भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१ असोज, काठमाडौं । जनयुद्ध सुरु भएको पाँच वर्ष
पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय
गरेको थियो, ‘संविधानसभाबाट संविधान ।’
गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप
कार्यनीति थिए । तत्कालीन माओवादीले ०५७ मा
तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा
गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने
विषय संस्थागत हुँदै छ । तर, अहिले विभाजित बनेका
तीन माओवादीले संविधानसभाबाट संविधान
जारी गर्ने दिन तीन गतिविधि गर्दै छन् ।
०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट
संविधानसभाको कार्यनीति बनाएको तत्कालीन
माओवादी अहिले तीन पार्टीमा विभाजित छ ।
प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन
माओवादी पार्टी छन् । मातृका यादव र मणि
थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् ।
एकीकृत माओवादीले संविधान जारी भएको साँझ
देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य
नेतृत्वको नेकपा–माओवादीले भने ‘प्रतिगामी’ भन्दै
देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको
छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा
माओवादीले भने संविधानले संसद्वादी र
माओवादीको सहकार्य अन्त्य गरेको घोषणा गर्दै ३
असोजमा नेपाल बन्द आह्वान गरेको नयाँ पत्रिका मा
खबर छ ।
शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत
राखेर संविधान निर्माणमा अग्रसरता देखाएको
एमाओवादीले संविधान जारी भएको साँझ
दीपावली गर्ने निर्णय गरेको छ । ‘यो हाम्रो रगत र
पसिनाले लेखिएको संविधान हो । यो संविधान
जारी हुँदा हामी देशभर खुसियाली मनाउँछौँ,
दीपावली गर्छौँ,’ पार्टी प्रवक्ता दीनानाथ
शर्माले भने, ‘संविधानमा हाम्रो थुपै्र फरक मत छन्,
असहमतिका बाबजुद पनि यो जनयुद्ध र माओवादीको
उपलब्धि हो ।’ एमाओवादीले संविधान जारी गर्दा
खुसियाली मनाउने निर्णय गरे पनि ठोस कार्यक्रम
भने बनाएको छैन । प्रवक्ता शर्माले बिहीबार ठोस
कार्यक्रम बन्ने बताए । ‘अब मुलुक माओवादीको
एजेन्डामा अघि बढिसक्यो,’ उनले भने, ‘हामी
सोहीअनुसारको कार्यक्रम बनाएर खुसियाली
मनाउँछौँ ।’
वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ३ असोजमा
विरोध प्रदर्शनसहित संविधानलाई प्रतीकात्मक
रूपमा च्यात्ने र जलाउने निर्णय गरेको छ । उसले
संविधान प्रतिगामी भएको भन्दै संविधानको
औचित्य नरहेको जनाएको छ । सो पार्टीका
पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले संविधान
जनयुद्धको भावनाविपरीत र प्रतिगामी खालको
भएकाले विरोध गर्न लागिएको बताए । ‘हामी
संविधान जलाउँछौँ, च्यात्छौँ । देशैभर विरोध प्रदर्शन
गर्छौँ,’ उनले भने, ‘हामीले यो संविधान प्रतिगामी
बन्दै छ भन्दै आएका थियौँ, प्रतिगामी खालकै बन्यो
। बलपूर्वक संविधान घोषणा गरिँदै छ ।’ कँडेलले
संविधान दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले
हतार गर्न जरुरी नभएको बताए । ‘नेताहरू किन यसरी
बहकिए ? नेताहरू ठेकेदार बन्न खोजे । यसले देशको
राष्ट्रियतामा संकट ल्याउँदै छ,’ कँडेलले भने । उनले
संविधानविरुद्ध दीर्घकालीन कार्यक्रम तय गरेर जाने
पनि बताए ।वैद्य नेतृत्वको माओवादीले
अधिकारसम्पन्न राष्ट्रिय राजनीतिकसभा
आयोजना गरेर राजनीतिक समस्याको समाधान
गर्नुपर्ने बताउँदै आएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानले
शान्तिप्रक्रिया भंग गर्न लागेको बताउँदै ३
असोजमा नेपाल बन्द आह्वान गरेको छ । उसले २
असोजमा विरोध प्रदर्शनको कार्यक्रमसमेत
सार्वजनिक गरेको छ । नेकपा माओवादी
पोलिटब्युरो सदस्य सन्तोष बुढामगरले संविधानले
शान्तिसम्झौता, संसद्वादी र माओवादीबीचको
सहकार्यलाई निस्तेज पारेकाले विरोध गर्नुपरेको
बताए । ‘यो संविधानले बृहत् शान्तिसम्झौतालगायत
सबै सहमति एवं सम्झौता र ०६३ यता तय गरिएको
शान्तिप्रक्रिया, माओवादी एवं संसद्वादी
शक्तिबीचको सहकार्यलाई तोडेको छ,’ बुढामगरले भने,
‘यसविरुद्ध हामीले ३ गते नेपाल बन्द आह्वान गरेका
छौँ, २ असोजमा प्रदर्शन गर्छौँ ।’ बुढामगरले जनयुद्धको
उद्देश्यअनुसारको संविधान नआएको बताए । स्रोतका
अनुसार चन्द नेतृत्वको माओवादी संविधान जारी
भएपछि समानान्तर सरकारको घोषणाको तयारीमा
छ । उसले सोही दिनदेखि भूमिगत आन्दोलन थाल्ने
तयारीसमेत गरेको स्रोतको भनाइ छ ।
0 comments:
Post a Comment