Home » » धनीरामले थारुको अधिकारका लागि आन्दोलन गर्दा किन विरोध ?

धनीरामले थारुको अधिकारका लागि आन्दोलन गर्दा किन विरोध ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


संघीय राज्यको सिमाङ्कन र पहिचानको मुद्दालाई
लिएर थारु आन्दोलन चर्किएको छ । झण्डै तीन
सातादेखि थारुहरूले आन्दोलनलाई तराईमा
चर्कारहेका छन् । उनीहरूको प्रदर्शनको आलोचना पनि
भएको छ । विशेष गरेर कैलाली र बर्दियामा
सुरक्षाकर्मीको ज्यान जानेगरी भएका हिंसात्मक
घटनाको चौतर्फी विरोध भए । शान्तिप्रिय थारु
समुदायको आन्दोलन कसरी हिंसात्मक बन्यो त ?
आन्दोलन कसको नियन्त्रणमा छ ? थारुको माग के
हो ? आदि विषयलाई केन्द्रमा राखेर थारु
आन्दोलनका कमाण्डर थारु कल्याणकारिणी
सभाका अध्यक्ष धनीराम चौधरीसँग गरिएको
कुराकानी :
आन्दोलनले दिशा भुल्न थालेको हो ? थारु
आन्दोलनको उदेश्य के हो ?
थारु/थारुवान संयुक्त संघर्ष समितिले गरेको आन्दोलन
अहिंसात्मक हो । लोकतान्त्रिक वैधानिक र
पूर्णशान्ति आन्दोलन हो । हामी शान्तिपूर्ण
प्रदर्शनमा विश्वास गर्छौं । संसारमा राजनीतिक
परिवर्तनले शान्तिपूर्ण रुपमा ठूलाठूला परिवर्तन
भएका छन् । शान्तिपूर्ण आन्दोलनले नै अधिकार
सुनिश्चित भएको छ । हामी पनि शान्तिपूर्ण
आनदोलनबाट सदियौँदेखि कुण्ठित भएको थारु
समुदायको अधिकारका लागि आन्दोलनमा आएका
हौँ । थारुको आफ्नो पहिचा र अधिकारका लागि
गरिएको आन्दोलन हो । तराईको आदिवासी थारु नै
हो । थारुलाई पहिचान दिने विषय अहिले पनि
देखिएको छैन । अधिकार र पहिचान नहुँदासम्म तथा
सामाजिक न्याय नहुँदासम्म थारुहरू शान्त हुँदैनन् ।
आन्दोलनको मैदानमा रहन्छन् ।
थारु आन्दोलन कसको नियन्त्रणमा ?
थारु/थारुवान संयुक्त संघर्ष समिति कै नियन्त्रणमा छ
आन्दोलन । यसमा केही तत्वले घुसपैठ गराउने प्रयास
पनि गरेको छ । यसबाट हामी सचेत छौं ।
माग पूरा भएन भने अब के गर्ने ?
थारुको माग र मुद्दालाई समयमा पूरा गरियोस् भन्ने
हाम्रो माग र सुझाव छ । तर यसलाई वेवास्ता
गरियो भने थारुले आफ्नो आन्दोलनलाई रोक्ने कुरा
रहँदैन । प्रदेशको सिमाङ्कनको कुरा आयोगमार्फत
टुङ्गाउने भनिएको छ । यो मान्न सकिँदैन ।
संविधानसभाले टुङ्गाउन नसकेको विषय आयोगले
मिलाउन सक्छ भन्ने मलाई लाग्दैन ।
अहिले थारु आन्दोलन हाम्रो नियन्त्रणमा छ । यही
बेला थारुहरूले राखेका मागलाई सम्बोधन गरिनुपर्छ ।
थारुहरूलाई समयमा बुझ्न सकिएन भने त्यसले भविष्यमा
ठूलो दुर्घटना पनि निम्ताउन सक्छ । भोलि थारुलाई
नियन्त्रण गर्न सकिँदैन । गाह्रो हुनसक्छ ।
अहिलेको अवस्थामा वर्षौंदेखि उठाएको थारुको
मागलाई पूरा गर्नुपर्छ । समयमा सम्बोधन गरिएन भने
देशमा संकट आउनसक्छ । त्यो संकेत मैले देखेको छु । यो
हाम्रो आन्दोलन राष्ट्रियता र राष्ट्रिय
अखण्डतासँग जोडिएको छ । थारु कमजोर भयो भने
तराई कमजोर हुन्छ । तराई कमजोर भएपछि राष्ट्र
कमजोर हुन्छ । यो कुरा नेताहरूले समयमा बुझ्नुपर्छ ।
अहिले हाम्रो नियन्त्रणमा रहेकै समयमा थारुका
माग पूरा गरियोस् भन्नेमा जोड दिन चाहन्छौं ।
तपाईहरूको असन्तुष्टि केमा हो ?
हाम्रो असन्तुष्टि सिमाङ्कन र पहिचानको विषयमा
नै हो । सिमाङ्कनमा चित्त नबुझेर आन्दोलनमा
उत्रिएका हौँ । त्यही विषय सम्बोधन भएन भने कसरी
चित्त बुझाउने । यो विषयलाई अहिले नै
संविधानसभाले जतिसक्दो वार्ता र सम्वादमार्फत
टुङ्गाइनुपर्छ । नवलपरासीदेखि कञ्चनपुरको भू–भागमा
थारुहरूको दाबी छ ।
थारुहरूको मधेश केन्द्रित दलहरूसँगको सम्बन्ध के हो ?
हाम्रो संयुक्त आनदोलन होइन । हाम्रा माग अलग छन्
। मधेशीहरूसँग सहकार्य छैन । आन्दोलनका क्रममा
उहाँहरूको नैतिक समर्थन छ । अरुको पनि छ । समर्थन
लिनेदिने हुन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलनलाई
जसले पनि समर्थन र साथ दिनसक्छ । हाम्रो पनि
नैतिक समर्थन उहाँहरूलाई पनि छ ।
तपाई सरकारी कर्मचारी भएर आन्दोलन चर्काएको
आरोप छ नी ?
हो म सरकारी कर्मचारी हुँ । तर मेरा लागि देश र
थारु समुदाय ठूलो हो । देश बचाउन र राष्ट्रियताका
लागि मेरो सहयोग र समर्थन रहन्छ । मैले जे गरेको छु
समाज र देशको लाग ठीक गरेको छु । मेरो पेशाभन्दा
पनि राष्ट्र ठूलो हो । म सरकारी कर्मचारी वा
इञ्जिनियर भएकोले हिंसाका घटना गरएको होइन ।
म सरकारी कर्मचारी हुँदा वफादारीका साथ
जिम्मेवारी बहनु पनि गरेको छु ।
संविधानसभाबाट थारुले अधिकार खोजेका हुन् ।
त्यो अधिकारका लागि थारु कल्याणकारिणी
सभाको अध्यक्षको हैसियतले मैले थारु आन्दोलनको
नेतृत्व गरेको गरेको हुँ । हाम्रो संयुक्त संघर्ष समितिमा
सबैको प्रतिनिधित्व छ । यसमा सबै थरीका थारु
अधिकारवादी र नेताहरू हुनुहुन्छ । अधिकारका लागि
एउटा थारुले आन्दोलनको नेतृत्व गर्दा वा अधिकार
माग्दा किन सरकारी कर्मचारी हो भनेर विरोध
हुन्छ ? राजनीतिक दलका कर्मचारीका संगठनहरू पनि
छन् । उनीहरूले पनि त अधिकारका लागि आ–आफ्नो
तरिकाले आन्दोलन गरिरहेका छन् नी ।
नयाँ बन्न लागेको संविधानमा मेरो नेतृत्वमा थारुले
शान्तिपूर्ण र संवैधानिक रुपमा अधिकार माग गरेको
हो । थारुको आन्दोलनबाट त्रसिएकाहरूले मेराविरुद्ध
अनेकथरी प्रचार गरेका हुन् । म थारुको पहिचान र
अधिकारको लडाइँको आन्दोलनबाट बिचलित छैन ।
अझै दृढ भएर आन्दोलनको नेतृत्व गरेको छ । देश र
जनताका लागि आवश्यक परे मेरो ज्यानको प्रवाह
पनि छैन ।
म थारु समुदायको अधिकारका लागि प्राण रहेसम्म
आन्दोलनमा रहनेछु । म कसैको आरोप र आक्षेपबाट
विचलित छैन । सबैले बुझे हुन्छ । आन्दोलनका बेला
अनेकथरी आक्षेप र आक्रमण हुन्छ भन्ने बुझेरै म थारु
आन्दोलनको नेतृत्व गरेको हुँ । अधिकार र पहिचानको
थारु आन्दोलन कमजोर पार्ने खेल कसैबाट हुनु हुँदैन । म
एउटा धनीरामलाई आक्षेप लगाउँदैमा अरु थारुले
आन्दोलन छाड्ने पक्षमा छैनन् । सबैले बुझुन् । र मेरा
विरोधीले पनि बुझ्न जरुरी छ । धनीराम शान्तिपूर्ण
आन्दोलन र थारुको अधिकारको पक्षमा छ ।
तपाईहरूको आन्दोलन कसरी राष्ट्रियतासँग
जोडिएको छ ?
अघिल्लो पटक मधेश आन्दोलन चर्किएका बेला एक मधेश
प्रदेश भनेर माग उठेको थियो । थारुले नै हो एक मधेश
प्रदेशको मुद्दा तुहाइ दिएको । यो राष्ट्रलाई कसैले
बचाउन सक्छ भने त्यो थारु नै हो । यो कुरा कसैले भुल्नु
हुँदैन । थारु नै राष्ट्रभक्त शक्ति हो । हामी
राष्ट्रियताका पक्षमा ज्यान दिन तयार छौं ।
हाम्रो राष्ट्रियताको भावनासँग डराएका केही
शक्तिले थारु आन्दोलन कमजोर पार्न लागेका हुन् ।
हामीले त्यस्ता षड्यन्त्र बुझेका छौँ । विचलित छैनौँ
। थारुलाई कामजोर पार्ने षड्यन्त्रलाई हामीले चिर्ने
छौँ ।
थारु आन्दोलनमा विभाजन आएको हो ?
कसले भन्यो ? थारु आन्दोलनमा विभाजन आयो
भनेर ? थारु अहिलेसम्म विभाजित भएका छैनन् । बरु
हामी झन् अधिकार र पहिचानको आन्दोलनमा दृढ
भएर लागेका छौं । एक छौँ ।
थारु आन्दोलनले तीन हप्ता पूरा गर्दैछ अबस कसरी
टुङगोमा पुराउनु हुन्छ ?
सरकारमा रहेका दल र राज्यले वार्ताको वातारण
बनाएको छैन । हामीले वार्ताका लागि राखेको
न्यूनतम सर्त पनि पूरा गरिएको छैन । हामी तयार भएर
बसेका छौँ वार्ताका लागि । सरकारले थारुले अघि
सारेका माग पूरा गर्ने प्रतिवद्धता जनाए मात्रै पनि
हामी वार्ता बस्न तयार छौं । समस्याको समाधान
वार्ता र मेलमिलापबाटै हुन्छ ।
कैलाली र बर्दियाको घटनामा थारु आन्दोलनको
सहभागिता छ ?
बर्दिया र कैलालीमा भएको हिंसामा हाम्रो कुनै
संलग्नता छैन । सुरक्षाकर्मीको ज्यान जाने गरी
भएको हिंसाको स्वयं थारु संयुक्त संघर्ष समितिले
विरोध र भत्र्सना गरेको छ । घटनाको छानविन गरेर
दोषीलाई कारबाही गर्न हामीले पनि माग गरेका
छौं । राज्यले सत्यतथ्य पत्ता लगाएर दोषीलाई
कारबाही गरोस् । हाम्रो सहयोग रहन्छ ।
तर शान्ति सुरक्षा बनाउने जिम्मेवारी सरकारको
हो । फेरि शान्तिपूर्ण थारुको प्रदर्शनलाई उत्तेजित
बनाउने कार्य पनि सरकारले गर्नु हुँदैन । शान्तिपूर्ण
प्रदर्शनमा भएका दमनको हामी निन्दा गर्दछौं ।
आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहिद
घोषणा गर्नुपर्छ । घाइतेको उपचार गर्नुपर्छ । पक्राउ
परेकाहरू विनासर्त रिहा हुनुपर्छ । मृत्तकका आश्रित
परिवारलाई जीविकोपार्जनका लागि उचित
व्यवस्था गर्नुपछ । चाहे त्यो थारु आन्दोलनकारी
होस् वा सुरक्षाकर्मी ।
थारु आन्दोलनले साम्प्रदायिकतालाई पश्रय दिएको
हो ?
कदापि होइन । हामी साम्प्रदायिकता भड्काउने
समूहसँग सचेत छौं । सदियौँदेखि मिलेर बसेका थारु,
पहाडे र अन्य जातिवीचको सामाजिक सद्भाव
कायम रहनुपर्छ । यसमा म र सिङ्गो थारु आन्दोलन
सचेत छ । कसैले यस्तो कार्य गर्छ भने सबै मिलेर परास्त
गर्नुपर्छ । हिमालदेखि तराईसम्म बसोबास गर्ने सबै
नेपाली हुन् । उनीहरुबीचको सामाजिक सद्भाव
कायम गर्ने हामी सबैको दायित्व हो । कसैले त्यसलाई
बिथोल्ने प्रयास गर्छ भने खबरदारी गर्नुपर्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved