिसलाई आफ्नो लक्ष्यमा दगुर्याउँछ। तर
जब डिप्रेसन बढ्दै जान्छ, यसले दैनिक जीवनमा अप्ठेरो
पार्छ। युरोपको जीवनमा नेपालमा बसेर कल्पना
गरेजस्तो छैन। सबै चिज सिस्टममा चलेका छन्। यहाँका
मानिस एक्लै बाँच्न बानी परिसकेका छन्।
हाम्रोजस्तो संयुक्त परिवार र सामुहिक रूपमा बस्ने
बानी भएका नेपालीलाई अचानक अर्को परिवेशमा
आइपुग्दा कल्चरल सक् हुनु स्वाभाविक हो।’
उनका अनुसार धूमपान र मध्यपानको साहारामा
मनभित्र गुम्सिएको कुरा बिर्सन सकिन्छ भन्ने केही
युवालाई लाग्छ। त्यो गलत हो। जुन देशमा जाने हो
त्यो देशको भाषा संस्कृतिको बारेमा कम्तिमा
ज्ञान राख्ने, मनको कुरा सँगै काम गर्ने साथीहरूलाई
भन्ने र सामूहिक रूपमा बस्ने बानीले डिप्रेसन कम हुन्छ।
घर परिवारबाट पनि खाली समस्या मात्रै देखाउने र
विदेशमै बस्ने, अझै धेरै कमाउने कुरामा प्रोत्साहन दिने
खालका कुरा गर्नुभन्दा स्वास्थ्यको कुरामा ख्याल
गर्न अभिप्रेरित गरे युवामा यस्तो समस्या कम हुन
सक्छ।
राजधानी लिस्बन र खेतीमा काम गर्ने
नेपालीहरूसँगको सम्पर्कका आधारमा कतिपय नेपाली
नेपालबाट निद्रा लाग्ने औषधी मगाएर स्वस्थ हुने
प्रयासमा छन्। कतिपय स्थानीय स्वास्थ्य चौकी,
अस्पतालमा क्रोनिक भएपछि मात्र पुग्ने गरेका छन्।
पोर्चुगलमा मात्र होइन, पुरै युरोपमा सबै ठूला-साना
राजनीतिक दलका शाखा खोलिएका छन्।
जिल्लैपिच्छे, जाति जनजातिपिच्छे, हुँदाहुँदा
जिल्लाभित्रका पनि गाउँ भेकपिच्छे संस्थाहरू खोल्ने
होड चलेको छ। तर प्रवासी कामदारभित्रको यो
समस्या भने कसैको चासो र चिन्ताभित्र परेको
देखिएको छैन।
0 comments:
Post a Comment