Home » , » यति थोरै जनसंख्या भएको देशमा संघीयता नै आवश्यक थिएनः उपाध्यक्ष भण्डारी

यति थोरै जनसंख्या भएको देशमा संघीयता नै आवश्यक थिएनः उपाध्यक्ष भण्डारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दलहरूबीचको १६ बुँदे सहमति, पछिल्लो राजनीति  घटनाक्रम र भूकम्प पछिको उद्धार, राहत र पुनःस्थापनाको विषयमा नेकपा एमालेको उपाध्यक्ष विद्यादेवी भण्डारीसँग नेपालपाटी डटकमका लागि प्रेम गौतमले गरेको कुराकानीः

दलहरुबीचको १६ बुँदे सहमति पछि संविधान निर्माणको ढोका खुलेकै हो त ? विरोधका स्वरुहरु पनि सुनिएका छन नि ?
सवै कुरामा सर्वसम्मती त कहाँ हुन्छ र ? विविध विचार राख्ने यत्ति धेरै पार्टीहरूबीच अलि अलि असहमति देखिनु स्वभाविक हो । प्रदेशहरु कति राख्ने, निर्वाचन प्रणाली कस्तो हुने भन्ने सन्दर्भमा निकै लामो छलफल भएको थियो । अहिले ८ प्रदेश  र मिश्रीत (६०/४०)  निर्वाचन प्रणालीमा खासगरी नेकपा एमाले र नेपाली कांग्रेसले सहमति गरी त्यसमा एमाओवादी र फोरम लोकतान्त्रिकलाई समेत ल्याएपछि संविधान निर्माणको बाटो खुलेको छ । अव चाहीँ संविधान बन्ने कुरामा बढी आशा गर्ने ठाउँ देखिएको छ ।

एमालेले ६ प्रदेशमा अडान राखेको थियो । तर, एकाएक आठ प्रदेशमा सहमति गर्ने अवस्था किन बन्यो ?
बाहिरबाट हेर्दा अलि अनौठो जस्तो देखिएको छ  । तर, यो सवै सहमतिकै लागि गरिएको हो । एमालेको विगत तिर फर्किएर हेर्ने हो भने सुरूमा हामीहरूबीच अन्यौल नै थियो । संघीयताको विषयमा स्पष्ट दृष्टिकोण नभएपछि भिन्नभिन्न विचारहरू बाहिर पनि आए । छलफल गर्ने क्रममा हामीले सात प्रदेशको प्रस्ताव ल्यायौँ । जनताको कुरा सुन्ने हो भने  त्यो सात प्रदेश पनि बढी हुने देखियो । त्यसपछि हामीले ६ प्रदेशमा जाऔँ भन्यौँ ।  नेपालजस्तो सानो देश, त्यसमाथि पनि भौगोलिक अवस्थिति, सामाजिक बनोट एवम् मानवबस्तीको हिसावले बढी प्रदेश उपयुक्त नहुने भएकाले यस्तो निष्कर्ष निकालिएको हो ।

साँच्चै भन्ने हो भने यति सानो र यति थोरै जनसंख्या भएको देशमा संघीयता नै आवश्यक थिएन । विकेन्द्रिकरणलाई नै राम्रोसँग लागू गरेको भए पुग्थ्यो । तर, २०६२÷६३ सालको जनआन्दोलनपछि जनतालाई अधिकार सम्पन्न बनाउने नाममा संघीयतामा जाने कुरा भयो । हाम्रो पार्टीभित्र कोही अलि धेरै प्रदेशको पक्षमा केही अलि थोरै प्रदेशको पक्षमा थिए । म लगायत धेरै साथीहरु कम प्रदेश हुनुपर्छ भन्ने पक्षमा थियौँ । भूगोलको आधारमा सीमाङ्कन हुनुपर्छ र थोरै प्रदेश बनाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो । पार्टीले पछि  ६ भन्दा बढी प्रदेशमा जानु हुँदैन भन्ने अडान राखेको थियो । तर, सहमतिका लागि हामीले ८ प्रदेशमा सम्झौता गरेका छौँ । हेरौँ यसलाई कति लागु गर्न सकिन्छ । यो सम्झौता हाम्रो लागि नयाँ हो । जनताले यसलाई स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा प्रदेशको संख्या तोकेर सीमाङ्कन गर्न थालेपछि बल्ल थाहा हुन्छ । सीमाङकन गर्ने बेलामा यो आवश्यक छ कि छैन भनेर अझ राम्रोसँग छलफल हुन्छ भन्ने मलाई लाग्छ ।

भनेपछि आठ प्रदेशमा पनि तलमाथि हुन सक्छ ?
अहिले नै तलमाथि हुन सक्छ भनेर भन्न मिल्दैन । प्रमुख चार दलका शीर्ष नेताहरुले हस्ताक्षर गरिसक्नुभएको छ । जसलाई चित्त बुझेको छैन, उनीहरुले पनि त्यति ठूलो हिसावले विरोध गर्नु हुँदैन । तर, स्पष्ट रूपमा भन्नै पर्दछ मैले चाँही बढी प्रदेश नपचाएको स्थिति नै हो । मलाई ८ प्रदेश हाम्रो देशले धान्न सक्छ जस्तो लाग्दैन । यहाँ गरिवी छ, वेरोजगारी छ, यति सानो जनसंख्या छ । यस्तो अवस्थामा जुन ढंगले सरकारको सेवा जनताले पाउनुपर्ने हो त्यो त हामीले दिन सकेका छैनौँ । त्यसमाथि भूकम्पले थप संकट ल्याइदिएको  छ । खर्वौंको क्षति भएको छ । सिंहदरबारदेखि लिएर जंगी अड्डासम्म क्षतिग्रस्त  भएका छन् ।  स्कूल, कलेज, सरकारी कार्यालयदेखि जनताका घरसम्म भत्किएका छन । ति सवैको पुनःनिर्माण गर्नुपर्ने छ । अहिलेको सहमतिअनुसार जाने हो भने केन्द्रमा दुई वटा र प्रदेशमा एक–एक वटा गरी संसद् भवन मात्रै हामीलाई दश वटा चाहिन्छ । तर हामी अहिले भत्किएका स्कूल कलेज त बनाउन नसक्ने अवस्थामा छौँ । त्यसैले यो लागू गर्न गाह्रो छ भन्ने मलाई लागेको छ ।

एमाले सरकार परिवर्तन गर्न चाहने तर प्रधानमन्त्रीले संविधान नबनाइ सत्ता नछाड्ने भएपछि तपाईंहरु आठ प्रदेश मान्न तयार भएको चर्चा पनि सुनिन्छ नि ?
बाहिरबाट हेर्दा त्यस्तो कुरा पनि देखिएला । हामी सात प्रदेशको अडान थियौँ अझ त्यो भन्दा पनि तल ल्याउन चाहन्थ्यौँ  । तर, एमाओवादी पहिले १४ प्रदेशको अडान बसेको थियो ।  उनीहरु भरसक अझ माथि जान चाहन्थे । पछि त्यसबाट घटेर ९÷१० प्रदेश भन्न थाले । सहमतिको विन्दु खोज्ने क्रममा कांग्रेस पनि लचिलो हुँदै गयो । हामीले मात्र अडान राख्यौँ भने संविधान जारी हुन दिएन भन्ने सन्देश जाने स्थिति बन्यो । राष्ट्रिय विपतको बेलामा पनि एमालेले प्रदेशको संख्यामा अडान राखेर संविधान बन्न दिएन भन्ने सन्देश जानु हामीलाई राम्रो लागेन । संघीय प्रदेशको विषयमा हामीले कडा अडान राखेकै हो । यस विषयमा अहिले पनि पार्टीभित्र निकै ठूलो मत छ । तर, निकासका लागि भनेर हामीले आठ प्रदेशमा सहमति गरेका हौँ । यसलाई सरकारसँग जोडेर हेर्नुपर्ने आवश्यकता म देख्दिन । नेपाली कांग्रेस र हामी मिलेर दुई तिहाइको सरकार बनाउने बेलामै संविधान बनेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन गर्ने सम्झौता भएको थियो । अहिले पनि त्यहि कुरालाई दोहो¥याएको मात्र हो । यो नयाँ कुरा होइन । त्यतिबेला भन्दा अहिले हामी एक प्रदेश मात्र बढेका हौँ । त्यसकारण सरकारमा जान हतारिएर एमालेले यस्तो निर्णयमा गर्यो भन्ने कुरा मानिसहरुका अनुमान मात्र हो, बास्तविकता त्यस्तो होइन ।

अव कसरी अगाडि बढ्छ त राष्ट्रिय राजनीति ?
पछिल्लो पट विकसित भएको राजनीतिक घटनाक्रमलाई हेर्दा अवको राजनीति सहमतिकै साथ अघि बढ्ने देखिन्छ । मलाई लाग्छ असार मसान्त वा साउनको पहिलो हप्तासम्म हामी ‘फास्ट ट्याक’ बाट संविधान जारी गर्न सक्छौँ । सहमति भएका वा नभएका विषय मस्यौदा समितिमा पठाइन्छ । मस्यौदा समितिले मस्यौदा तयार पारेर संविधान सभामा पठाएपछि जनतामा पठाउने काम हुन्छ ।  यसरी सवै प्रक्रिया पुरा गर्ने तर अवधि चाँही छोट्याएर जाने हाम्रो सोच छ । संविधान पनि जारी हुने, नयाँ सरकार पनि बन्ने र राष्ट्रको पुनःनिर्माणमा सवै पार्टीहरु एकजुट भएर जाने पवित्र आसयका साथ सम्झौता भएको हो । 

प्रशंग बदलौँ, भूकम्पपछि  सरकारले गरिरहेको काम कारवाहीलाई कसरी लिनुभएको छ ?
सरकारले काम गर्ने कोसिश त गरेकै हो । तर, यथार्थ भन्नु पर्दछ सरकार पटक्कै सक्षम देखिएन । हाम्रो राज्य संयन्त्र निकै कमजोर रहेछ । सक्षम जनशक्ति जस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरु नभएका होइनन् तर सरकारको व्यवस्थापकीय कमजोरीको कारणले विदेशीको मुख ताक्नुपर्ने स्थिति बन्यो ।

भूकम्प आउँछ भन्ने कुरा पहिले नै थाहा थियो । तपाईहरु पनि सरकारमा हुनुहुन्छ, यत्रो विपत्तिमा सरकारसँग पाल समेत रहेनछ नि ?
हो, एउटा पाल समेत रहेनछ । एउटा पाल त आम मानिसहरुले पनि राख्न सक्थे नि । त्यो पनि रहेनछ । भूकम्प आएपछि कसरी जोगिने भन्ने मात्र  कुरा भए । तर पालमा बस्नुपर्छ, जनताले पनि आफ्नो व्यवस्था आफैँ गर्नुपर्छ भन्ने सन्देश चाँही दिन सकिएको रहेनछ । भूकम्पको दृष्टिकोणले जोखिमपूर्ण देश भएकाले कस्ता खालका संरचना बनाउने, कसरी जोगिने, बाढी आउँछ, आगलागि हुन्छ, पहिरो जान्छ भन्ने कुरालाई ध्यानमा राखेर संरचना बनाएको र बन्दोबस्तीका सामान तयार पारेको भए यस्तो अवस्था आउने थिएन ।

भूकम्प प्रभावित क्षेत्रमा खटाइएका एमाले स्वयंसेवकहरुले कसरी काम गरिरहेका छन ? त्यसमा तपाईंको आफ्नो भूमिका के छ ?
नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा करिव २८ हजार स्वयंसेवक परिचालन गरेको छ । बडो उत्साहको साथ स्वयंसेवकहरुले काम गरिरहेका छन । जनतामा राम्रो प्रभाव परेको जनताहरुकै अभिव्यक्तिबाट सुनिन्छ  । तर अलिकति ढिलो भयो भन्ने कुरा चाहिँ उठेको छ । सुरुमा कसरी जाने भन्ने विषयमा हाम्रै बीचमा पनि अन्योल भयो । सुरुमा हामी पनि विना पहिचान गइयो । त्यसैले कोही पनि आएनन भन्ने भयो । पछि हामी पहिचान सहित खटिइरहेका छौँ । भत्केका घरहरु पन्छाइदिने, अस्थायी घरटहराहरु बनाइदिने काम भएको छ । जनताको घर टहराका साथै बढी मात्रामा हामी स्कूल, कलेज, स्वास्थ्य संस्था बनाउने काममा लागेका छौँ । अरु राहतको सामाग्री पनि जिल्ला जिल्लामा पठाएका छौँ । खानेकुराहरु, दाल, चामल, नुन तेल आदि पनि विभिन्न ठाउँमा पु¥याएका छौँ । काँही पुगेन भन्ने आयो भने हामी पुगेका छौँ । हामीले प्रचार गरेका छैनौँ । तर, धेरै ठाउँमा राहत पु¥याएका छौँ । हामी कार्यविभाजन गरेर प्रभावित क्षेत्रमा खटिएका छौँ । म, पोलिटब्यूरो सदस्य युवराज कार्कीलगायत काभ्रेको स्वयमसेवक परिचालन अभियानको अनुगमनमा खटिइरहेका छौँ ।

अव नवनिर्माण र पुनर्निर्माण अभियान कसरी अगाडी बढाउनुपर्ला ?
यसमा वृहत योजना बनाएरै अघि बढ्नु पर्दछ । पहिलो कुरा ऐतिहासिक धरोहरहरु, मठमन्दिरहरु, धार्मिक, सामाजिक महत्वका संरचनाहरुलाई पहिलेकै झल्को दिने गरी पुनर्निर्माण गरिनुपर्छ । भूकम्प प्रतिरोधी तर त्यसमा कला भने पुरानै झल्किने गरी गर्नूपर्छ भन्ने दिशामा छलफल भएको छ । आर्थिक, प्राविधिक कुरामा सके सकेसम्म वैदेशिक सहायता अनुदान भन्दा आफ्नै आन्तरिक स्रोत परिचालन गरेर बनाउँदा राम्रो हुन्छ भन्ने विचारहरु व्यक्त भइरहेको छ । स्कूल, कलेजहरु पनि धेरै बनाउनुपर्ने छ । व्यक्तिहरुको पनि बासस्थान बनाउनुपर्ने छ । यसमा एकीकृत बस्तीहरु बसाल्नेतर्फ विशेष ध्यान दिनुपर्छ । कुन जमिनमा घर बनाउँदा कम जोखिम हुन्छ, त्यो हेरेर जानुपर्छ । संसदबाट पारित भएको संकल्प प्रस्तावमा पनि त्यही कुरा उल्लेख छ ।

नवनिर्माण त नयाँ सरकारले नै गर्ने होला हैन ?
(हाँस्दै) हेरौँ त्यो बेलासम्म कतिवटा सरकार परिवर्तन हुनेहुन ।  तर अहिले भन्दा उद्दार राहतको काम यो सरकारले ग¥यो अव आउने सरकारले नवनिर्माणको काम गर्नु पर्छ ।

आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि दलहरुबीच सहमति भएको छ रे नि ?
दलहरुको बीचमा त्यस्तो लिखित सहमति भएको छैन । कांग्रेस र हाम्रो बीचमा पहिला कुरा हुँदा यो सरकारको नेतृत्व कांग्रेसले गरेपछि आउने सरकारको नेतृत्व एमालेले गर्ने भन्ने समझदारी भएको थियो । तर, अहिले चार दलबीच कुरा हुँदा लिखित सहमति भएको छैन । तर, त्यसमा सवैले आमसहमति जनाएको जस्तो मलाई लाग्छ ।

कांग्रेससँग विगतमा भएको सहमति भन्दा पनि अहिले एमाले –एमाओवादीबीच राष्ट्रपति प्रचण्ड र प्रधानमन्त्री केपी ओली बन्ने र पछि दुवै पार्टी एकीकरण हुने भन्ने सहमति भयो भन्ने कुरा पनि सुनिन्छ नि ?
नेपालको राजनीतिमा बढी नै हल्ला हुन्छ । यो पुरानै रोग हो । काम भन्दा धेरै गुणा प्रचार हुन्छ । संविधानका विवादित विषयमा भन्दा अरु विषयमा एमाओवादीसँग सहमति भएको जस्तो मलाई लाग्दैन । हामीले राष्ट्रिय हितलाई ध्यानमा राखेर अडान राखेका छौँ । हामीलाई उहाँहरुको एजेण्डामा जाँदा बेठीक हुन्छ भन्ने लाग्छ । तर उहाँहरु अलिकति झर्ने, हामीले भनेको ठाउँमा नझर्ने । उहाँहरु एकदुई स्थानमा हामी माथि उक्लने, उहाँहरु एकदुई स्थान तल भर्ने हिसावको कम्परमाइज हो । पार्टी एकीकरणको कुरा, पदीय बार्गेनिङको कुरा भएको छैन ।

दुई पटक उपाध्यक्ष भइसक्नुभयो । सामान्यतया एउटै पदमा दुई पटक भन्दा बढी बस्ने चलन छैन । अब माथिल्लो तहमा उक्लने बेला भएन ?
यो पार्टीको आवश्यकताले निर्धारण गर्ने कुरा हो । पार्टी सिस्टममा बसेपछि व्यक्तिले मात्र यो गर्छु, त्यो गर्छु भनेर हुँदैन । आन्दोलनमा लागेपछि त्यसलाई अगाडि बढाउन कसको के भूमिका हुन्छ भन्ने कोणबाट हेर्नुपर्ने हुन्छ । जहाँसम्म समयसीमाको हिसावले भन्ने हो भने नवौँ महाधिवेशनपछि एउटा अभ्यास सुरू भएको छ । ७० वर्षपछि रिटायर्ड हुने भन्ने कुरा छ । यसैका आधारमा भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले कार्यकारी जिम्मेवारीबाट अवकास लिइसक्नु भएको छ । सायद अरू कतिपय नेताहरुको मनस्थिति पनि त्यस्तै ढंगले विकसित भएको हुनुपर्दछ । त्यस हिसावले भन्ने हो मेरो त अझै धेरै समय बाँकी छ । राजनीति भनेको निजामति कर्मचारी जस्तो पेन्सन पकाएर छोड्ने कुरा पनि होइन । मैले बुझेको राजनीतिक काम भनेको त कठिन समाजसेवा हो । यसले धेरै ठूलो त्याग, तपस्या र बलिदानको माग गर्दछ । एउटा मानिस ४०÷५० वर्षसम्म निरन्तर काम गरेर राज्य र पार्टीबाट कुनै पनि लाभ नलिई जीवनभर जनताको सेवा गरेर मृत्युवरण गरेका थुपै उदाहरण छन् । उसले पाउने भनेको सम्मान मात्र हो । सामान्य मानिस मर्दा भन्दा एउटा समाजसेवी राजनीतिककर्मी मर्दा धेरै मानिसहरु जम्मा हुन्छन । राजनीतिक काम गर्दै जाने क्रममा कतिपय नेताहरु गाविस अध्यक्ष, जिल्ला विकास समितिको अध्यक्ष, सांसद, मन्त्री,  प्रधानमन्त्री, राष्ट्रपति हुन्छन त्यो बेग्लै कुरा हो । लाखौँ कार्यकर्ता भएको ठाउँमा सवैले त्यो अवसर नपाउन पनि सक्छ । त्यसैले राजनीति भनेको मुलुकको आवश्यकता अनुसार काम गर्ने हो । सत्ताको निकट हुने भएकाले यसमा प्रतिष्पर्धा ज्यादा हुन्छ । हामी पार्टी निर्माण र आन्दोलनमा लागेको हुनाले सक्षम पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा एकदम रमाइलो हुन्छ । आफूले अभिभावकीय भूमिका निर्वाह गर्न पाउँदै सक्रिय राजनीतिक जीवनबाट अवकास लिन पाइयो भने राम्रो हुन्छ भन्ने लाग्छ ।

शक्तिकेन्द्र विस्तारै बालकोटबाट विद्या भण्डारीको निवासतर्फ सर्न थालेको हो?
मान्छेहरुले कसरी सोच्छन्, त्यो उनीहरुको कुरा हो । कामहरुलाई हेरेर भनेको पनि होला । वरियताको कुरा गर्नुहुन्छ भने यसमा मेरो अलि भिन्न राय छ । हाम्रो पार्टीमा अध्यक्षपछिको वरियतामा उपाध्यक्ष नै हो र हुनु पर्दछ । यस हिसावले हेर्दा हामी उपाध्यक्षहरू दोस्रो र्याङकका लिडर हौँ । अध्यक्ष पछि उपाध्यक्ष नै आउँछ । हाम्रो पार्टीमा उपाध्यक्षको संख्या धेरै भएकाले पहिलो उपाध्यक्ष पछिको दोस्रो उपाध्यक्ष मै हुँ । कार्यकारी हिसावले म तेस्रो वरियताको नेता हुँ । भोलि कुनै कारणले अध्यक्षले कार्यवाहक दिनुप¥यो भने पहिलो उपाध्यक्षलाई दिनु पर्दछ । पहिलो उपाध्यक्ष विदेश अथवा कतै गएको बेला प¥यो भने दोस्रो उपाध्यक्षलाई दिनुपर्ने हुन्छ । हाम्रो अहिलेसम्मको अभ्यास यही हैन र ? यस्तो अवस्थामा पदीय हिवासले हामी दोस्रो ¥याङकका नेता हौँ । वामदेव गौतमको कुरा गर्दा जो वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ ६७÷६८ वर्ष पुग्न लाग्नुभयो । उहाँले अब म रिटायर हुने हो भनेर कहिलेकाही फाट्टफुट्ट अभिव्यक्ति पनि दिने गर्नुहुन्छ । यस्तो स्थितिमा परिस्थितिले धकेलेर मलाई नै त्यो ठाउँमा पुर्याउन पनि सक्छ । केपी कमरेडले म दोहो¥याएर अध्यक्ष हुन्नँ भनिसक्नु भएको छ । वामदेव कमरेडले मेरो रिटायर हुने उमेर भइसक्यो भन्नु भएको छ । त्यसपछिको वरियतामा त म नै पर्छु । यस्तो वेलामा मैले आन्दोलनबाट प्युठ्यु फर्काएर भाग्न मिल्दैन । जहाँसम्म दुई वरिष्ठ नेताको कुरा छ, उहाँहरुले त पटक पटक पार्टीको नेतृत्व गरिसक्नुभएको छ । त्यसैले हामी क्रमशः नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको दिशामा अघि बढ्नु पर्दछ ।

अर्को कोणबाट भन्ने हो भने समकालिन विश्वमा कम्युनिष्ट पार्टीको नेतृत्व महिलाले गर्दा पनि त हुन्छ नि । लैंगिक समानताको दृष्टिकोणबाट पनि यो कुरा उठ्न सक्छ । हामीले सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि लैंगिक समानतालाई लागु गर्नुपर्छ ।

अन्त्यमा ?
देश गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको छ । सहि ढगले अगाडि बढ्न सकियो भने दुःख, पीडा, शोक, संकटलाई समृद्धिमा बदल्न सकिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved